एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको छ: सरकार
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा गइसकेको सरकारले जनाएको छ।
एमसीसी सम्झौता अन्तर्गत निर्माण हुने सबस्टेशनका लागि सरकारले जग्गा उपब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता कार्यान्वयनमा गइसकेको बताएका हुन्।
“एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको छ,” कार्कीले भने, “एमसीसी समयमै सम्पन्न गरेर नेपाललाई लाभान्वित गर्न सबैले साझा प्रयत्न गरौं।”
यसलाई कार्यान्वयनमा लगेसँगै रातमाटे सबस्टेशनका लागि सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको मन्त्री कार्कीले बताए।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने सरकारले निर्णय गरेको हो। त्यहाँ एमसीसी सम्झौता अन्तर्गत सबस्टेशन निर्माण हुनेछ।