यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज
समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।
फरक पहिचान तथा अल्पसङ्ख्यक समुदायका लागि समाज साँघुुरो बनेसँगै उनीहरूलाई इन्टरनेटको मञ्च विकल्प बनेको छ। सन् १९९९ तिर नेपालमा भर्खर इन्टरनेट आएको थियो, म आफ्नो समलैङ्गिक अनुभव सहित अनलाइन च्याटमा देश बाहिरका मानिससँग कुरा गर्न पाएर दङ्ग पर्थें।
समाजमा खुल्न नसकेको अवस्थामा प्रविधिको यो युगमा मानसिक र भावनात्मक भर खोज्दै डिजिटल माध्यममा पुग्नु स्वाभाविक हो। तर, इन्टरनेट र सामाजिक सञ्जालमा पनि एलजीबीटीआईक्यूले विभिन्न जटिलता भोग्न थालेकाले यसको प्रयोगमा सजग हुनुपर्ने देखिएको छ। हामीले अनलाइनमा आफ्नो पहिचान खोलिसकेपछि जे पनि हुन सक्छ।
पछिल्लो समय हाम्रो समुदाय ब्ल्याकमेल र हिंंसामा पर्ने जोखिम बढेको छ। त्यसैले अनलाइनमा कतिसम्म खुल्ने, कस्ता विषय राख्ने र आलोचनालाई कसरी लिने भनेर मानसिक रूपमा तयार हुनुपर्ने भएको छ।
कुनै पनि ठाउँमा हामीले आफ्नो यथार्थ पहिचान खुलाउन सक्नु नै राम्रो हुन्छ। तर, नेपालमा कुनै अनलाइन रुममा गयौं भने एलजीबीटीआईक्यू भन्ने थाहा पाएर फर्जी प्रोफाइलबाट तथानाम गाली गर्छन्। गालीगलौज र अपमानबाट बच्न हाम्रो समुदायका कति व्यक्तिले आफ्नो परिचय लुकाउँछन्। जसले झन् दबिएको महसूस हुन्छ।
सामाजिक सञ्जालमा यौनिकता खुलेपछि गरिएका नकारात्मक टिप्पणीकै कारण हाम्रा कति साथीहरू मानसिक पीडामा परेका छन्, यो असहिष्णुताका कारण कतिले आत्महत्यासम्म गरेका छन्।
अर्कातिर, यौनिक अल्पसङ्ख्यकहरू साइबर हिंसा वा दुर्व्यवहारमा परेको विषयलाई अन्य व्यक्ति परे जस्तो संवेदनशील रूपमा लिइँदैन। ‘यिनीहरू त पर्ने नै हिंसामा हो, यिनीहरूलाई यसो गरिनु सामान्य हो’ भनेर हेरिन्छ। नागरिक समाजले पनि यो विषय खासै उठाउँदैन। उठाए पनि ढिलो हुन्छ। जब कि, अन्य देशहरूमा कोही दुर्व्यवहारमा परेमा तत्कालै आवाज उठाइन्छ।
नेपाली समाजको बुझाइ पनि कम भएकाले हामी विरुद्ध अनलाइनमा भएका दुर्व्यवहार र गालीबेइज्जतीबारे रिपोर्ट गर्नुभन्दा हँसीमजाकको पात्र बनाइन्छ। जस्तै, केही समयअघि आफूलाई तेस्रो लिङ्गी भन्ने निकिशा श्रेष्ठमाथि सडकमा हिंडिरहेका वेला दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टीका-टिप्पणी ओइरिए। ती टिप्पणीमा निकिशामाथि गलत भयो भन्नुभन्दा तेस्रो लिङ्गीलाई जिस्क्याउनु सामान्य मान्नेको बाहुल्य थियो।
सामाजिक सञ्जालमा झाँगिएका विकृति, प्रयोगकर्ताको असंवेदनशीलता, असावधानी र अज्ञानता हेर्दा मिडिया साक्षरता बढाउन काम गर्नुपर्ने देखिन्छ। अनलाइनमा कसलाई कसरी व्यवहार गरे हिंसा हुन्छ, एलजीबीटीआईक्यू समुदाय भनेको को हो, उनीहरूलाई अनलाइनमा कसरी स्पेस दिने भन्ने कुरा विद्यालय तहमै पढाउने व्यवस्था गरिनुुपर्छ। सामाजिक सञ्जाल चलाउन समाजका विद्यमान मानसिकता बोकेका व्यक्तिहरू नै आउने भएकाले उनीहरूलाई हामीबारे सही ढङ्गले बुझाउन आवश्यक छ।
अर्को कुरा, हामी आज आफ्नो कुरा राख्न स्वतन्त्रता खोज्दै डिजिटल समाजमा पुगे पनि वास्तविकता त भौतिक संसार नै हो। त्यसैले लड्नुपर्ने पनि यही भौतिक दुनियाँमा नै हो। अमेरिकाबाट आएर नेपालमा बस्न थालेको मेरा लागि यहाँ ‘गे’ पार्टनरसँग खुला रूपमा बाँच्न पाउने समाज छैन।
यसो भन्दैमा मैले त्यो स्पेस इन्टरनेटमा मात्र खोज्ने हैन, बरु भौतिक जीवनमा सहज र सम्भव बनाउन लागिपर्ने हो। यहाँ हामीले ल्याउने परिवर्तनले डिजिटल समाजमा हामीमाथि गरिने व्यवहार पक्कै बदल्छ। सबै समुदायको अधिकार रक्षाबाटै समाज सभ्य र सबल हुने हो। यसैले हाम्रो समुदायका समस्या र सरोकार अरूहरूको पनि अजेन्डा बन्नुपर्छ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ता, विभिन्न समुदाय र विचारधाराका मानिस हुने भएकाले एलजीबीटीआईक्यूका विषय प्रस्तुत गर्दा वा यो समुदायका व्यक्ति बोल्दा विभिन्न अर्थ लगाइदिने जोखिम हुन्छ। त्यसैले कुन विषयमा कुरा राख्ने, कसरी राख्ने, निजी कुरा कति सार्वजनिक गर्ने भनेर ध्यान दिनुपर्छ। सामाजिक सञ्जालले गुनासो पोख्ने मञ्च दिने कुरा आफ्नो ठाउँमा छ, तर यहाँ आउने आलोचनाले आफूलाई कस्तो अवस्थासम्म फरक पार्दैन भन्ने पनि होश गर्नुपर्ने हुन्छ। यसको प्रयोगबाट आफू कमजोर हुँदै छु भन्ने महसूस भएमा थोरै अर्को तरीकाले प्रयोगकर्ता हुन सकिन्छ।
सामाजिक सञ्जालमा विविध पृष्ठभूमि र सोचाइका प्रयोगकर्ताका लागि हाम्रो समुदायका कुरा नयाँ भएका कारण पनि आलोचना हुने गरेका छन्। बुझाइ कम हुन सक्छ, तर हिंसाको छूट हुँदैन। आफू जस्तो भएन वा आफ्नो कुरा मिलेन भन्दैमा डिजिटल माध्यममा दुर्व्यवहार गर्नु अपराध हो। सबै मिलेर यस माध्यमलाई सुरक्षित पार्दै फरक मत, विविध पहिचान र अनुभव अटाउने वास्तविक सामाजिक सञ्जाल बनाऔं।
(समयौनिक पुरुषको संस्मरणात्मक पुस्तक विट्वीन क्वीन्स एन्ड द सिटिजका लेखक समेत रहेका कुँवर शैक्षिक अभियन्ता हुन्।)