एसपीपीमा नेपाल संलग्न छैन र हुँदैन: सरकार
अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नरहेको सरकारले जनाएको छ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट बिहीबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एसपीपीमा संलग्न नभएको बताएका छन्। “एसपीपीमा नेपाल संलग्न छैन र संलग्न हुने सोच छैन,” मन्त्री खाँणले भने।
उनले सरकारका तर्फबाट एसपीपीमा संलग्न नहुने प्रतिबद्धता जनाएका छन्। गृहमन्त्री खाँणले भने, “म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु, नेपालको (एसपीपीमा) कुनै संलग्नता रहनेछैन।”
नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिमा तलमाथि नहुने उनको भनाइ थियो। त्यसैले नेपाल सरकारका कुनै पनि सैन्य सम्झौतामा संलग्न नहुने उनले बताए।
यस विषयमा सांसदले राखेको जिज्ञासाका लागि धन्यवाद दिंदै उनले दोहोर्याएर भने, “एसपीपीमा नेपाल सहभागी भएको छैन, यसमा सहभागी हुँदै हुँदैन।”