शहरिया रूखकाे इतिहास खोजी
ऐतिहासिक रूख अभिलेखीकरण गर्ने ललितपुर महानगरको अभियानले सम्पदाको परिभाषालाई फराकिलाे बनाउँदै मानव र प्रकृतिलाई नजिक ल्याउने पहल गरेको छ।
ललितपुर सांस्कृतिक सहर हाे। सहरलाई सांस्कृतिक बनाउने आधार सम्पदा हुन्। त्यस्ता सम्पदा कुनै प्रत्यक्ष हुन्छन् भने कुनै अप्रत्यक्ष। अझै पनि मानव निर्मित ऐतिहासिक संरचना वा सनातनी परम्परालाई मात्र सम्पदा भन्ने गरिन्छ। विश्वमा प्राकृतिक सिर्जनालाई पनि ऐतिहासिक सम्पदाको रूपमा लिइएको पाइन्छ। जस्ताे चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्कोको सम्पदा सूचीमा सूचीकृत धरोहर हुन्।
वनस्पतिविद्हरू भने प्रकृति निर्मित रूखपात तथा बिरुवा पनि सम्पदा हुन् भन्ने जिकिर गर्छन्। वनस्पतिविद्हरूको जिकिरलाई सघाउने गरी ललितपुर महानगरले आफ्नो नगर क्षेत्रमा भएका ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका वृक्षहरूको सूचीकरणको नयाँ प्रयास थालेको छ।
‘च्याम्पियन ट्री’ नामक यस अभियान अन्तर्गत महानगरका २९ वटै वडामा भएका ऐतिहासिक र सांस्कृतिक महत्त्वका रूखहरूको पहिचान गरिएको छ। यो काममा ‘नेपालका प्रथम वोटनिस्ट प्रयागराज पाण्डे फाउन्डेशन’मा आबद्ध वरिष्ठ वनस्पतिविद् पुष्पमान अमात्य र हरिकृष्ण सैंजूको टोली संलग्न थियो। अमात्य र सैंजूद्वयको टोलीले ६ महीना लगाएर महानगरका २९ वटै वडामा भएका पुराना रूखहरूको अभिलेखीकरण गरी प्रतिवेदन महानगरलाई बुझाएको छ।
“हामीले वडामा भएका सबै पुराना रूखहरूको सूची बनाएका होइनौं। केही महत्त्वपूर्ण प्रजातिको अभिलेखीकरण गरेका हौं,” सैंजूले भने। रूखको पनि आफ्नो इतिहास हुन्छ। मानव समाज र सभ्यताको निर्माणमा वनस्पतिको अहं भूमिका रहेको हुन्छ। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने राष्ट्रकवि माधव घिमिरेको अभिव्यक्ति जस्तै वनस्पति विना मानव अस्तित्व सम्भव हुँदैन। त्यसैले पनि हामीलाई प्रत्यक्ष-अप्रत्यक्ष लाभ पुर्याउने उपयोगी वनस्पतिको जगेर्नाका लागि अभियान प्रभावकारी हुने सैंजूको अपेक्षा छ।
रूखको पनि आफ्नो इतिहास हुन्छ। मानव समाज र सभ्यताको निर्माणमा वनस्पतिको अहं भूमिका रहेको हुन्छ। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने राष्ट्रकवि माधव घिमिरेको अभिव्यक्ति जस्तै वनस्पति विना मानव अस्तित्व सम्भव हुँदैन।
समाजमा प्रचलित विभिन्न संस्कारमा अनेकौं वनस्पति प्रयोग हुने गरेका छन्। नेपालमा ग्रामीण भेगका मानिसले झण्डै १४ सय ४३ प्रजातिका जडीबुटी उपयोग गर्छन् भन्ने अनुमान छ। कृष्ण आचार्यद्वारा पर्वत जिल्लामा गरिएको एक अध्ययनमा स्थानीय बासिन्दाले व्रतबन्धदेखि मृत्यु संस्कारसम्म ५० प्रजातिका वनस्पति उपयोग गर्ने गरेको पाइएको थियो।
समाजमा वर, पीपल, शमी, कपूर, राजवृक्ष, चाँप, आँपको विशेष महत्त्व भएकाले तिनको संरक्षण हुने सकेको हो। “अन्य कतिपयबारे त हामीलाई थाहा नै छैन,” सैंजू भन्छन्।
ऐतिहासिक वृक्ष खोज्न सैंजू र अमात्यको टोली वडा वडामा गयो। वडालाई नै सम्पर्क आधार मानेर अध्यक्षहरूलाई भेट्न जाँदा आर्थिक सहयोग माग्न आएका हुन् कि भन्ने डरले शुरूमा उनीहरू हच्किए। तर, आफ्नो उद्देश्य स्पष्ट पारेपछि वडाका कार्यकारी सहयोगका लागि तत्पर भए। कतिपय ठाउँमा वडाध्यक्ष आफैं सक्रिय भए।
खोज्दै जाँदा १९ वडामा पर्ने अग्निशालामा ‘वरुण वृक्ष’ रहेको पत्ता लाग्यो। सो वृक्षमा सात-आठ ठाउँमा जराबाट पलाएर फेरि त्यसबाट नयाँ हाँगा फैलिएको देख्न पाइन्छ, जुन वनस्पतिहरूको विशेषता भएको अमात्य बताउँछन्।
अग्निशालाको सो रूखलाई काट्न, भाँच्नु हुन्न भन्ने भनाइ रहेछ। स्थानीयले घर बनाउँदा पनि रूखलाई नछुने गरी जोगाएर बनाएका छन्। राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा एक जना स्थानीय ठालूले सो रूखलाई काँटछाँट गर्दा उनको देहवसान भएको भन्ने भनाइ पनि सो टोलमा चर्चित रहेको अमात्यले सुनाए।
स्थानीय नाम वरुण वृक्ष भएको सो वृक्षको अंग्रेजी नाम ‘क्रिटेभा रिलिजियोसा’ हो भने यो ‘क्यापारेसिया’ परिवारमा पर्दछ। बुवहालमा पाइएको वरुण वृक्ष नौ सय वर्ष पुरानो भएको अनुमान छ। स्थानीय गुठियारहरूले ऐतिहासिक लिखत अनुसार सो वृक्ष नौ सय वर्षअघिको भएको पुष्टि हुने कुरा सुनाए। रूखलाई सकेसम्म कुनै हानि-नोक्सानी नपुग्ने गरी दिगी (ध्यान केन्द्र) को चौथो तलामा पुगेपछि हाँगा निस्केर फैलिएको छ।
यी दुवै ठाउँको वरुण वृक्ष एक ब्राह्मण परिवारका दुई भाइ धरै वर्षअघि शिवपुरीबाट बसाइँसराइका लागि दक्षिणतिर लाग्दा एउटा एउटा लट्ठी टेक्दै हालको ललितपुरभेग आइपुगे। जुन ठाउँ पूरै जङ्गल थियो। दाजुले बागमती नदी तरेर वास बस्ने ठाउँमा लट्ठी गाडे। जुन हालको अग्निशाला भएको ठाउँ पर्यो। त्यस्तै, भाइले सो वेलाको खोल्सावारि गाडेको चाहिं बुहालको भएको भन्ने प्राचीन कहावत छ। ती दुवै दाइ ‘धर’ परिवारका थिए। अहिले पनि तिनको सन्तान दरसन्तानले ‘धर’ लेख्ने गरेका छन्। एउटा परिवार हिन्दू धर्मावलम्बी छ भने अर्को परिवार बौद्ध सम्प्रदाय।
त्यस्तै, पुल्चोकको पहिला स्थानीय विकास मन्त्रालय रहेको श्रीमहल परिसरमा भालु काठको वृक् रहेछ। १५ मिटरसम्म अग्लो हुने बास्नादार रूख पूर्वी नेपालको रैथाने बिरुवा हो। “यो बिरुवा श्रीमहलमा कसरी आयो भन्ने पनि खोजको विषय हो,” अमात्य भन्छन्। यही रूख नारायणहिटी राजदरबार परिसरमा एक बोट र केशरमहलमा पनि एक बोट भएको लेख आफूले वर्षौंअघि राइजिङ नेपाल मा प्रकाशित गरेको अमात्य बताउँछन्। स्थानीय नाम भालु काठ भएको ‘तालाउमा हडसोनाई’ नामक यो वनस्पति ‘म्याङ्गोलियेसिया’ परिवारमा पर्छ।
“केशरमहलको बोट त मासियो, अब यो चाहिं नमासियोस् भन्ने हाम्रो चिन्ता हो,” अमात्य भन्छन्। द फ्लोरा अफ ब्रिटिश इन्डियाका लेखक प्रसिद्ध वैज्ञानिक जेडी हुकर (सन् १८१७–१९११)ले के टिप्पणी गरेका छन् भने, ‘यो उत्कृष्टतम रूखहरूमध्ये पर्छ र यसको फूल संसारका उत्कृष्ट फूलहरूमा पर्दछ।’
अभिलेखहरूमा यस भालु काठ निद्रा लगाउन तथा दाँतको उपचारमा उपयोग हुने उल्लेख छ। लोपोन्मुख प्रजातिमा पर्ने यो बिरुवालाई जापानमा शान्ति र प्रेमको प्रतीक मानिन्छ भने जीवित देवताका रूपमा पुजिन्छ।
राणाकालमा यूरोपेली शैलीमा दरबार बने र तीनलाई सिंगार्न देशभरका बिरुवा झिकाइयो। यो कारणले पनि केही स्थानीय प्रजातिको संरक्षण हुन पुग्यो। केही बिरुवा विदेशबाट झिकाइए। यसरी पनि नेपालमा वनस्पतिको प्रसार भयो।
रूख खोज्ने क्रममा ललितपुरका केही ठाउँमा रूख कमल भेटिए। त्यस्ता रूख कमल मच्छिन्द्र बहाल, धन्तबाराही, स्टाफ कलेज, चिडियाखानामा छन्। शंखमूलको यूएन पार्क अगाडिको धन्तबाराही मन्दिर परिसरमा भएको रूख कमल धेरै ठाउँमा हाँगा जोडिएर फैलिएर आएको छ।
त्यस्तै, स्टाफ कलेजमा लहरै लगाइएको रूख कमलले सुन्दरता थपेको छ। परापूर्वकालदेखि यसको अनेकौं उपयोग हुने गरेको अभिलेखमा पाइन्छ। सेतो बाक्लो पुष्पदल हुने रूख कमल अहिले जेठ महीनामा लटरम्मै फुलेको छ। रूख कमल बुङमतीको मन्दिर परिसरमा पनि छ। मच्छिन्द्र बहाल र बुङमतीमा भएको रूख हेर्दा एकै समयको रूख जस्तो देखिने अमात्य बताउँछन्।
ललितपुरको स्टाफ कलेज पनि वनस्पति र वृक्षका लागि समृद्ध क्षेत्र रहेको देखिन्छ। त्यहाँ काठमाडौं बाहिरका अन्य धेरै प्रजाति जस्तै आँप प्रजाति पनि लगाइएको छ। “त्यो आँप तराई क्षेत्रबाट काठमाडौं झिकाइएको हुनुपर्छ,” सैंजूको अनुमान छ। स्थानीय नेवारी भाषामा तसिंग्वे भनिने सुपारीको रूख पनि काठमाडौं बाहिरबाट ल्याएर स्टाफ कलेज दरबार रहेको परिसरमा लगाइएको उनको बुझाइ छ।
त्यस्तै, चिनियाँ प्रजातिका रूपमा वर्णित कनकचम्पा ललितपुरको दुई ठाउँमा पाइयो। झण्डै पाँच मिटर अग्लो हुने यो चम्पा फूलको बास्ना साँझमा फैलिने गर्छ। खान मिल्ने रूख प्रजातिमा वर्णित यसलाई ‘अर्नामेन्टल प्लान्ट’ अर्थात् सजावटको बिरुवाका रूपमा लिइन्छ। कनकचम्पा वडा नं १२ को मीननाथको चक्रबहीमा पनि छ। सो रूख पनि वर्षौं पुरानो भएको अनुमान छ।
ललितपुर क्षेत्रमा पाइएको अर्को वृक्ष हो, राजवृक्ष। ‘क्यासिया फिस्टुला’ भनिने राजवृक्ष ‘लेगुमिनोसी’ (Leguminosae) परिवारमा पर्दछ। यसको फूल आकर्षक हुन्छ र धेरै सङ्ख्यामा फूल्छ। थाइल्यान्डको राष्ट्रिय फूलका रूपमा रहेको यो फूल फुल्दा त्यहाँ उत्सव मनाउने गरिन्छ। यसको औषधीय गुण पनि छ। बंगलामुखी परिसरमा यो वृक्षसँगै शौचालय बनाइएको छ। “शौचालय अन्त बनाएर रूख जोगाउनुपर्नेमा त्यो चेतना अझै हामीमा पुगिसकेको छैन,” अमात्यको गुनासो छ। यसबारे बरोबर उनले महानगरलाई सम्झाउने गरेका छन् उनी महानगरको सल्लाहकार समितिका सदस्य पनि हुन्।
त्यस्तै, विविध प्रकारको वृक्ष पाइने ठाउँमा मल्लकालीन राजकीय बगैंचा भण्डारखाल पनि पर्दछ। त्यहाँ अस्ट्रेलियाको रैथाने प्रजाति ‘मङ्की पजल’ को रूख पनि छ। त्यस्तै, शहरबजारमा देख्न मुश्किल पर्न थालेको लप्सीको रूख पनि त्यहाँ छ। “लप्सी त यहींको रैथाने हो, तर अस्ट्रेलियाको मङ्की पजलको रूख यहाँ हुनु पनि वनस्पति मार्फत इतिहास बुझ्ने आधार हुन सक्छ,” सैंजू सुनाउँछन्।
“यी रूख जोगाउन थप केही गर्नु पर्दैन। तारबार लगाइदिने र त्यसको मुन्तिरपट्टि ऐतिहासिक विवरण मात्र टाँसिदिने हो भने पनि आम जनताले त्यसको जानकारी पाउनेछन्,” सैंजूको सुझाव छ।
खोज्दै जाँदा खोकनाको फाँटमा एउट मात्र खरीको रूख रहेछ। पछि बुझ्दै जाँदा पुरानो बस्ती तल हाल खेत भएको ठाउँमा रहेछ, पछि बस्ती माथि सरेको रहेछ। हुन सक्छ बाढी वा पानीको कारणले बस्ती सरेको होला। “त्यो कुरा रूख खोज्दै जाँदा थाहा पायौं,” सैंजू भन्छन्।
यदि बारीको डिलमा रूख हुने हो भने चराहरूको गुँड बनाउन र बच्चा कोरल्न पनि सहयोग हुन्छ। खोकना फाँटमा रूख नहुनु भनेको चरा नहुनु पनि हो। विगतमा पानीको अभावका कारण वा महामारीको कारण बस्ती नै सर्ने गरेको थियो। खोकनाको बस्ती पनि डुबानमा परेको कारण माथि सरेको अनुमान छ।
विगतमा एक ठाउँबाट अर्को ठाउँमा जान हिंड्नुको विकल्प थिएन। न त मोटरगाडी न त मोटर गुडाउने बाटा। अनि बटुवालाई सुस्ताउन वरपीपल लगाउने चलन थियो। अहिलेको बीपी राजमार्ग बन्नु पूर्व हिंड्ने बाटोका रूपमा प्रख्यात मार्गमा टन्नै वरपीपल अहिले पनि देख्न पाइन्छ।
