करणको उत्कृष्ट प्रदर्शनमा नेपाल सात विकेटले विजयी
करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा ओमनलाई सात विकेटले पराजित गरेको छ।
गएराति अमेरिकामा भएको खेलमा नेपालले सहज जित निकालेको हो। ओमनले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर जित हासिल गरेको हो।
नेपालका लागि आसिफ शेखले ६२, कुशल भुर्तेलले ५६, रोहित पौडेलले २६, देव खनालले १० र दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए। ओमनका लागि फयाज बटले दुई र खवर अलीले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन मात्रै बनायो। ओमनका लागि जिशन मक्सुदले ५२, सन्दीप गौडले ४७, जतिन्द्र सिंहले २३, फयाज बटले १३ र नसीम खुशीले १० रन बनाए।
नेपालका लागि केसीले उत्कृष्ट बलिङ गरे। उनले नौ ओभरमा ३३ रन खर्चेर पाँच विकेट लिए। उनी प्लेयर अफ द म्याच भए।
त्यस्तै, नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यो जितसँगै दुई अङ्क जोडेर नेपाल अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। नेपालको १५ अङ्क भएको छ भने १४ अङ्क सहित पाँचौं स्थानमा रहेको नामिबिया छैटौंमा झरेको छ। ओमन भने ४४ अङ्क सहित शीर्षस्थानमा छ।
अमेरिका भ्रमण अन्तर्गत नेपालले आज चौथो खेल घरेलु टोलीसँग खेल्नेछ। नेपाल र अमेरिकाको खेल आज राति ९ः१५ बजे हुनेछ।