सगरमाथा क्षेत्र कब्जा गर्दै छ हिमाली ब्वाँसो
केही वर्षयता घरपालुवा जनावरहरू मारिने क्रम बढेपछि पहिले शिकारीका रूपमा त्यति चर्चामा नरहेका हिमाली ब्वाँसो– मानव द्वन्द्व सगरमाथा क्षेत्रमा चुलिँदै गएकाे छ।
अप्रिल २०२२ को एक बिहान नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयबाट सगरमाथाको शिखर प्रष्ट देखिएको थियो। चुचुरोबाट हिउँ पग्लिएर उडेको बाफले बादलको एउटा पातलो पत्र बनाएको थियो। निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई भने त्यो सुन्दर दृश्य हेर्ने फुर्सद थिएन। उनी पार्कको पछिल्लो वार्षिक प्रतिवेदनका पाना पल्टाउँदै थिए।
एउटा अनुच्छेदमा उल्लिखित तथ्याङ्क औंल्याउँदै उनले भने, “सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा पार्क र मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट ३०० वटाभन्दा बढी घरपालुवा जनावर मारिए। त्यसका लागि हामीले समुदायलाई ९० लाख रूपैयाँभन्दा बढी क्षतिपूर्ति दियौं।”
नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको छ। उक्त वार्षिक प्रतिवेदनका अनुसार‚ मारिएका ३२३ घरपालुवा जनावरमध्ये २३४ (७० प्रतिशतभन्दा बढी) चाहिं ब्वाँसाले मारेको थियो। यसरी जनावर मारिने क्रम हरेक वर्ष बढिरहेको रोकायाले सुनाए।
उनले भने‚ “यसरी निरन्तर सङ्ख्या बढ्नुको ठ्याक्कै कारण के हो भन्ने त हामीलाई थाहा छैन, तर केही वर्षदेखि समुदाय र हाम्रा लागि यो एउटा निकै गम्भीर समस्याका रूपमा आइपरेको छ।”
हिमालयन वुल्फ अर्थात् टिबटन् वुल्फ पनि भनिने ब्वाँसो तिब्बतमा केही हजारको सङ्ख्यामा रहेको पाइन्छ। तर‚ नेपालमा भने यिनीहरूको सङ्ख्या कति छ भन्ने कुनै तथ्याङ्क छैन। “उच्च पहाडी क्षेत्रमा संरक्षण सम्बन्धी बढी प्राथमिकता हिमचितुवामा नै केन्द्रित छन्, त्यसैले गर्दा हिमाली ब्वाँसोतर्फ खासै ध्यान पुगेको छैन। तर‚ यस क्षेत्रका यी दुवै शिकारी जनावर हुन्,” हिमालयन वुल्भ्स प्रोजेक्टका राष्ट्रिय कार्यक्रम निर्देशक नरेश कुसीले बताए। उनले केही वर्षदेखि हिमाली ब्वाँसोमा अनुसन्धान गरिरहेका छन्।
याक पछ्याउँदै नेपाल आए होलान् त ब्वाँसो?
अहिले नेपालको हिमाली क्षेत्रमा हिमाली ब्वाँसोको उपस्थिति छ भन्नेमा त कुनै शङ्का छैन। तर‚ यहाँ स्थायी रूपमै कहिलेदेखि बस्न थाले भन्ने कुरा भन्नेमा भने विवाद छ।
“यहाँ हिमाली ब्वाँसो त युगौंदेखि नै थिए, तर नेपाली भूभागलाई आफ्नो स्थायी वासस्थान बनाएका भने थिएनन्, जब कि सीमापारि तिब्बततर्फ ठूलो सङ्ख्यामा भने ती स्थायी रूपमै बस्थे। नेपालको भिरालो उच्च हिमाली र हिमाली क्षेत्रमा भन्दा उताका समथर भूभागमा शिकारका प्रजातिहरू पनि धेरै उपलब्ध छन्,” कुसीले भने, “यसरी अस्थायी रूपमा आउने हिमाली ब्वाँसोलाई प्रायः गोठालाहरूले प्रतिकारका रूपमा मार्थे। जुन कुरा कतिपय समयमा निकुञ्जको जानकारीमा आउँदैनथ्यो, किनभने त्यस्तो सङ्ख्या सानो हुने गर्थ्यो।”
स्थानीयहरूका अनुसार‚ यस क्षेत्रमा लामो समयदेखि ब्वाँसो रहने गर्थे। तर‚ केही समय पहिलेसम्म गोठालाले प्रतिकारका क्रममा कहिलेकाहीं मारे पनि धेरै गम्भीर प्रकृतिको द्वन्द्व थिएन। “म सानो छँदा पनि सगरमाथा क्षेत्रमा ब्वाँसो हुन्थ्यो,” सन् १९८३ मा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत रहेका लाक्पा नोर्बु शेर्पा भन्छन्, “सन् १९७६ मा निकुञ्ज स्थापना हुनु अघिदेखि नै यहाँ ब्वाँसाहरू हुन्थे, तर ब्वाँसोले घरपालुवा जनावर धेरै मार्न थालेको गुनासो सन् २०१५ देखि ह्वात्तै बढ्यो।”
