प्रदेश १ को बजेट ३९ अर्ब, दूधमा अनुदानदेखि करमा छूट (पूर्ण पाठ)
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
यो चालू आर्थिक वर्षको तुलनामा सात अर्ब २७ करोड बढी हो। चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आन्तरिक राजस्वबाट चार अर्ब ९८ करोड ४५ लाख र राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुने बताए।
संघबाट प्राप्त हुने समपूरक अनुदान ९२ करोड, वित्तीय समानीकरण अनुदान नौ अर्ब ८२ लाख, सशर्त अनुदानबाट आठ अर्ब ६९ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। बाँकी रकम वैदेशिक अनुदान र मौज्दातबाट प्राप्त हुने जनाइएको छ।
प्रदेश सरकारले ६६ वटा प्रादेशिक र रणनीतिक सडक निर्माण गर्न पाँच अर्ब बजेट विनियोजन गरेको छ। प्रदेशका १४ वटै जिल्लामा एक सय वटा झोलुङ्गे पुल निर्माण गर्न आगामी वर्षका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ।
पहाडी र दुर्गम क्षेत्रमा बाह्रैै महीना यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज निर्माण गरिने भएको छ। जसका लागि आठ करोड विनियोजन गरिएको छ।
प्रदेश निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपैयाँ छुट्याइएको छ। हाल प्रदेश सभामा ९३ मध्ये हाल ९० सदस्य छन्।
कृषिमा दुई अर्ब ५९ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ। उत्पादनमा आधारित प्रोत्साहनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। साना किसानलाई ऋण सहुलियतका लागि नौ करोड रुपैयाँ छुट्याइएको छ।
किसानलाई दूधमा प्रति लिटर दुई रुपैयाँ अनुदान दिने बजेटले घोषणा गरेको छ। त्यस्तै, घरेलु मदिरा ब्रान्डिङका लागि पनि बजेट छुट्याइएको छ।
एक पालिका एक उत्पादनका लागि १३ करोड रुपैयाँ विनियोजन गरिएको छ। समयमै मनोरञ्जन कर बुझाउनेलाई छूट दिइने भएको छ। सवारी साधनमा लाग्ने कर एकै पटक पाँच वर्षका लागि बुझाएमा १० प्रतिशत छूट दिइने भएको छ।