कुरो इम्बोस्ड नम्बर प्लेट र त्यसको लिपिको
अहिलेसम्म जति गल्ती भयो, भयो। त्यत्तिमै रोकौं। यो कार्य अहिलेका लागि स्थगित गर्दा जति रकमको नोक्सानी हुन्छ भनिएको छ, सरकारले यसलाई अगाडि बढाएर पछि रोक्न बाध्य हुँदा हाम्रो मुलुकले झन् धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।
हो, यो कुरो त्यही वेला गर्नुपर्थ्यो होला। गरिएन। तर, त्यसाे भन्दैमा गलत निर्णयलाई अहिले पनि गलत भन्न मिल्छ, र भनिन्छ पनि। भन्दै रहिन्छ, जबसम्म गल्ती सच्चिँदैन।
कुरो इम्बाेस्ड नम्बर प्लेटबारे। आजकल त्यसबारे धेरै कुरा आएका छन्, त्यो किन चाहियो, त्यसको पूर्वाधारै बनेको छैन इत्यादि। तर, म केवल त्यसको भाषाबारे मात्र चर्चा गर्नेछु। नेपाली सवारी साधनमा लगाउने नम्बर प्लेटलाई आधुनिकीकरण गर्न पर्यो, मानें! यो सवारी साधनको चोरीचकारीलाई ट्र्याक गर्ने प्रविधियुक्त हुनुपर्छ, त्यो पनि मानें। तर, नेपाली/देवनागरी लिपिमा नभई अङ्ग्रेजी/रोमन लिपिमा गर्नुपर्ने तर्क म मान्नेवाला छैन।
किन? पहिला त, २०७४ सालमै सर्वोच्च अदालतमा पेश भएको रिटले पनि ध्यानाकर्षण गरे झैं, जब नेपालको संविधानले नै 'देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ' भनेर किटान गरेको छ। नेपालमै सरकारी निकायले बनाउन दिने नम्बर प्लेट चाहिं किन अङ्ग्रेजीमा? त्यति वेला त्यो रिट खारेज भयो, केका लागि कुन्नि? तर, अहिले फेरि हामीले यो कुरा उठाउन त पाउँछौं नि, त्यो निर्णय सल्टाउन त सक्छौं नि। सक्नु पनि पर्यो।
सर्वोच्च अदालतले त्यति वेला निर्णय गर्दा, भाषा भनेकै के भन्ने लम्बेचौडे व्याख्या गर्दै, सरकारले अरू भाषा प्रयोग गरेको उदाहरण पनि दिएको रहेछ। राहदानीको, परिचयपत्रको र कूटनीतिक पत्राचारको, अन्तर्राष्ट्रिय बोलपत्रको। संसारको जुनसुकै कुनामा प्रयोग गर्ने राहदानीसित नेपाली नम्बर प्लेटलाई दाँज्न सकिन्छ?
फेरि भुटान, बाङ्लादेश, इन्डिया र नेपाल (BBIN) पारवहन सम्झौतामा गाडीहरू सीमा वारिपारि गर्नुपर्ने उदाहरण दिइएको रहेछ। पहिलो कुरो त कति वटा गाडी यसरी सीमा वारपार गर्छन्? एक-दुई हजार? पाँच हजार? जति हजारले गर्छन् तिनलाई विकल्पका रूपमा सरकारले होलोग्राम सहितको रोमन लिपिवाला स्टिकर बनाएर गाडीमा टाँसिदिए त भइहाल्यो नि। ती हजार सवारी साधनका लागि पूरा देशभरि चल्ने लाखौं सवारी साधनको नम्बर प्लेटलाई अङ्ग्रेजीकरण गर्नुपर्ने?
