‘सबै प्रस्ताव स्थगन गरेर संसद्को छलफल रासायनिक मलमा केन्द्रित गरौं’
किसानले रासायनिक मल नपाउँदासम्म संसद्को अन्य छलफल स्थगन गर्न नेकपा (एमाले) ले प्रस्ताव गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले जेठ २९ गते संघीय संसद्मा ‘स्थगन प्रस्तावको सूचना’ दर्ता गराएका हुन्। “...प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगन प्रस्तावको सूचना दिएका छौं,” सचिवालयमा दर्ता प्रस्तावमा भनिएको छ।
रासायनिक मललाई अत्यावश्यक वस्तुमा परिभाषित गर्ने गरी कानून बनाउनुपर्ने एमाले सांसदको ठहर छ। सरकारले भारतसँग जीटूजी माध्यमबाट भए पनि तत्काल मल खरीद गर्नुपर्ने र दिर्घकालीन समाधानका लागि नेपालमै मल कारखाना खोल्नुपर्ने उनीहरूको माग छ।
स्थगन सूचनामा एमाले प्रमुख सचेतक भट्टराई, कृष्णभक्त पोखरेल, यज्ञ सुनुवार, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ, नारायण खतिवडा, झपट रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन्।