एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ: दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जवाफ दिनुपर्ने माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपीका विषयमा फरक फरक धारणा आइरहेकाले यसबारे स्पष्ट पार्नुपर्ने बताइन्।
“अमेरिकी दूतावासले एसपीपी सम्झौता भइसकेको बताइरहेको छ। सरकारले होइन भनिरहेको छ,” पौडेलले भनिन्, “एसपीपीका विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ। यस विषयमा स्पष्ट पार्नुपर्छ।”
उनले एसपीपी सम्झौता अमेरिकी सेनाको इन्डो-प्यासिफिक रणनीतिको अङ्ग भएको पौडेलको दाबी थियो। त्यसैले यसमा सम्झौता गर्न नहुने उनले बताइन्।
सांसद पौडेलले यस विषयमा अमेरिकी राजदूतसँग पनि स्पष्टीकरण लिनुपर्ने बताइन्। “अमेरिकी दूतावासले एसपीपी सम्झौता भइसक्यो भनेको छ। यस विषयमा अमेरिकी राजदूतसँग स्पष्टीकरण लिनुपर्छ,” पौडेलले भनिन्।