हिमाली हलचलका साक्षी
जर्मन पत्रकार पिटर हिनत्सेलाई हिमालय क्षेत्रप्रति औधि लगाव छ। उनको त्यो लगाव हिमालय ट्रेल रनिङमा पनि उस्तै रह्यो।
एक पटक उनले नेपाल भ्रमणका वेला पर्यटकीय केन्द्र ठमेलमा रहेको पिलग्रिम्स बुक स्टोरमा रोबिन बाउस्टेडको नेपाल ट्रेकिङ र ग्रेट हिमालय ट्रेल किताब भेटे। म्युनिख फर्किएपछि उनले कुनै दिन पक्कै नेपालमा ट्रेकिङ गर्न आउनेछु भन्ने अठोट गरे।
“मेरो उद्देश्य निश्चय नै नयाँ कीर्तिमान बनाउने थिएन,” हिनत्सेले सन् २०२१ मा प्रकाशित आफ्नो पुस्तक ‘ग्रेट हिमालय ट्रेल’ को भूमिकामा लेखेका छन्। पुस्तकको जर्मन संस्करणले सन् २०१९ मा ‘आइटीबी’ ट्राभल बुक पुरस्कार पनि जित्यो।
पुस्तकमा उनले तीन महीने यात्रा थाल्नुको उद्देश्य जलवायु परिवर्तन, ‘सभ्यता’, सडक निर्माण र बसाइँ सराइले नेपालको हिमाली क्षेत्रको अस्तित्व नै जोखिममा परेको विषयलाई उजागर गर्ने प्रयास थियो।
पुस्तकमा उनको यात्रालाई मात्र समेटिएको छैन बरु जथाभावी बनाइएको सडकले निम्त्याएको दर्दनाक दुर्दशालाई चित्रित गरिएको छ। त्यस्तै सांस्कृतिक विचलन, जलवायु परिवर्तनको असर र उच्च हिमाली क्षेत्रको कठिनता र अनुकूलनलाई समेटिएको छ।
अहिलेसम्म ग्रेट हिमालय ट्रेल १५० जनाले मात्र पूरा गरेका छन्। पुस्तक हिमालय ट्रेलको यात्रामा जान चाहनेहरूका लागि गाइड सरह मात्र छैन यसमा समावेश उत्कृष्ट तस्वीरहरूले पाठकलाई सो यात्रामा आफू पनि सहभागी भएको झल्को दिन्छन्।
ग्रेट हिमालय ट्रेलका दुई वटा मार्ग छन्। पहिलो बस्तीविहीन अग्ला पास रहेको उपल्लो भेग हुँदै जान्छ। अर्को सांस्कृतिक रुट हो, जहाँ आवाद उपत्यका छन्।
एउटा मार्गमा हिमाली पहरा र बरफ मात्र छन् भने अर्कोमा हिमाली वस्ती। हिनत्सेले आफ्नो पुस्तकमा हिमाली क्षेत्र मात्र होइन, हिमाली जनजीवनलाई पनि समेटेका छन्।
उनको यो पुस्तक द्रूत गतिमा परिवर्तित भूगोल र नेपालको संस्कृतिको मानवशास्त्रीय दस्तावेज हो। पाना पल्टाउँदै जाँदा पुस्तकमा वर्णित र चित्रित ती ठाउँ अब त्यस्तै रहने छैनन् भन्ने बुझिन्छ। ती सदाका लागि परिवर्तितक हुनेछन्। कतिपय ठाउँ त परिवर्तित भइसकेका छन्।
हिनत्सेको टोलीले कञ्चनजंगा मुनीको ल्होनाकबाट यात्रा शुरू गरेको थियो। त्यो क्षेत्रमा हिमनदी सुक्दै गएको र हिमरेखा घट्दै गएको प्रस्टै देख्न सकिन्थ्यो।