नेपालको वरपीपलको चौतारोको बारेमा टोनी हागनको पुस्तक नेपालमा मेरो खोजयात्रामा घतलाग्दो वर्णन छ। उनले लेखेका छन्, ‘गोरेटो बाटाको घना सञ्जाल विकसित गर्नु प्राचीन नेपालको एक ठूलो उपलब्धि थियो। ढुङ्गा छापेका यस्ता मार्गमा असाधारण निर्माण सीपको झलक पाइन्छ। यस्ता मार्गहरू अझै भेटिन्छन्। यस्ता मार्गको सञ्जालको एक अङ्गका रूपमा चौतारा हुन्थे। सिमेन्ट प्रयोग नगरी ढुङ्गाले बनेका यी चौतारामा भारी बिसाइन्थे। चौतारा बनाउँदा पवित्र पीपलका बिरुवा रोपिन्थे र ती बिरुवाले विशाल रूख बनेर छहारी दिन्थे। पहिला पहिला चल्तीमा रहेका बाटामा यस्ता चौताराहरू नियमित अन्तरालमा बनाइएका हुन्थे। ती ठाउँहरू सोचविचार गरेर छानिएका हुन्थे र त्यहाँ प्रायः शीतल हावा मिल्थ्यो अनि त्यहाँबाट मनोरम दृश्यको आनन्द पनि लिन सकिन्थ्यो। चौतारा नजिक प्रायः पानीको मूल हुने गर्थ्यो।’
गोरेटो बाटाको घना सञ्जाल प्राचीन नेपालको ठूलो उपलब्धि थियो। ढुङ्गा छापेका यस्ता मार्गमा असाधारण निर्माण सीपको झलक पाइन्छ। यस्ता मार्गको एक अङ्गका रूपमा चौतारा हुन्थे। सिमेन्ट प्रयोग नगरी ढुङ्गाले बनेका यी चौतारामा भारी बिसाइन्थे। चौतारा बनाउँदा पवित्र पीपलका बिरुवा रोपिन्थे र ती बिरुवाले विशाल रूख बनेर छहारी दिन्थे। चल्तीका बाटामा यस्ता चौतारा नियमित अन्तरालमा बनाइएका हुन्थे। ती ठाउँ सोचविचार गरेर छानिएका हुन्थे। त्यहाँ प्रायः शीतल हावा मिल्थ्यो अनि मनोरम दृश्यको आनन्द पनि लिन सकिन्थ्यो। चौतारा नजिक प्रायः पानीको मूल हुन्थ्यो ।
वटुक भैरव मन्दिरको उत्तरी दिशामा भएको एउटा ठूलो पीपलको रूख मासेर पार्किङ लट बनाउन खोजिएको छ। “अब मान्छेहरूलाई रूख घाँडो लाग्न पो थालेको हो कि जस्तो देखिन्छ,” अमात्यको बुझाइ छ। यसमा अरू शोभनीय बिरुवा लगाउने सुझाव उनी दिन्छन्। यसमा सम्बन्धित क्षेत्रका स्थानीय प्रतिनिधिले चासो देखाउनु आवश्यक छ।
सुनाकोठी ठेचो जाने मूलबाटोमा वर, पीपल र समी लहरै लगाइएको छ। धेरै वर्षअघि लगाइएको सो रूखहरूलाई ब्रह्मा, विष्णु, महेश्वरका रूपमा पूजा अर्चना गर्ने परम्परा रहेको पाइन्छ। सो रूख स्थानीयले संरक्षण गरी राखिएको अवस्थामा देख्न पाइएको अमात्य सुनाउँछन्।
त्यस्तै, एकान्तकुना चोकको कपूरको रूख, बालकुमारी मन्दिर र बंगलामुखी मन्दिरमा रहेको पीपलको रूख तथा सानेपा चोकमा खरीको बोट ऐतिहासिक रूख हुन्। विश्व सम्पदा सूचीमा परेका ललितपुर महानगर क्षेत्रमा कतिपय मठमन्दिरमा सयौं वर्ष पुराना रूख छन्। क्याम्पियनमा छनोट भएका रूखकाे आयु कम्तीमा ८० वर्ष भने पुरानोमा तीन हजार वर्ष अनुमान गरिएको छ।
