सगरमाथाको काखमा मियाहारा सपना
नेपालका ७७ वटै जिल्ला घुमेका ताकासी मियाहाराको स्वप्न परियोजना हो, खुम्जुङको तीन हजार ८८० मिटरको उचाइमा अवस्थित होटल भ्यू एभरेस्ट।
किला, काँटादेखि ओड्ने ओछ्याउनेसम्म सारा सामग्री भरियालाई बोकाएर स्याङ्बोचेसम्म कसरी पुर्याइयो र होटल कसरी बन्यो भन्ने इतिवृत्त अहिले विस्मयकारी लाग्छ। मियाहाराको अनुभव पढ्नु साहसिक यात्रा विवरण पढ्नु जत्तिकै रोमाञ्चक छ। भाषाको सरलता पुस्तकको अर्को विषेशता हो।
काठमाडौंको सोल्टी होटलमा ‘क्यासिनो नेपाल’ चलाउने आरडी टटल सन् १९८० को दशकमा पर्यटन पत्रिका पनि प्रकाशन गर्थे। पखेटा हाल्दै गरेको नेपालको पर्यटन प्रवर्द्धनमा मासिक नेपाल ट्राभलर सशक्त र निर्विकल्प माध्यम मानिन्थ्यो। त्यो पत्रिकामा ‘बादलमाथिको होटल’ भन्ने भाकामा तीन हजार ८८० मिटरको स्याङ्बोचेमा रहेको ‘होटल एभरेस्ट’ को विज्ञापन छापिन्थ्यो।
हाल औसत नेपालीको आय पुगनपुग मासिक १४ हजार रहेको वेलामा त होटल, पर्यटन आम नेपालीको आवश्यकता सूचीमा पर्न सकेको छैन भने ४० वर्षअघिको अवस्था बेग्लै हुने नै भयो। त्यो विज्ञापनले धेरैलाई होटलबारे जानकारी दिए पनि संसारको अग्लो स्थानमा रहेको होटलमा कति नेपाली पुगे होलान्? कतिले होटलबारे थाहा पाए होलान्? त्यो होटल एक जापानीको स्वप्न परियोजना थियो।
पहिलो जापानी नागरिक इकाइ कावागुची आएको ६० वर्षपछि सन् १९६२ मा नेपाल आएका अर्का जापानी ताकासी मियाहारा मुकुट हिमाल आरोहणपछि जापान फर्किए। तर, चार वर्षपछि उनी लामो समय बस्ने गरी नेपाल आए।
यस पटक उनी विकास कार्यकर्ताका रूपमा घरेलु उद्योग प्रवर्द्धनका लागि नेपाल आएका थिए। उनको त्यो बसाइ ६० वर्ष अरू लम्बिन्छ र आफू नेपाली नागरिक नै हुन्छु भन्ने शायदै उनले सोचेका थिए। यस्तै नसोचेको एउटा काम मियाहाराले गरे- सर्वोच्च शिखर सगरमाथाको काख खुम्जुङको तीन हजार ८८० मिटरको उचाइमा होटल स्थापना।
होटल कसरी बन्यो भन्ने सारा वृत्तान्त ए रे अफ लाइट इन द हिमालयज् पुस्तकले बताउँछ। सन् १९८२ मा जापानी भाषामा प्रकाशित मियाहाराको होटल खोल्दाको कथाको अङ्ग्रेजी अनुवादलाई फाइनप्रिन्टले सार्वजनिक गरेको हो।
मियाहाराको अनुभव पढ्नु साहसिक यात्रा विवरण पढ्नु जत्तिकै रोमाञ्चक छ। छोटा छोटा पाठमा विभाजित पुस्तकमा धेरै महत्त्वपूर्ण प्रसङ्ग समेटिएका छन् भने भाषा सरर्र बग्ने खालको हुनु अर्को विशेषता हो।
असम्भव जस्तो लाग्ने परियोजनालाई मियाहाराको दृढताले कसरी सम्भव बनायो भन्ने इतिवृत्त पुस्तकमा छ। साथै, एक-एक सामग्री भरिया मार्फत कोदारी राजमार्गमा पर्ने लामोसाँघुबाट बोकाएर स्याङ्बोचेसम्म कसरी पुर्याइयो र होटल बन्न कसरी सम्भव भयो भन्ने इतिवृत्त अहिले पढ्दा विस्मयकारी लाग्छ।
