आफूले पढ्न नपाएपछि अरू दृष्टिविहीनका लागि बनाइन् ‘अडियो बूक’
ब्रेल लिपिमा नलेखिएकैले अतिरिक्त किताब पढ्न नपाएकी सरिता अर्यालले दृष्टिविहीन बालबालिकालाई १२५ वटाभन्दा बढी ‘अडियो बूक’ तयार पारिसकिन्।
केही समययता सरिता अर्यालको दैनिकी लगभग उस्तै छ। कलेज छुट्नासाथ कीर्तिपुरस्थित डेरा फर्कनु अनि खाना खाएपछि सियो जस्तो ‘स्टाइलस’ ले स्लेटबोर्डमा बिछ्याइएको ‘चार्टपेपर’ खोपिरहनु। नबुझ्ने धेरैलाई यो काम बेकारको लाग्ला। तर, आमा देवीकुमारीलाई गर्व छ। २६ वर्षीया छोरीलाई बाधा नपरोस् भनेर जे-जे चाहिन्छ आफैं किनेर ल्याइदिन्छिन्।
सरिता खासमा दृष्टिविहीन बालबालिकाका लागि कथा लेखिरहेकी हुन्छिन्। उनी आफैं पनि आँखा देख्दिनन्, त्यसैले ब्रेल लिपिमा लेख्छिन्। घरी ल्यापटप खोल्छिन् त घरी ‘इयरफोन’बाट सुनेर कागजमा उतार्छिन्। कथा तयार भएपछि त्यसलाई मिजासिलो शैलीमा वाचन गरेर ‘अडियो बूक’ मा ढाल्छिन्। उनकी पहिलो श्रोता आमा नै हुन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७, इत्राममा २०५३ असार २० गते जन्मेकी हुन्, सरिता। जन्मिँदै दृष्टिविहीन उनलाई अन्य व्यक्तिभन्दा कमजोर वा फरक भएको अनुभूति घरपरिवार, साथीभाइले कहिल्यै हुन दिएनन्। साथीहरूसँगै खोलामा डुबुल्की मार्न जान्थिन्, गाउँ डुल्थिन्।
दिदी पनि जन्मँदै दृष्टिविहीन थिइन्। घर नजिकै दृष्टिविहीनलाई पढाउने व्यवस्था नभएकाले उनलाई टाढाको विद्यालयमा भर्ना गरियो, त्यहीं बस्ने गरी। तर, एक दिन छुट्टीमा दिदीलाई लिन गएका बुबा रित्तै हात फर्किए।
दिदीको आउँदाआउँदै बाटैमा मृत्यु भएछ। यो घटनाले परिवारलाई ठूलै चोट पुर्यायो। आमा देवीकुमारीले अब सरितालाई विद्यालय नपठाउने निर्णय गरिन्।
“एउटी छोरी गुमाइसकेपछि अर्कीलाई पनि त्यही बाटो पठाउन मन लागेन। बरु जति समय बाँच्छिन्, आफैंसँग राख्छु भनेर विद्यालय पठाइनँ,” उनी भन्छिन्। तर, आफूभन्दा साना भाइबहिनी विद्यालय जान थालेपछि सरितालाई छटपटी भयो।
आफूले पनि पढ्न पाउनुपर्ने अडान राखिन्। छोरीले जिद्दी नछाडेपछि आमाले उनलाई गाउँकै विद्यालयमा भर्ना गरिदिइन्। तब शिक्षकहरूलाई आफ्नी छोरीको समस्या सुनाउँदै उनलाई तनाव नदिन आग्रह पनि गरिन्।
एक दिनको कुरा, सबै विद्यार्थी कक्षाकार्य पूरा गरेर शिक्षकलाई बुझाउन गए। सरिताले जसै कापी अघि सारिन्, शिक्षकले चित्त बुझाएनन्। उनले लेखिएका सबै प्रश्नको जवाफ मौखिक रूपमै मागे। सरिताले खुरुखुरु भनिदिइन्।
शिक्षकले ‘भन्न सबै आउने, लेख्न चाहिं नमान्ने’ भन्दै लट्ठीले टाउकोमा हाने। यही घटनाका कारण उनी विद्यालय जान छाडिन्। उनलाई आफू लेख्न नजान्ने रहिछु भन्ने महसूस भयो।
अब सरिता घरै बस्न थालिन्। रेडियो कार्यक्रम सुन्थिन्। कार्यक्रमहरूमा फोन गरेर कविता र अन्य रचनाहरू सुनाउँथिन्। एक दिन मामाघर जाँदा भेटिएका विदेशी नागरिकले जीवनमा नयाँ मोड ल्याइदिए। उनले काठमाडौंमा दृष्टिविहीनका लागि विद्यालय रहेको भन्दै सरितालाई त्यहीं पठाउन सुझाव दिए। त्यसो गर्दा छोरीको भविष्य राम्रो हुनेमा आमालाई आश्वस्त बनाइदिए।
सरिताले कीर्तिपुरस्थित ‘अन्धा अपाङ्ग प्राविधिक तथा सीप विकास केन्द्र’ मा कक्षा-३ सम्म अध्ययन गरिन्। परिवारबाट कहिल्यै नटाढिएकी उनलाई शुरूमा निकै गाह्रो भयो, त्यहाँ बस्न मनै लागेन। तर, आफू जस्तै धेरै साथी भेटेपछि बिस्तारै घुलमिल भइन्। “बानी पर्दै गएपछि घरभन्दा यहीं रमाइलो भयो। सबैभन्दा बढी खुशी दृष्टिविहीन आफू मात्र एक्लो रहेनछु भन्ने थाहा पाउँदा लाग्यो,” सरिता भन्छिन्।
पढाइ अघि बढ्दै गयो। मौखिक रूपमा कखरा सिकेकी सरितालाई ब्रेलको साङ्केतिक अक्षर सिक्न निकै चुनौती थियो। “तर काठमाडौं आएकै यसैका लागि भएकाले ध्यान दिएर पढ्न थालें, एक वर्षमै ब्रेल सिकें,” उनी सम्झन्छिन्। त्यसपछि केन्द्रका शिक्षकहरूले उनलाई ल्याब्रोटरी माविमा कक्षा ३ मा भर्ना गरिदिए।
यसै गरी कक्षा १० पूरा गरिन्। साथमा हिंड्नेहरू सधैं हुँदैनथे। त्यसैले सेतो छडीको सहारामा हिंडडुल गर्थिन्। तर, सडकको बनावट अपाङ्गता भएकालाई अनुकूल नहुँदा निकै दुःख झेल्नुपर्थ्यो। “ह्वाइटकेन टेकेर हिंडेको देखेपछि अन्य मानिसले मेरो अवस्था बुझ्छन् र सहयोग गर्न आउँछन्,” उनी भन्छिन्, “तर सडक र फूटपाथ हाम्रा लागि कहिल्यै सहज भएनन्।”
सडकपेटीमा पसल चलाउने, बालुवागिटी राख्ने, फोहोर फ्याँक्ने जस्ता प्रवृत्तिले दृष्टिविहीनलाई निकै सताएको सरिताको अनुभव छ। उनी भन्छिन्, “आजको राम्रो सडक भोलिपल्टै बिग्रिसकेको हुन्छ। यसले गर्दा कहिले के हुन्छ, थाहै हुन्न।”
एक पटक उनी कलेज जाँदै गर्दा फोहोरको थुप्रोमा लडिन्। पोशाक दुर्गन्धित भएपछि घर फर्कन बाध्य भइन्। यस्ता अवरोध शिक्षा प्राप्तिमा पनि खेप्नुपर्यो। अपाङ्गता भएकालाई उच्च शिक्षा दिने छुट्टै कलेज नभएकाले सामान्य कलेजमै भर्ना भइन्। ६ जना दृष्टिविहीन साथीसँग एउटै ‘ब्रेलबूक’ साटासाट गरेर पढिन्।