‘च्याम्पियन ट्री’ पहिचान गर्ने अभियान सन् १९४६ मा अमेरिकामा थालिएको हो। दक्षिण अफ्रिकाले सरकारी स्तरबाटै अग्ला रूखहरूको राष्ट्रिय दर्ता प्रक्रिया अघि बढाइएको थियो। सन् २००३ देखि यूरोपका बेलायत, न्यूजिल्यान्ड, आयरल्यान्ड, दक्षिण अफ्रिका, क्यानाडा लगायतमा मुलुकमा ‘च्याम्पियन ट्री’ अभियान सञ्चालन गरिएको अमात्य सुनाउँछन्।
“म सन् २००३ पछि बेलायत पुग्दा ‘च्याम्पियन ट्री’ अभियान चलाएको पाएँ,” अमात्य भन्छन्, “हामीले पनि रूख संरक्षणका लागि अभियान किन नचलाउने भन्ने साथीहरूसँग कुराकानी गरें र अन्ततः महानगरको सहयोगमा ‘च्याम्पियन ट्री’ को शुरूआती पाइला भए पनि हालियो।”
उनका अनुसार, फाउन्डेशनले चार वर्षअघि ललितपुरको कृषि अनुसन्धान परिषद्देखि दक्षिणी धापाखेल क्षेत्रसम्मको मूल सडकमा रहेको रूखहरूको गणना र तिनको वैज्ञानिक नामकरण पनि गरिसकेको छ। वन तथा वनस्पति संरक्षणका लागि सरकारी तवरबाट काम हुन थालेको ८० वर्ष पुग्न लाग्दा पनि रूखबिरुवा तथा जङ्गल संरक्षणमा हामी विश्वको तुलनामा धेरै पछि परेको अमात्यको गुनासो छ। “त्यसो भएर पनि हामीले आआफ्नो ठाउँबाट जेजति सकिन्छ, पहल गर्नुपर्ने आवश्यकता छ,” उनी भन्छन्।
नेपाल विश्वमै सबैभन्दा बढी भौगोलिक विविधता भएको देश हो। जैविक विविधताका दृष्टिले नेपाल विश्वको २५औं र एशियाको ११औं स्थानमा छ। नेपालमा हालसम्म वनस्पतिका करीब १२ हजार प्रजाति सूचीकृत भइसकेका छन्।
हामीले निजी जग्गामा भएका रूखलाई लिएका होइनौं। सार्वजनिक जग्गामा भएका रूखहरूलाई अभिलेखीकरण गरेका हौं। यो शुरूआत मात्र हो। यसलाई विस्तार गर्नुपर्छ।
विश्वमा लगभग दुई लाख २० हजार फूल फुल्ने वनस्पति छन्। वनस्पति जगत्मा काष्ठ पदार्थ भएका र नभएका गरी दुई थरीका वृक्ष र वनस्पति हुन्छन्। फूल फुल्ने वनस्पति प्रजातिका दृष्टिले नेपाल विश्वमै २५औं स्थानमा छ भने समग्र जैविक विविधतामा नेपाल ४८औं स्थानमा छ।
२९ मध्ये वडा नं १ र १७ का दुई वडा बाहेक २७ वडामा ‘च्याम्पियन ट्री’ पहिचान भएको छ। ती वडामा ऐतिहासिक रूख छँदै छैनन् भन्ने होइन, भोलिका दिनमा पाइन सक्ने सैंजू र अमात्यको जनाउँछन्। उनीहरू भन्छन्, “हामीले निजी जग्गामा भएका रूखलाई लिएका होइनौं। सार्वजनिक जग्गामा भएका रूखहरूलाई अभिलेखीकरण गरेका हौं। यो शुरूआत मात्र हो। यसलाई विस्तार गर्नुपर्छ।”