विषादीको विकल्प
मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्छ।
हामीले दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग जनस्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ। विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्छ। यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्छन्। यस्तै, विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्तासम्मले असर भोग्नुपर्छ।
विषादीको संसर्गमा आएपछि छालामा एलर्जी हुने, आँखा पोल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, कमजोरी हुने जस्ता समस्या देखिन सक्छन्। विषादी छाला, आँखा, श्वासप्रश्वासका माध्यमबाट तथा विषादी प्रयोग भएका खानेकुराको सेवनबाट शरीरभित्र प्रवेश गर्छ।
कतिपय विषादीले गर्भावस्थामै र दूधबाट पनि बच्चाको शारीरिक र मानसिक विकासमा असर पार्छ। लामो समयसम्म विषादीको संसर्गमा आएपछि छाला, फोक्सो, पित्तथैली सहितका विभिन्न क्यान्सर हुने सम्भावना बढ्ने अध्ययनहरूले प्रमाणित गरिसकेका छन्। विषादीकै कारण प्रजनन क्षमतामा ह्रास आउने समेत देखिएको छ।
विषादीले वातावरणमा पार्ने असर पनि उत्तिकै डरलाग्दो छ। यसले हामीले सास फेर्ने हावालाई दूषित बनाउँछ, प्राकृतिक रूपमा फाइदा पुर्याउने जीवहरूलाई नष्ट गर्छ। पानीका मुहान दूषित पार्छ। अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोगले माटोको उर्वरा शक्ति ह्रास गर्छ। रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन्। यद्यपि, यी चुनौती पहिचान गरी एकीकृत ढङ्गले अगाडि बढे केही वर्षमै विषादी न्यूनीकरण गर्न सकिन्छ।
प्राङ्गारिक तथा जैविक मलको व्यवसायीकरण
रासायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने प्रायः किसानको सोचाइ हुन्छ। पछिल्लो समय विषादीका विभिन्न विकल्पबारे अनुसन्धान भएका छन्। यी विधि एवं प्रविधि उत्पादनको हिसाबले उत्तिकै प्रभावकारी सावित भएका छन्। विषादीको तुलनामा महँगो पनि छैनन्।
कीराको अनुगमन र व्यवस्थापन गर्ने मोहिनी पासो, बत्तीको पासो, पहेंलो पासो, बेसिलस थुरिङ्गेन्सिस जस्ता जीवाणुजन्य वा न्यूक्लियर पोलिहेड्रोसिस भाइरस जस्ता विषाणुजन्य प्रविधि बालीनालीमा लाग्ने रोगकीरा विरुद्ध प्रभावकारी देखिएका छन्। तर, नेपालमा बहुसङ्ख्यक किसानमा यस्ता वैकल्पिक प्रविधिबारे जानकारी नै छैन। यसबारे जानकार किसानलाई पनि यी प्रविधि सहजै उपलब्ध हुँदैनन्।
गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ। गोबर मल, कम्पोस्ट मल, गँड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्त्व परिपूर्ति गर्छ। तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ। त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ।
सचेतना
उपभोक्ताको मनोविज्ञान र विषादी प्रयोगबीच गहिरो सम्बन्ध हुन्छ। विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका पनि हुन सक्छन् जुन सामान्यतया उपभोक्ताले किन्दैनन्। अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन्। उपभोक्ताको छनोट र माग अनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ।
उपभोक्ताको रोजाइको मनोविज्ञानले विषादीको प्रयोगलाई प्रोत्साहित गरिरहेको हुन्छ। विषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्न अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचलाई घचघच्याउन जरुरी छ।
रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी कीरालाई तत्काल असर गर्छ, मार्छ, तर यस विपरीत जैविक, वानस्पतिक वा घरेलु विषादीले हानिकारक कीरालाई नमारी तिनको सङ्ख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ। यसरी व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित हुन्छ।
संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन्। तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन्। प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्त्वबारे किसानलाई बुझाउन, तत्काल र धेरै नाफा लिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ।
बजार व्यवस्थापन
नेपालमा विषादी प्रयोग गरिएका र प्राङ्गारिक कृषि उत्पादनको बिक्री-वितरणका लागि बेग्लाबेग्लै बजार छैन। सचेत उपभोक्ताले प्राङ्गारिक उत्पादन खरीद गर्न चाहे पनि सहजै उपलब्ध नहुँदा विषादी प्रयोग गरिएकै उत्पादन खरीद गर्नुपर्ने बाध्यता छ। तसर्थ, रासायनिक विषादी प्रयोग भएका र नभएका उत्पादन बिक्री गर्न बजारमा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिनुपर्छ।
साथै, उत्पादनमा विषादी प्रयोग भए/नभएको वा कति भएको छ भनी यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे प्रबन्ध गरिनुपर्छ। आयातीत खाद्य उत्पादनहरूमा पनि विषादी परीक्षणको व्यवस्था अनिवार्य गरिनुपर्छ। यसले रासायनिक विषादीका विकल्प प्रयोग गर्नेहरूका लागि प्रोत्साहन मिल्नेछ।
(काफ्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत हुन्।)