“कक्षामा हामी दृष्टिविहीनका लागि एउटा मात्र ब्रेल किताब सेट हुन्थ्यो। त्यो आफ्नो हातमा पर्न निकै कुुर्नुपर्थ्यो। त्यसमाथि पाठ्यक्रम फेरिंदा त्यो किताबले काम दिंदैनथ्यो,” उनी भन्छिन्। उच्च शिक्षामा त ब्रेलका किताब पाउन झनै मुश्किल छ। सरकारले अपाङ्गता भएका विद्यार्थीलाई कक्षा ११-१२, स्नातक तथा स्नातकोत्तर तहमा कुनै पाठ्यपुस्तक व्यवस्था गरिदिएको छैन। “हाम्रा लागि पनि पुस्तक आइदिए उच्च शिक्षा हासिल गर्न सहज हुन्थ्यो,” सरिता भन्छिन्।
कलेजमा उनी सुनेकै भरमा कापीमा टिप्छिन्। टिपोट गर्न साथी र शिक्षकहरूले पनि सघाउँछन्। यसै गरी पढाइ अघि बढाइरहेकी छिन्। शिक्षकले पढाएको कुरा नछुटोस् भनेर सकेसम्म कक्षामा हाजिर हुन्छिन्। उपस्थित हुन नसक्दा साथीलाई ‘रेकर्ड’ गरिदिन आग्रह गर्छिन्। पढ्नुपर्ने कुरा इन्टरनेटमा पनि खोजिरहेकी हुन्छिन्।
सरिता आफूलाई अन्य व्यक्तिभन्दा कम सोच्दिनन्। तर, उनलाई त्यति वेला असहज महसूस हुन्छ, जब हातमा आवश्यक किताब हुँदैन अनि परीक्षा दिने वेला लेखन सहयोगी पाइँदैन।
असहजताकै बीच सरिताले स्नातक तह पूरा गरिसकिन्। त्यसपछिको समय दृष्टिविहीन बालबालिकाका लागि ‘अडियो बूक’ बनाउन खर्चिंदै छिन्। आफूले अतिरिक्त किताब पढ्न नपाएकाले कम्तीमा अरूले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उनको चाहना छ। यो काममा उनलाई बाल साहित्य प्रतिष्ठान नेपालले सघाइरहेको छ। प्रतिष्ठानले विभिन्न बाल उपयोगी पाठ्य सामग्री दिन्छ। सरिता त्यसलाई आफूले बुझ्ने हिसाबले ब्रेलमा उतार्छिन्।
“शुरूमा विश्वप्रसिद्ध व्यक्तिहरूको जीवनीबाट शुरू गरें। इन्टरनेटमा प्रेरणादायी व्यक्तिहरू खोज्छु, हिन्दी-अङ्ग्रेजीमा लेखिएका जीवनी नेपालीमा अनुवाद गरी ब्रेल लिपिमा उतार्छु, अनि अडियो बनाएर प्रतिष्ठानलाई पठाउँछुु,” उनी भन्छिन्।
सरिताले यूट्युबमा ‘केटाकेटी अनलाइन’ मार्फत आफ्नो ‘अडियो बूक’ सार्वजनिक गर्दै आएकी छिन्। उनले यस्ता १२५ वटा पुस्तक बनाइसकिन्। यस बापत प्रतिष्ठानले सम्मान पनि गरिसक्यो।
“मैले कुनै अतिरिक्त किताब पढ्न पाइनँ। रेडियोमा आएका कार्यक्रम सुनेर हुर्कें। यो बाध्यता अन्य बालबालिकालाई नहोस् भनेर यो काममा लागेकी हुँ,” उनी भन्छिन्। ‘अडियो बूक’ बनाउन सजिलो छैन। रेकर्ड गर्ने क्रममा शुरूमा १७/१८ पेजको सामग्री पढ्दै जाँदा बिग्रन्थ्यो। त्यसपछि फेरि शुरूदेखि पढ्नुपर्थ्यो। “पछि यूट्युबमा दृष्टिविहीनहरूले अडियो काट्ने र त्यसलाई टुक्य्राएर जोड्ने तरीकाहरू खोजें। केही एप भेटिए, तिनले अहिले निकै सजिलो बनाइदिएका छन्,” उनी भन्छिन्।