मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन सञ्चालन
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।
तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए। अहिले सञ्चालनमा रहेको मर्स्याङ्दी–स्युचाटार १३२ केभी सिङ्गल सर्किट लाइनबाट करीब १०० मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैनथ्यो। मर्स्याङ्दी–काठमाडौंलाई तत्कालका लागि १३२ केभीमा सञ्चालनमा ल्याइएसँगै अब थप करीब २०० मेगावाटसम्म विद्युत् काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ।
घिसिङले भरतपुर–हेटौंडा १३२ केभी सिङ्गल सर्किट मात्रै भएकाले त्यहाँ पनि विद्युत् प्रवाहका लागि समस्या रहेको तथा कुलेखानी नचलेको वेला मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन मार्फत विद्युत्लाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत् प्रवाह गराउन सकिने बताए। उनले भने‚ “काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि यो लाइफलाइन नै हो।”
मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग १६ असार २०७३ मा एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आयोजना निर्माण २०७३ भदौबाट भएको थियो। तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ वटा टावर छन्।
प्रसारण लाइनको रूटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी समय धादिङको सिद्धलेक गाउँपालिका–७ स्थिति पीपलटारमा स्थानीयको अवरोध हुँदा निर्माण प्रभावित भएको आयोजना प्रमुख लक्ष्मण फुँयालले बताए।
आयोजना अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेशनहरू निर्माणाधीन छन्। सबस्टेशनहरूको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइनेछ। नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एशियाली विकास ब्यांकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो।