बाक्लियाे एमाले-माओवादी संवाद, नारायणकाजीले भेटे ओली
स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको एक महीना नपुग्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नजिकिने प्रयासमा जुटेका छन्। यसका लागि दुवै पार्टीका नेताहरूले संवाद थालेका छन्।
दुई पार्टीबीचका नेताहरूको संवादका क्रममा पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ। अध्यक्ष ओलीलाई भेट्न माओवादी नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए।
माओवादी स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहालसँग अनुमित लिएर श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए। उनले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेका छन्।
स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएसँगै दुवै पार्टीका नेताले संवाद थालेका हुन्। जेठ दोस्रो साता एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र माओवादी वरिष्ठ नेता श्रेष्ठबीच भेटघाट भएको थियो। त्यसमा पनि चुनावी समीक्षा लगायत समसामयिक विषयमा छलफल भएको जनाएको छ।
एमाले नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धन भत्काउने प्रयासमा जुटेको छ। जसका लागि दोस्रो तहका नेतालाई छलफलमा पठाएको छ।
त्यहि क्रममा शनिबार जेठ २८ गते एमाले सचिव प्रदीप ज्ञवालीले माओवादीका नेता वर्षमान पुनसँग भेटघाट गरेका थिए। उनीहरूबीच दुई घण्टा छलफल भएको थियो।
एमाले सचिव ज्ञवालीले पुनसँग भेटघाट भएको पुष्टि गरे। उनले त्यसलाई ‘औपचारिक हाई हेलो’ भनेर प्रतिक्रिया दिए। माओवादी नेता पुन भने यसबारेमा केही बोलेका छैनन्।
स्थानीय तहको निर्वाचनमा एमालेले दोस्रो पार्टी बनेको छ। २०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो।
त्यस्तै, गठबन्धनमा रहेको माओवादी पनि सन्तुष्ट देखिँदैन। कांग्रेसबाट उचित सहयोग नपाएरै केही तह गुमाउनु परेको माओवादी नेताहरूले गुनासो गर्दै आएका छन्।
माओवादीसँगै नेकपा (एकीकृत समाजवादी) नेताहरू पनि स्थानीय चुनावमा गठबन्धनबाट सहयोग नभएको बताउँदै आएका छन्। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त सार्वजनिक कार्यक्रम कांग्रेसले सहयोग नगरेको गुनासो गरेका छन्। उनी पाँच दलीय गठबन्धन तोडेर वामपन्थी गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन्।
स्थानीय चुनावमा कांग्रेसले ३२९ वटा स्थानीय तहको प्रमुख जितेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको एमालेले २०५ स्थानीय तह र माओवादीले १२१ स्थानीय तहमा जित हासिल गरेको छ।
सत्तारुढ गठबन्धनका नेताहरू आउँदो कात्तिक-मंसीमार संघ र प्रदेशको निर्वाचन गर्ने बताउँदै आएका छन्। पाँच दलीय गठबन्धन यथावत रहेमा कमजोर हुने विश्लेषण गरेर एमालेले माओवादीसँग सम्बन्ध सुधारको प्रयास थालेको जनाइएको छ।
त्यसै अन्तर्गत अहिले एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच छलफल चलिरहेको छ। त्यहि क्रममा आइतबार ओली र श्रेष्ठबीच छलफल भएको जनाइएको छ।
सत्तारुढ दलका शीर्ष नेताहरूले भने यही गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउँदै आएका छन्।