प्रेमविवाहपछि घर लैजान अनुराेध गर्दा श्रीमान्ले लगाए करेन्ट‚ युवतीको अस्पतालमा बिचल्ली
आठ महीनाअघि प्रेमविवाह गरेकी युवतीले घर लैजान अनुराेध गर्दा उनका श्रीमान् करेन्ट लगाएर भागेका छन्। घाइते युवती धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छटपटाइरहेकी छन्।
श्रीमान्ले करेन्ट लगाएर घाइते भएकी २२ वर्षीया राधिका कार्की धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन्। करेन्ट लगाएर घाइते बनाएपछि उनका श्रीमान् अरुण साह भागेका छन्।
आफन्त नभएकाले उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले खाना तथा औषधि खुवाउँदै आएका छन्। उपचारमा संलग्न डा. आश्विनी यादवका अनुसार‚ राधिकाको दुवै हात, दुवै गोडा र पेटमा करेन्टले जलेको छ। शरीरका केही भाग पनि जलेका छन्।
गत जेठ १६ गते अरुणले आफूलाई करेन्ट लगाएर घाइते बनाएको राधिका बताउँछिन्। करेन्टबाट घाइते राधिकालाई देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए।
घटना भएको दिनदेखि नै अरुण फरार रहेकाले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउने प्रवक्ता क्षेत्रीको भनाइ छ। राधिका १६ दिनदेखि प्रादेशिक अस्पतालमा उपचाररत छिन्।
सिन्धुलीको गोलञ्जर गाउँपालिका-२ की राधिकाले करीब आठ महीनाअघि धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुणसँग प्रेमविवाह गरेकी थिइन्। उनीहरूको एक वर्षअघि चिनजान भएको थियो।
विवाहपछि उनीहरू थापाचोकमा बस्दै आएका थिए। श्रीमान्लाई आफ्नो घर लान अनुरोध गर्दा करेन्ट लगाएर यातना दिएको राधिकाको भनाइ छ।
“सामान्य विवाद भएको थियो। अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए। म बेहोस भएछु। त्यसपछि कहाँ के गरे थाहा भएन‚” उनले भनिन्‚ “कसरी हस्पिटल पुगें‚ त्यो पनि थाहा पाइनँ। होस आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्।”
राधिकाका अनुसार‚ विवाहको केही समयसम्म सम्बन्ध राम्रो थियो। अरुणले घर चलाउन खर्च दिंदै आएका थिए। राधिकालाई अरुणले नै जनकपुरको जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा काममा लगाइदिएका थिए।
राधिकाले भनिन्‚ “महीनाको १० हजार जति म पनि कमाउँथें। कोठा भाडा तीन हजार रुपैयाँ पनि मैले नै तिर्दै आएकी थिएँ।”
पछिल्लो समय अरुण दुई-तीन दिनसम्म पनि कोठा नआउने गरेपछि सोधखोज गर्दा यातना दिने गरेको राधिकाले बताइन्।