एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले केही दिनदेखि संसद्को बैठक र संसदीय समितिमा सांसदहरूले एसपीपीका विषय बारम्बार प्रश्न उठाइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्ने बताए।
रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले लिएकाले यो विषयमा प्रधानमन्त्रीले नै सदनलाई जवाफ दिनुपर्ने उनको भनाइ थियो।
“संसद्मा यत्तिको प्रश्न उठिसक्यो। रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको प्रधानमन्त्रीले तत्काल सदनमा आएर जवाफ दिनुपर्छ, ताकि यो सम्झौता के हो? कसको पालामा शुरू भयो?” थापाले भने, “पूर्ववर्ती सरकारले अघि बढाएको सम्झौता भन्ने पनि समाचारमा आइरहेको छ। यस्ता कुराको जवाफ सरकारले तत्काल सदनलाई दिनुपर्छ।”
महामन्त्री थापाले सेना संलग्न हुने कुनै पनि कार्यक्रममा छिमेकी मुलुक वा मित्रराष्ट्रसँग समझदारी गर्न नहुने बताए। विकासको साझेदारीमा सहभागी हुन पाउने भन्दै सामरिक महत्त्वको विषयमा नेपाल शक्तिराष्ट्रको छेउमा पुग्न नहुने तर्क गरे।
“यो मेरो व्यक्तिगत धारणा मात्र हैन, नेपालको संविधान यही भन्छ र इतिहासले पनि यही कुरा सिकाएको छ, प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुनुहुन्छ, पार्टीको निर्णय र पोजिसन पनि यही नै हो,” थापाले भने, “नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको कुनै पनि कुरामा न कहिल्यै भएको थियो न हुन सक्छ।”