सन् २०१४ मा तिब्बतबाट याक आयात गरेको घटना र ब्वाँसोको सङ्ख्यामा ह्वात्तै बढोत्तरी हुनुमा सोझो सम्बन्ध छ भन्ने धेरै स्थानीयको विश्वास छ। त्यस वर्ष तिब्बतबाट सगरमाथाको उत्तरपश्चिममा पर्ने नाङपा ला पास हुँदै ३० वटा याक ल्याइएका थिए। स्याङबोचे याक प्रजनन केन्द्रमा क्रसब्रीड गराएर स्थानीय याकको वंशानुगत गुण सुधार गर्ने भनी तिब्बतबाट याक ल्याइएको हो।
चिनियाँ सरकारले याक उपलब्ध गराएको तिब्बतको सो ठाउँसम्म पुग्न २५ जनाको टोलीलाई १६ दिन लागेको थियो। बाक्लो हिउँ छिचोल्दै त्यहाँ पुगेका उनीहरूलाई याक लिएर फर्किन सात दिन लाग्यो। “त्यो यात्रामा हामी कसरी बाँच्यौं भन्ने लाग्छ। त्यो वेला निकै कठिन यात्रा गरेका थियौं हामीले,” स्याङबोचे याक प्रजनन केन्द्रका पशु प्राविधिक ललन यादवले बताए।
तिब्बती याक ल्याएको केही वर्षपछि नै स्थानीयले याक तथा अरू वस्तुभाउलाई हिमाली ब्वाँसोले आक्रमण गरेको भनी गुनासो गर्न थालेका हुन्। “तिब्बतबाट याक ल्याउँदा त्यसलाई पछ्याउँदै तिब्बती ब्वाँसाहरूको एक बथान पनि आएको र त्यसपछि स्थायी रूपमा यतै बस्न थालेको स्थानीयको भनाइ छ। मलाई पनि त्यो कुरामा सत्यता छ भन्ने लाग्छ,” यादवले भने।
स्याङबोचे प्रजनन केन्द्रदेखि अलिकति माथिको थुम्कोमा पर्ने खुम्जुङ गाउँका पेमा छिरिङ शेर्पा पनि त्यो क्षेत्रमा तिब्बती याकसँगै ब्वाँसाहरू आएका हुन् भन्ने विश्वास गर्छन्। “सन् २०१५ देखि वस्तुभाउ मारिने क्रम नाटकीय रूपमा बढेको छ। तिब्बतबाट याकको आयात र यी घटनाक्रमको संयोग ठ्याक्कै मिल्छ र कारण यही नै हुनुपर्छ,” शेर्पाले भने।
तिब्बतदेखि याकलाई पछ्याउँदै हिमाली ब्वाँसोको बथान आउन सक्ने सम्भावनालाई अनुसन्धाताहरू पनि अस्वीकार त गर्दैनन्, तर कुसी भन्छन्, “यो कुरालाई वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्नुपर्छ जुन कुरा कम्तीमा अहिले हामीसँग छैन।”
मानव–हिमाली ब्वाँसो द्वन्द्व बढ्दै छ, तर जानकारी फाट्टफुट्ट मात्र
सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तुका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गर्यो। त्यसमा हात्ती, गैंडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र जङ्गली भैंसी (अर्ना) पर्छन्।
सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर (ढोले) पनि थप्यो। “ब्वाँसोले याक र घोडाहरू मारिरहेको छ भनी स्थानीयले हामीसँग गुनासो गरिरहेका थिए, तर उनीहरूलाई क्षतिपूर्ति दिने कुनै उपाय थिएन,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट गणेश पन्तले बताए। पन्त सन् २०१५ मा सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत थिए। “त्यसैले गर्दा हामीले हिमाली ब्वाँसोलाई पनि सो सूचीमा थप गर्न सिफारिश गर्यौं। त्यसपछि हामीले ब्वाँसोका कारण वस्तुभाउ गुमाउने स्थानीयलाई ३० हजार रूपैयाँ क्षतिपूर्ति दिने बाटो खुल्यो,” उनले भने।
समस्या झन् बढ्दै गयो। तर, मारिएका वस्तुभाउको सङ्ख्या सम्बन्धी आधिकारिक रूपमा दस्तावेजीकरण नभएको हुँदा सन् २०१८ को मध्यभन्दा पहिले ब्वाँसोका कारण वस्तुभाउ मारिंदा दिएको क्षतिपूर्ति सम्बन्धी सगरमाथा राष्ट्रिय निकुजका रिपोर्टहरूमा समेटिएको भेटिएन। तर‚ वस्तुभाउमाथि आक्रमण हुँदा क्षतिपूर्ति दिने नीति लागू भएसँगै निकुञ्जले यो समस्यालाई अध्ययन गर्न अझ बढी सक्रियताका साथ काम गर्न थालेको अधिकारीहरूले बताए।
