मोटरसाइकल, स्कूटरको कर नतिरेकालाई बागमतीमा जरिवाना छूट
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु.७० अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको छ।
यो चालू आर्थिक वर्षका तुलनामा करीब २३ प्रतिशत ठूलो हो। बागमती सरकारले चालू आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक गरेको थियो।
बजेटले विगतमा सवारी साधनका धनीले समयमा दाखिला गर्न नसकेको दुईपाङ्ग्रे सवारी साधनको कर आगामी फागुन मसान्तभित्र दाखिला गरेमा जरिवाना छूट दिने घोषणा गरेको छ। मोटरसाइकल, स्कूटर र अन्य दुईपाङ्ग्रे सवारी साधनका हकमा यो व्यवस्था लागू हुनेछ।
समयमा नै सवारी साधनको कर नबुझाउनेले जरिवाना तिर्नुपर्थ्यो। बजेटले जरिवानालाई खारेज गरेर सहुलियत दिएको हो।
बजेटले काठमाडौंभित्र सञ्चालित उद्योग उपत्यकाबाहिर स्थानान्तरण हुन खोजेमा घरजग्गा रजिस्ट्रेशन शुल्कमा ५० प्रतिशत छूट दिने घोषणा पनि गरेको छ।