बेलायतको घटना सुनाउँदै योगेश भट्टराईले भने–अर्थमन्त्री शर्माले राष्ट्रघात गरे
नेकपा (एमाले) सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात गरेको आरोप लगाएका छन्।
अर्थमन्त्री शर्माले पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई गैरकानूनी रूपमा बजेट निर्माणमा संलग्न गराएको भन्दै राजीनामा दिन समेत भट्टराईले माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै भट्टराईले भने, “पदमा रहँदा वा नरहँदा राज्यको कुनै पनि गोप्यता भङ्ग गर्न मिल्दैन। अर्थमन्त्रीको यो कार्य शपथको खिलाफ हो, यो जनघात मात्रै होइन राष्ट्रघात हो।”
बजेट निर्माणमा अर्थमन्त्री शर्माले नाजायज काम गरेको अन्नपूर्ण पोष्ट् दैनिकले जेठ ३० गते खुलासा गरेको थियो। त्यस सन्दर्भमा सांसद भट्टराईले संसद्मा सुनाएको घटना यस्तो छः
बेलायतको संसद्मा जुन दिन बजेट भाषण प्रस्तुत हुँदै थियो। त्यस दिन एक जना सांसद चुरोट तानिरहेका थिए। बजेट भाषण गर्न गइरहेका अर्थमन्त्रीले ती सांसदलाई ‘अहिलेसम्म त खा न चुरोट’ भन्नुभयो।
अर्थमन्त्रीले भाषण गरिसकेपछि थाहा भयो- चुरोटमा कर बढेको रहेछ। चुरोटमा कर बढ्दै छ भनेर पूर्व सङ्केत गरेकै हुनाले ती अर्थमन्त्रीले पद छोड्नुपर्यो।