सन् २०१७ मा निकुञ्जका अधिकारीहरू र सगरमाथादेखि पश्चिमतर्फको नाङपा उपत्यकाका स्थानीय गोठालाहरूबीच नाम्चेस्थित निकुञ्जकै कार्यालयमा एउटा बैठक गरिएको थियो। सो बैठकका सहभागी पूर्व प्रमुख संरक्षण अधिकृत लाक्पा नोर्बु शेर्पाले त्यति वेला एक जना स्थानीय गोठालाले कसरी आफ्नो निराशा व्यक्त गरेका थिए भनी थर्ड पोलसँग बताए। “यदि तपाईंहरू ब्वाँसो मार्न चाहनुहुन्न भने हामीलाई चाहिं मार्न सक्नुहुन्छ,” शेर्पाले उनको भनाइ स्मरण गरे।
“निकुञ्जको एक पूर्व वार्डेनका रूपमा र अहिले नाङपा उपत्यकाको एक ज्येष्ठ नागरिकका रूपमा हेर्दा मलाई त एउटा ठूलो चट्टान र कडा भित्ताको बीचमा च्यापिए जस्तो अनुभूति भयो,” शेर्पाले आफ्नो अनुभूति सुनाए। त्यस क्षेत्रमा मानिस र वन्यजन्तुबीच द्वन्द्व झन् झन् बढ्दै गएपछि लाक्पा शेर्पा र उनको टोलीले नाङपा उपत्यकामा सन् २०१९ मा चार महीनाभन्दा बढी समय लगाएर मांसाहारी वन्यजन्तुबारे एउटा सर्वेक्षण गरे। त्यति वेला उनी जङ्गलमा हिमाली ब्वाँसोको तस्वीर लिन सफल भए। त्यो एउटा महत्त्वपूर्ण उपलब्धि थियो। त्यससँगै एउटा चितुवा, एउटा हिमचितुवा, रातो फ्याउरा तथा खैरो भालुका पञ्जाका छापहरूका स्पष्ट तस्वीरहरू समेत प्राप्त भएको थियो।
अनुसन्धान विना द्वन्द्वको समाधान भेटिंदैन
सन् २०१९ मा मध्य नेपालमा गरिएको एक अध्ययनले बर्खामा याक र बाख्राहरू प्रशस्त मात्रामा पाइए पनि हिमाली ब्वाँसोले घरपालुवा जनावरभन्दा वन्य शिकार रोज्ने गरेको देखाएको थियो। तर‚ पूर्वी नेपालको सगरमाथा क्षेत्र वरपर भने स्थिति त्योभन्दा फरक भएको हुन सक्ने कुसीको भनाइ छ।
“ती ब्वाँसाहरू अहिले सगरमाथा क्षेत्रको स्थानीय परिस्थितिमा अनुकूलन हुँदै गएको र तिनीहरूको सङ्ख्या पनि वृद्धि भइरहेको देखिन्छ‚” उनले भने‚ “सम्भवतः त्यस क्षेत्रमा वन्य शिकार अपर्याप्त भएका कारण तिनीहरूले घरपालुवा जनावरलाई बढी आक्रमण गरेको हुन सक्छ।”
ब्वाँसाहरूले आफूलाई चाहिनेभन्दा बढी घरपालुवा जनावरलाई आक्रमण गर्नु पनि सगरमाथा क्षेत्रमा मारिने वस्तुभाउको सङ्ख्या बढ्नुको एउटा कारण हुन सक्छ। जस्तै– ब्वाँसाहरूले आक्रमण गर्दा गोठमा वा समूहमा रहेका सबैलाई मार्ने गरेको पाइन्छ, जुन उनीहरूले खान सक्ने मात्राभन्दा धेरै हुन्छ।
“उनीहरूले किन त्यसो गर्छन् भन्ने कारण हामीलाई ठ्याक्कै थाहा त छैन, तर हामीले अलि बढी अनुसन्धान गरेर उनीहरूको बानीव्यहोराबारे बुझ्यौं भने हामी उनीहरूबाट टाढै रहन सक्छौं‚” कुसीले अर्थ्याए‚ “त्यसै गरी हिमाली ब्वाँसाका बारेमा भरपर्दो जानकारीका आधारमा गोठालाहरूलाई पनि राम्रोसँग सूचित गर्न सकियो भने ती वन्यजन्तुसँग द्वन्द्व कम गर्न सकिन्छ।”
तर‚ निकुञ्जमा कार्यरत अधिकारीहरू त्यस्ता अध्ययन अनुसन्धान गर्न उनीहरूसँग स्रोतसाधन नै नभएको बताउँछन्। “हाम्रो आफ्नै बजेट निकै सीमित छ, त्यसैले हामीले कुनै दाता वा अनुसन्धान संस्थासँग सहयोग माग्ने योजना बनाएका छौं, ताकि त्यस्तो अध्ययनबाट हामी आफैंले हिमाली ब्वाँसोबारे राम्रोसँग बुझ्न सकौं र ती वन्यजन्तुसँगको द्वन्द्वको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे राम्रो योजना तय गर्न सकियोस्,” निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।
(भुसाल द थर्ड पोलका नेपाल सम्पादक हुन्। द थर्ड पोलबाट साभार)