बेलायतसँग १९४७ काे सम्झौता पुनरावलोकन गर्ने कुरा उठाएकाे छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौतालाई पुनरावलोकन गर्ने विषायमा कुरा उठाएकाे बताएका छन् ।
यूराेपका विभिन्न देशकाे भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजीत पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले सम्झौता धेरै पुरानो भएकाले पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको बताए ।
“हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ”, उनले भने ।
स्वीट्जरल्याण्ड, फ्रान्स र बेलायतको भ्रमण गरेर फर्केका प्रधानमन्त्री ओलीले नेपालका जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउने विषयमा गम्भीरताका साथ कुरा उठाएको पनि बताए ।
गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पारे ।
“जनतालाई सर्वोपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ,”उनले भने ।
“मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ ।