जसपा आफै फुट्न लागेका वेला लोसपासँग एकीकरणको नारा
आन्तरिक विवादले जसपा फुटको संघारमा पुगिरहेको वेला लोसपासँग एकताको विषय पनि चर्चामा आएको छ।
राजपा लोकतान्त्रिसँग शुक्रबार जनकपुरमा एकता गरेसँगै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि एकीकरणका लागि आह्वान गरेका छन्। अध्यक्ष यादवले यस्तो वेला आह्वान गरेका छन्, जतिवेला उनको पार्टी फुटको संघारमा पुगेको छ।
तथापि, उनको आह्वानले नयाँ बहस सिर्जना गरेको छ। तराई-मधेश केन्द्रित यादव नेतृत्वको समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच एकताको बहसले नेता र कार्यकर्तामा पनि चर्चाको विषय बनेको छ।
स्थानिय चुनावमा दुवै दलले अपेक्षाकृत परिणाम ल्याउन सकेनन्। पार्टी विभाजनको कारण पाँच वर्षअघि जितको सिट पनि गुमाउनु पर्यो।
पाँच दलीय गठबन्धनमा रहेको जसपालाई खासै फाइदा पुगेन। अझ दुवै दलले मधेशमा एक-अर्काको मत काट्दा अन्य पार्टीलाई फाइदा पुग्यो। विशेष गरेर सर्लाही, धनुषा, सप्तरी र महोत्तरीमा त दुवै पार्टीले घाटा ब्यहोरे।
दोस्रो स्थानमा दुवै दलको प्रतिस्पर्धा भइरहँदा अन्य दलले जितेको देखियो। जसले गर्दा दुवै दलबीच एकताको विषय फेरि उठेको छ।
जसपा अध्यक्ष यादवले एकताका लागि आश्वान गर्दा विगतको समीक्षा गर्न आग्रह गरेका छन्। त्यो विगतको समीक्षा भनेको के हो?
नेकपाको सरकार हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरे। त्यसविरुद्ध गठबन्धन बन्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले) का नेता र राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिए। उपेन्द्र यादव सहित जसपाको एक पक्ष पनि गठबन्धनमा सामेल भयो।
तर, ठाकुर सहितको अर्को पक्षले ओलीलाई साथ दियो। त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा अध्यक्ष यादवले ठाकुर सहित नेताहरूलाई कारबाही गरे। जसले गर्दा ठाकुरको नेतृत्वमा लोसपा गठन भयो।
त्यसअघि यादव र ठाकुर नेतृत्वको पार्टी एकीकरण हुनुमा पनि तत्कालीन प्रधानमन्त्री ओलीकै हात थियो। ओलीले दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याएपछि यादव नेतृत्वको पार्टी फुटको संघारमा पुगेको थियो। त्यतिवेला ठाकुरले रातारात एकीकरण गरेका थिए। जसले गर्दा यादवको पार्टी त जोगियो नै दुवै पार्टी मिलेर जसपा बनेको थियो।
यो पृष्ठभूमिमा फेरि एकताको विषयले मधेशमा चर्चा पाएको छ। स्थानीय चुनावमा देखिएको कमजोर प्रदर्शनले पनि दुवै पार्टीलाई एकताका लागि दबाब परेको छ।
यादवले आह्वान गरे पनि तत्काल एकताको सम्भावना न्यून रहेको लोसपाका नेता बताउँछन्। उनीहरू जसपा अध्यक्ष यादव विगतमा भएको एकताप्रति ईमान्दार नदेखिएको आरोप लगाउँछन्।
जसपा नेता भने अहिले मधेशको आवश्यकता एकता भएको तर्क गर्छन्। स्थानीय चुनावले पनि एकता गर्नुपर्ने संदेश दिएको बताउँछन्। जसपा अध्यक्ष यादव भन्छन्, “पार्टी एकताको लागि वातावरण बन्दै गएको छ। एकै हातले त ताली बज्दैन।”
उनी अब आरोप-प्रत्यारोपमा नत्रिने बताउँछन्। “पार्टी किन विभाजन गरियो? केका लागि गरियो? त्यो उहाँहरूले सोच्नुपर्ने हो, हामीमाथि जति आरोप लगाए पनि हामी कसैलाई आरोप लगाउदैनौं,” यादव भन्छन्, “समयको आवश्यकता र जनताको माग पार्टी एकता रहेको छ।”
