संसद्मा बजेटमाथिको छलफल रोकेर मलमाथि बहस
प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल स्थगित गरिएको छ भने अहिले मल सम्बन्धी प्रस्तावमा छलफल चलिरहेको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराई लगायत १५ जना सांसदले आइतबार बजेटमाथिको छलफल ‘स्थगन प्रस्तावको सूचना’ दर्ता गराएका थिए। उनीहरूले प्रस्तावमा भनेका थिए, “...प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगन प्रस्तावको सूचना दिएका छौं।”
त्यसैअनुसार, सभामुख अग्निप्रसाद सापकोटाले आज बजेटमाथिको छलफल स्थगित गरेका छन्। सभामुख सापकोटाले सांसद भट्टराई लगायतले दर्ता गराएको प्रस्तावमाथि छलफल अघि बढाएका हुन्। उनले यसका लागि दुई घण्टा समय छुट्याएका छन्।
प्रस्तावमाथि सांसदहरूले बोलिरहेका छन्। उनीहरू तत्काल रासायनिक मलको आपूर्ति गर्न सरकारसँग माग गरेका छन्।