हजुरआमाको ‘बुलेट’ यात्रा
बुलेट मोटरसाइकलमा दौडिने पुष्पलता आचार्य हरेक महिलाले आफू भएको ठाउँबाट एक कदम माथि उठ्नुपर्ने बताउँछिन् ।
३८० सीसीको बुलेट मोटरसाइकलमा पुष्पलता आचार्य (६१) आउँदै गरेको युट्युब हेरेर थाहा पाएका उनका प्रशंसकहरूले १२—२६ जेठमा उनलाई काठमाडौं—दिल्ली—काठमाडौं गर्दा दुई दर्जन भन्दाबढी ठाउँमा स्वागत र सम्मान गरे ।
१४ दिनको यात्राका हरेक बिसौनीमा बुलेट हजुरआमासँग उभिएर फोटो खिचाउनेहरू जम्मा भएका हुन्थे । यसपालि छोरो अन्दिप र उसका साथीहरूसँग उनले बुलेटमा ३२०० किलोमिटर यात्रा गरिन् ।
त्यसक्रममा उनले एकैदिन दिल्लीदेखि आग्रा हुँदै लखनऊसम्मको ७०० किलोमिटर बुलेट दौडाइन् । हरेक दिन उनी कम्तीमा ४०० किलोमिटर दौडिन्थिन् ।
समूहमा रहेका छोरा र छोराका साथीहरूसँग साँझमा बास बस्ने ठाउँमा मात्र भेट हुन्थ्यो । अब मेची–महाकाली मोटरसाइकल यात्राको तयारीमा रहेकी उनी सकेसम्म एक्लै यात्रा गर्न रुचाउँछिन् । भन्छिन्, “एक्लै निष्फिक्री दौडिँदाको मजै बेग्लै !”
मोटरसाइकल सवारी पुष्पलताको सोख हो । २०४५ सालमा उनले दुईपांग्रे र चारपांग्रे हाँक्न सिकिसकेकी थिइन् । २०५४ सालमा उनी काठमाडौंमा आरएक्समा दौडिन्थिन् । त्यसपछि तीनवटा स्कुटी फटाइन् ।
बुलेट भने उनले २०७५ सालमा ६ लाखमा किनेकी हुन् । बुलेट हेभी भएकाले रोक्दा भने अचेल उनलाई केही कठिन हुन्छ । तीन नातिनातिनाकी हजुरआमा अर्काले हाँकेको मोटरसाइकलमा चढ्न मन पराउँदिनन् । उनी श्रीमानलाई पनि पछाडि राखेर आफू मोटरसाइकल कुदाउँथिन् ।
२०५९ सालमा श्रीमान् आत्मराम आचार्यको निधन हुँदा पुष्पलताले आशौच बारेको केही दिन नबित्दै रातो पहिरन लगाइन् । कतिपयले पुष्पलताको कुरा काटे पनि । विधवाले रातो पहिरन लगाएको यो घटनाले ठूलो चर्चा पाएको थियो।
त्यसपछि उनी मोटरसाइकलमा गाउँबस्ती चहार्ने क्रम बढाइन् । उनी जहाँजहाँ पुग्छिन्, त्यहाँ उनलाई प्रेरणाको रूपमा स्वागत गर्ने महिला जम्मा भएका हुन्थे ।
उनी मोटसाइकल लिएर काठमाडौंदेखि लमजुङको रम्घास्थित माइतीघर मात्र होइन, मेचीदेखि महाकालीसम्मका ५० जिल्ला पुगेकी छिन् । विद्यालयलाई पुस्तक वितरण गर्दै एउटा जागरणको स्वर लिएर उनी हरेक फुर्सदको समय यसरी घुमिरहेकी छिन् ।
विधवाले पनि आफ्नो मर्जीले बाँच्न पाउनुपर्छ भन्ने उनको आग्रह हुन्छ । भन्छिन्, “हरेकपटक म महिलाले एकस्टेप माथि उठ्नुपर्छ भन्ने सन्देश लिएर दौडिरहेकी हुन्छु ।”