गण्डकी सरकारले ल्यायो ३५ अर्बको बजेट (पूर्ण पाठ)
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। यो चालू आर्थिक वर्षको भन्दा पाँच अर्ब बढी हो। चालू आर्थिक वर्षमा ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो।
चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पूँजीगततर्फ २२ अर्ब १४ करोड एक लाख विनियोजन गरिएको छ। बरालले चालू आर्थिक वर्षमा वैशाख मसान्तसम्म खर्च स्थिति हेर्दा आर्थिक वर्षको अन्त्यसम्म विनियोजनको ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेका छन्।
उनले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेका छन्। यसमा स्थानीय सरकारलाई दुई अर्ब ११ करोड १० लाख छुट्याइएको छ।
सरकारले आन्तरिक राजस्वबाट पाँच अर्ब नौ करोड उठाउने लक्ष्य लिएको छ। संघीय सरकारले वित्तीय समानीकरणबाट सात अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँडबाट नौ अर्ब २३ करोड, सशर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरेको अर्थमन्त्री बरालले जानकारी दिए। रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।
आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब आन्तरिक ऋण र एक अर्ब केन्द्र सरकारबाट ऋण लिने भएको छ। चालू आर्थिक वर्षमा दुई अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र नपुग दुई अर्ब ऋण लिइने भएको छ।
सरकारले सवारी साधन कर मार्फत आउने ७२ करोड प्रदेशका स्थानीय तहका लागि विनियोजन गरेको छ। सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिएको छ। मकैको बीउ उत्पादनका लागि पाँच करोड विनियोजन गरिएको छ।