दोस्रो कुरो, बाङ्लादेशका गाडीहरू सबमा बाङ्ला लिपिले नै सीमा वारपार गर्न हुने, हामीलाई किन नहुने? (हेर्नुस् इम्बोस्ड बाङ्ला प्लेटको नमूना)।
सरकारले त्यति वेला किन अङ्ग्रेजी गरियो भनेर दिएको कारण पनि अचम्मको पो रहेछ! '...ह्रस्व दीर्घ, आकार, इकार, उकार जस्ता मात्राको कारण नेपाली अक्षरमा नम्बर प्लेटको आकार एउटै हुन नसक्नेे, इम्बोस्ड नम्बर प्लेट डिजिटल प्रविधिबाट मुद्रण हुने भएकाले नेपाली अक्षरमा प्लेटको आकार एउटै हुन नसक्ने, तर अङ्ग्रेजी अक्षर एउटै आकारको हुने भएकाले एउटै आकारको नम्बर प्लेट मुद्रण गरी जडान गर्न सकिने...।'
धेरै पर जानै पर्दैन, फेरि बाङ्लादेशकै लिपिमा देवनागरी जस्तै एकार, इकार र उकार छन् त्यसले उनीहरूलाई एक करोड नम्बर प्लेट इम्बोस्ड गर्न छेकेको छैन। (हेर्नुस् डेकाटुरको वेबसाइटमा बकाइदा बाङ्ला लिपिमा लाइसेन्स प्लेट छापिंदै गरेको फोटो)
नेपाली प्लेटमा देवनागरीमा लेख्दा मजाले मिलाउन सकिन्छ। अङ्कहरू त १२३४५६७८९१० यसै पनि एकै लहरमा हुन्छन्।
अक्षरका उकार, इकार, एकार पनि सबै अटाउन सकिन्छ। विभिन्न आकारको प्लेट बनाउनै पर्दैन। मेरो कम्प्युटरमा भएको सीमित नेपाली फन्ट प्रयोग गरेर मैले हेर्दा कुनै गाह्रो काम जस्तो लाग्दैन (हेर्नुस् चित्र)।
खाने मुखलाई जुँगाले कहिले पो छेकेको छ र?
रह्यो नेपाली लिपि 'पढ्ने' यन्त्रको कुरो। डिजिटाइजेशनको जमानामा लिपि चिन्ने यन्त्र पाउन वा बनाउन केही गाह्रो हुँदैन। हाम्रोसँग मिल्दोजुल्दो बाङ्ला लिपि पढ्न सक्ने प्रविधिले देवनागिरी लिपि किन चिन्न सक्दैन र?
सर्वोच्चको ठहरमा उल्लेख गरिएको छ, 'लागू गर्दा यातायात व्यवस्थापनलाई वैज्ञानिक बनाउने, सुरक्षा प्रबन्ध, चोरी पैठारी नियन्त्रण, कर असुली समेतलाई सहज बनाउने भन्ने देखिंदा इम्बोस्ड नम्बर प्लट राख्नुको बहुपक्षीय उपयोगलाई समेत मनन गर्नुपर्ने देखिन्छ ...।' इम्बोस्ड गर्दै नगर्नु त कसैले भनेको छैन।
नेपालीमा गर्नुपर्छ भन्ने माग हो। र, सर्वोच्चले भनेको जस्तै यो यातायातको सुरक्षाको मामिलामा महत्त्वपूर्ण कडी बन्न सक्छ– त्यति वेला, जब यी प्लेटहरू नेपाली जनता, खास गरी ट्राफिक प्रहरीका लागि 'सरल र सहज' हुनेछ।
विचार गरौं, नेपालको कुनै कुनामा एउटा बाइकले कसैलाई ठक्कर दियो रे। बाइकको नम्बर नेपालीमा भए घाइते व्यक्तिले प्रहरीलाई उजुरी गर्न कति सहज। अनि फेरि देशभरि खटिएका ट्राफिक प्रहरीकै कुरा गरौं। जबसम्म सबैका हातमा ट्र्याकिङ यन्त्र हुँदैन, र नाका नाकामा आएफआइडी पढ्ने-चिन्ने गेटहरू ठड्याइएका हुँदैनन्, त्यति वेलासम्म त प्रहरीले नम्बर प्लेट आधुनिक भए पनि रिपोर्ट गर्ने तरीका त परम्परागत नै हुन्छ। अहिले त प्रहरी भाइबहिनीहरूले सवारी साधनको नम्बर टिप्न सजिलो उपाय अपनाउँछन्। १२३४ छ भने 'बाह्र चौंतीस' भन्ने। ५९३७ छ भने 'उनान्साठी सैंतीस' भनेर। अङ्ग्रेजीमा यिनै अङ्कहरूलाई 1234 'टुएल थट्टीफोर' वा 5937 लाई 'फिप्टिनाइन थट्टीसेभेन' भनेर सम्झन लगाउने?
यस्तो अवस्थामा ‘सुरक्षा प्रबन्ध’ कसरी चुस्त बनाउन सकिन्छ? नेपाली जनताको सुरक्षा कसरी सुनिश्चित हुन्छ? यो इम्बोस्ड प्लेट बनाउने प्रक्रियामा ट्राफिक र अरू प्रहरीसित कत्तिको राय सुझाव लिइयो, कुन्नि! लिएको भए त उहाँहरूले त अवश्य पनि अङ्ग्रेजीमा गर्न सुझाउनुहुन्नथ्यो होला।
नेपाली लिपि चाहिएको छ नेपालीलाई, विशेषत: प्रहरीलाई। तर, सरकारले त्यति वेला अघि सारेको अर्को तर्क यस्तो थियो, 'अङ्ग्रेजी अक्षरको नम्बर प्लेट हुँदा नेपालमा आउने विदेशी पर्यटकलाई बुझ्न सरल र सहज हुन्छ... ।' नेपालभित्र चल्ने सवारी साधन कसका लागि? तीन कोटि नेपाली जनतालाई कि एक लाख चानचुन पर्यटकका लागि? पर्यटकहरूको बसाइको साह्रै चिन्ता छ भने उनीहरूलाई १ देखि १० चिनाउने पर्चा दिऔं हवाईजहाजमै, या यत्तिका आइटी कम्पनीहरू छन् नेपालमा, उनीहरूलाई पर्यटकका लागि छुट्टै एप बनाइदिऔं, यताउति जान सजिलो हुने गरी। कथंकदाचित् केही कारणले सवारी साधनको नम्बर उनीहरूले टिप्नुपरेको खण्डमा मोबाइल फोनले खिचेर पत्ता लगाउन सकिहाल्छन् नि। फेरि १ देखि ९ सम्मको अङ्क न चिन्नुपर्ने हो, उनीहरूले। कति नै गाह्रो हुन्छ र, कण्ठ पार्न?
त्यसैले सरकारले सबै प्रदेशको नाम टुङ्गो नलगाएसम्म, सबैतिर (काठमाडौंको पाँच भञ्ज्याङमा मात्र हैन) ती स्मार्ट नम्बर प्लेट पढ्ने यन्त्र जडान नगरेसम्म त हतारमा इम्बाेस्ड प्लेट छाप्ने कामै छैन। अनि यो समयमा मजाले नम्बर प्लेट देवनागरीमा डिजाइन गरेर ठीक पारिराखौं। अनि सबै पूर्वाधार तयार भएपछि भटाभट छाप्न लगाऔं, नेपालीमा इम्बाेस्ड नम्बर प्लेट।
अहिलेसम्म जति गल्ती भयो भयो, त्यत्तिमै रोकौं। यो कार्य अहिलेका लागि स्थगित गर्दा जति रकमको नोक्सानी हुन्छ भनिएको छ, सरकारले यसलाई अगाडि बढाएर पछि रोक्न बाध्य हुँदा हाम्रो मुलुकले झन् धेरै सम्पत्ति (आर्थिक, सामाजिक) क्षति बेहोर्नुपर्ने हुन्छ।
जब नेपाली लिपिमा सरकारले इम्बाेस्ड नम्बर प्लेट बनाएर बाँड्न थाल्छ, त्यति वेला नै हो एक नेपाली-प्रेमी नागरिकका नाताले म गर्वका साथ आफ्नो गाडीमा नम्बर प्लेट फेर्नेछु। र, मैले बुझे अनुसार अरू धेरै नेपालीले पनि यसै गर्नेछन्। सरकार, हतार गरेर हामीलाई अवज्ञा गर्नतर्फ नधकेल!