मधेश सरकारले ल्यायो ४६ अर्बको बजेट, साइकलदेखि ल्यापटप वितरण योजना
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ रुपैयाँको बजेट ल्याएको छ।
मधेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई मुख्य आधार बनाएर बजेट प्रस्तुत गरेका छन्। प्रस्तुत गरिएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ।
प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिएको छ। अभियान अन्तर्गत साइकल वितरणलाई निरन्तरता दिएको छ। यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ। यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो। साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ।
कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्री साहले बजेटको स्रोतमा वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख दुई हजार र आन्तरिक स्रोततर्फ चार अर्ब १८ करोड ९३ लाख बजेटको आधार प्रस्तुत गरेका छन्।
बजेटमा जनकपुरधाम र वीरगञ्जको विकासका लागि छुट्टै जनकपुरधाम र वीरगञ्ज विकास प्राधिकरण बनाइने भएका छन्। यसका लागि ३० करोड विनियोजन गरिएको छ।
विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहनका लागि अलगै करको दररेटको व्यवस्था गरिने भएको छ। एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि एक अर्ब २६ करोड विनियोजन गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि दुई अर्ब छुट्याइएको छ। त्यस्तै, जनता आवास कार्यक्रमलाई निरन्तरता दिन २८ करोड विनियोजन गरिएको छ। नदीजन्य प्रकोप रोकथाम कार्यक्रमलाई निरन्तरता दिइएको छ भने विपद् जोखिम न्यूनीकरणका लागि सात करोड बजेट विनियोजन गरिएको छ।
बजेटमा पर्सादेखि सप्तरीसम्म मधेश राजमार्गको सम्भाव्यता, सवारी साधन चालक अनुमतिपत्र मधेशमै छपाउनेदेखि चालू आर्थिक वर्षमा चारपाङ्ग्रे गाडी खरीद नगरिने प्रतिबद्धता गरिएको छ।
प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउन पाँच करोड, सुरक्षित बेटी अभियानका लागि एक करोड ५५ लाख र गृह तथा सञ्चार मन्त्रालयका लागि कुल ६५ करोड बजेट विनियोजन गरिएको छ।
बजेट भाषणको शुरूआत मैथली भाषाबाट गरेका मन्त्री साहले बजेट भाषण नेपाली र अन्त्य भोजपुरी भाषामा गरेका थिए।