नेपालमा प्रशासनिक संयन्त्रसँग काम गर्न कति गाह्रो छ भन्ने दृष्टान्तलाई मियाहाराले स्याङ्बोचे विमानस्थल बनाउँदा भोगेको प्रशासनिक झमेलाले स्पष्ट पार्छ। अझसम्म पनि नेपाली प्रशासनको उस्तै प्रवृत्ति कायम रहनु नेपालको विकासको बाधक हो।
किला, काँटादेखि ओड्ने ओछ्याउनेसम्मका सारा सामान बोकाएर स्याङ्बोचेमा होटल बनाउनु र जापानबाट समुद्री बाटो झिकाइएको डोजर बोकाएर स्याङ्बोचे एयरपोर्ट बनाएको कथा पढ्नु, आर्थिक-भौगोलिक विकासको आवश्यकता रहेको नेपालका लागि विकास परियोजनाको प्रयोगात्मक कार्य पढे सरह छ।
पुस्तकमा समावेश मियाहाराको ग्रीनल्यान्ड तथा अन्य आरोहण वृत्तान्तले पुस्तकलाई हिमाली पुस्तकको मिठास दिएको छ। त्यस्तै, होटल सञ्चालन गरेपछिका दिनमा आरोहीहरूलाई उद्धार गर्न जाँदाको प्रसङ्गले आरोहणको छायाँ झैं जोडिएको मृत्युत्रास रोमाञ्चक पारामा वर्णन गरिएको छ।
ट्रान्स हिमालय टूर्स संस्था स्थापना गरी वार्षिक एक हजार जापानी पर्यटकलाई सन् १९८० को दशकमा नेपाल भित्र्याउने मियाहाराको नेपाली पर्यटन प्रवर्द्धनमा ठूलो योगदान छ। नेतृत्व तहमा दूरदर्शिताको अभावले नेपाल पछि परेको निष्कर्ष मियाहाराको छ। न त वैदेशिक सहायताले नै नेपाल सुध्रने देख्छन् उनी।
पुस्तकले हिमाली जीवनको कठिनाइलाई सपाट ढङ्गमा प्रस्तुत गरेको छ। विकास परियोजनामा स्थानीयको सहकार्य र सहयोग कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने दृष्टान्तका लागि पनि पुस्तक उपयोगी छ। देश संघ, प्रदेश र स्थानीय तहमा बाँडिएको अवस्थामा काठमाडौं र मोफसलको सम्बन्धबारे पुस्तकले बुझाउँछ। मियाहाराको अनुभवले युवाशक्तिलाई उत्साह दिनेछ।
नेपालका ७७ वटै जिल्ला घुमेका मियाहारा काठमाडौंमा हिमालयन होटल, पोखराको साराङकोटमा होटल अन्नपूर्ण र अन्नपूर्ण केबलकारका पकिल्पनाकार हुन्। उनी नेपालको विकासका लागि धरातलीय यर्थाथमा आधारित भएर विकास आयोजना अघि बढाउनुपर्ने तर्क राख्थे। र, नेपालको पूर्व-पश्चिम तराई रेलको सम्भाव्यतामा निकै ऊर्जा खर्च गरेका थिए।
पछिल्लो समय ‘देश विकास पार्टी’ खोलेका मियाहारा ‘पर्यटन नै राष्ट्रिय आम्दानीको आधार हो, तर त्यसका लागि नेपाल परनिर्भर होइन आत्मनिर्भर हुनुपर्छ’ भन्ने मान्यता राख्थे। उनको पुस्तक नेपाली भाषामा आयो भने त्यसले पूर्वाधार र विकास संवादमा सकारात्मक योगदान दिनेछ।
२०१९ सालमा मुकुट हिमाल आरोहणका लागि नेपाल आएका मियाहाराले नेपालमा झण्डै ६ दशक बिताए। उनको देहावसान २०७६ मंसीर ८ मा भयो। आफ्नो अन्तिम संस्कार सगरमाथा आसपास क्षेत्रमा होस् भन्ने उनको इच्छा थियो।
त्यहि इच्छा अनुसार उनले बनाएको होटल नजिकैको स्याङ्बोचे क्षेत्रमा उनको अन्तिम संस्कार गरियो। उनको आत्मा त्यहीं वरिपरि घुमिरहेकै होला। यो पुस्तकसँगै उनको कीर्ति भने संसारभर फैलिनेछ।