लोसपा नेता राजेन्द्र महतो जसपाभित्र आफू कमजोर भएपछि अध्यक्ष यादवले एकताको विषय झिकेको बताउँछन्। “उपेन्द्रजी मधेशको कुरा गर्नुहुन्छ, तर उहाँमा एकवद्ध भएर मधेशी शक्तिको निर्माण गर्नुपर्छ भन्ने कुरामा नितान्त अभाव देखिएको छ।”
हुन पनि यतिवेला यादव आफ्नै पार्टीभित्र कमजोर देखिन थालेका छन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष र नेता राजकिशोर यादव पक्षले पार्टी भित्र विधि र पद्धतिको अभाव भएको बताउँदै आएका छन्। यादवले पार्टीमा एकलौटी गरेको दुवै पक्षको आरोप छ।
संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव पक्षबीच स्थानीय चुनावको मुखैमा विवाद उत्पन्न भएको थियो। त्यसले चुनावमा असर पर्ने भन्दै दुवै पक्षले विवाद साम्य पारेका थिए। त्यहि विवाद फेरि सहतमा आएको छ।
त्यो विवाद बढ्दै जाँदा अहिले कार्यकर्ताबीच मात्रै होइन, नेताहरूबीच पनि हात हालाहालको स्थिति आएको छ। स्थानीय चुनाव सकिएयता मात्रै एक-अर्कामा हात हालाहाल तथा दुर्व्यवहारका चार वटा घटना भइसकेका छन्। कार्यकर्ताबीच भएका घटना त कति हुन कति!
पछिल्लो पटक अध्यक्ष यादवका विश्वासपात्र रहेका मधेश प्रदेश अध्यक्ष बाबु यादव नै हातपातमा उत्रिएका छन्। जेठ २६ गते स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठलाई कार्यकक्षमै जसपा सांसद एवं मधेश प्रदेश अध्यक्ष यादवले दुर्व्यवहार गरेका छन्। आफनो योजना नराखेको भन्दै हातपात गर्न खोजेको एक नेताले बताए। मन्त्री श्रेष्ठ जसपा नेता अशोक राई पक्षका हुन्।
जसपाका नेता राजकिसोर यादवले पार्टीले स्थानीय तहको निर्वाचनपछि समीक्षा गरेर सामूहिक निर्णयको आधारमा अघि बढ्नुपर्ने बताए। तर, पार्टीमा सामूहिक निर्णय हुन छोडेको उनको भनाइ छ।
पछल्लिा पटक विवाद बढ्दै गएपछि पार्टीमा सामूहिक निर्णय गर्न तीन सदस्यी समिति बनाइएको थियो। जसमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र नेता राई छन्। तीन सदस्य समितिले असारभित्र विधान अधिवेशन गराउने निर्णय गरेको थियो। तर, अहिलेसम्म कुनै तयारी देखिँदैन। अध्यक्ष यादवले विधान अधिवशेन गर्न नचाहेको अर्को पक्षको आरोप छ। यसले पनि विवाद थपेको अर्का एक नेताले बताए।
त्यस्तै, सरकारमा सहभागी मन्त्री फिर्ता लिने विषयले पनि विवाद बढेको छ। भट्टराई र राजकिशोर पक्ष मन्त्री फिर्ता बोलाउनुपर्नेमा जोड दिँदै आएका छन् भने अध्यक्ष यादवले अहिले फिर्ता बोलाउन नहुने पक्षमा छन्।
यादव पक्षका नेता प्रमोद साह पार्टीमा केही समस्या देखिए पनि बैठक बसालेर छलफलमार्फत नै समाधान हुने बताउँछन्। “अध्यक्षजी अहिले मन्त्रीहरू फिर्ता बोलाउने पक्षमा हुनुहुन्न,” साह भन्छन्, “तथापि, पार्टीको हितमा जस्तो निर्णय लिन पनि तयार हुनुहुन्छ।” पार्टी विभाजन कसैको हितमा नभएको बताउँदै उनी छलफलबाटै समस्या समाधान हुने उनी बताउँछन्। बरु अध्यक्ष यादव अन्य पार्टीसँग पनि एकता गर्ने पक्षमा रहेको उनको भनाइ छ।
यस्तो वेला लोसपासँगको एकता भने पार्टीभित्रको विवाद पन्छाउने रणनीति भएको महतोको भनाइ छ। “आफनो पार्टीमा कमजोर देखिन थालेपछि उपेन्द्रजीले एकताको कुरा गर्न थाल्नु भएको छ,” महतो भन्छन्, “यो बनावटी कुरा हो, यसमा ईमान्दारिताको अभाव देखिन्छ।”