देशकै ठूलो ढल्केबर सबस्टेशन पुसभित्र सञ्चालन हुने
धनुषाको ढल्केबरमा निर्माणाधीन देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ ।
सबस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात् ३१ डिसेम्बर २०१९ भित्र सबस्टेसनकाे काम सकेर चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।
सबस्टेसनको काममध्ये इञ्जिनीयरिङतर्फ ९५ प्रतिशत, उपकरण उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
४०० केभी क्षमताको ढल्केवर सबस्टेशन विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएकाे हाे ।
उक्त सबस्टेसन निर्माण भएपछि देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि मार्ग प्रशस्त हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ९०० मेगावाट बराबरको विद्युत् आयातनिर्यातका लागि पूर्वाधार तयार हुने उनको भनाइ छ ।
उक्त सबस्टेसन स्वदेशी लगानीमा निर्माण भइरहेको छ ।
उक्त सबस्टेशनबाट ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बनेपछि नेपालमा वर्षायाममा विद्युत् बढी भएमा भारत निर्यात गर्न सहज हुने प्राधिकरणले जनाएको छ ।
दुई मुलुकबीच ‘इनर्जी बैंकिङ’ गर्न समेत ढल्केबर सबस्टेशनले मार्ग प्रशस्त हुनेछ ।
सबस्टेसन स्थलगत निरीक्षण गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले निर्धारित समयमै काम सम्पन्न निर्देशन दिए ।