खुम्बु क्षेत्रबाट रोल्वालिङ पस्ने वेला बाक्लो हिँउ परेका कारण हिमपहिरोको डरले उनको टोली तासी लाप्सा पासबाट फर्कियो। उनी सगरमाथा आधार शिविर पुगे, जहाँ उनले सन् २०१४ र २०१५ मा भएको हिमपहिरोको प्रकोपलाई स्मरण गरे।
पर्यटनमा अधिक निर्भर हुनु जीविकोपार्जनलाई कति घातक हुन्छ भन्ने कोरोनाभाइरस महामारीले प्रष्ट गरेको छ। हिनत्से एक पत्रकार भएकाले उनको किताब पढ्नु पत्रिकाको लामो लेख पढ्नुजस्तै रोमाञ्चक हुन्छ।
उनले आफ्नो यात्राको क्रममा भेटेका मानिसको अन्तरवार्ता पनि किताबमा समावेश गरेका छन्। जस्तै, जलवायु वैज्ञानिक फिडेल देवकोटा, पर्यटन व्यवसायी याङकिला शेर्पा, मुस्ताङी राजाका भतिजा राजु विष्ट र रोबिन बाउस्ट।
हिनत्सेले गाउँ ठाउँका मानिसले भन्ने गरेको राम्रो सडक सुविधा चाहिन्छ भन्ने भाष्यलाई उठाएका छैनन्। बरु उनले अन्तर्वार्ता लिएका राजु विष्टले भनेका छन्, “हामी कुनै जनावर हौं कि झैं गरी विदेशी हेर्न आउने चिडियाघर हो र मुस्ताङ? हामीलाई पनि प्रगति चाहिएको छ। हामीलाई चाहिने उन्नत जीवनशैली र समृद्धि सडकसँगै आउँछ।”
तर, हिनत्सेको चिन्ता सडकले नेपाली प्राकृतिक अवस्था तथा सांस्कृतिक परिवेशलाई विकृत पारिरहेकोमा छ। हिमाली क्षेत्रको जैविक विविधतालाई सडक सञ्जाल बनाउने होडले खण्डित गरिरहेको उनको ठहर छ।
आफ्नो यात्राका क्रममा हिनत्सेले डोल्पो र डोल्पोबासीसँग आत्मियता विकास गरे। डोल्पो अझै पनि अलग्गै रहेको र नछोइएको जिल्ला हो, तर यसलाई उत्तर र दक्षिण तिरबाट वैश्विक प्रभावले च्याप्दै ल्याउन थालेको छ।
ग्रेट हिमालयको यात्रा पार गरेको दश वर्षपछि यस पुस्तकले आफ्नो शब्द तथा तस्वीरमार्फत हिमाली क्षेत्रमा भएको परिवर्तनलाई बुझाउँछ।
यो पुस्तकले कुनै अन्तर्राष्ट्रिय प्रकाशन पाएर विश्वमा विस्तार हुने मौका पायो भने समग्र हिमालय क्षेत्रको संरक्षणमा टेवा पुग्नेछ।
पुस्तकमा हिमालय पदमार्गको विवरण र सुझाव उच्छुक यात्रीलाई उपयोग हुने गरी प्रस्तुत गरिएको छ। एक हजार ८६४ किलोमिटरको यस मार्गले ९५ हजार ५५१ मिटर उकालोलाई समेट्छ, जसमा पाँच हजार मिटर उचाइ माथिका १२ पास र चार हजार मिटरमाथिका २२ पास पर्छन्।
पदमार्गको सबभन्दा उचाइमा पाँच हजार ७५८ मिटर र सबभन्दा कम उचाइमा ३०३ मिटरको भूभाग पर्छन्। नेपाल, पूर्व, पश्चिम, उत्तर, दक्षिणमा मात्र नभई तल र माथि पनि फैलिएको छ भन्ने कथनलाई यस यात्रा मार्गले पुष्टि गर्ने आधार दिएको छ।
नेपाली टाइम्समा प्रकाशित यो लेखलाई अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुस्।