भक्तप्रसाद भ्यागुतोको २५ वर्षे यात्रा
नेपालीमा लेखिएको बालसाहित्य पुस्तक धुमधामको घुमघाम २५ वर्षमा २३ भाषामा अनुवाद भएको छ।
यो पुस्तक प्रकाशन भएको २५ वर्ष पुगेको अवसरमा ललितपुरमा आइतबार आयोजित कार्यक्रममा यसका पात्र भक्तप्रसाद भ्यागुतोसँगै बालसाहित्यबारे चर्चा भएको छ।
कार्यक्रममा लेखक भिक्टर प्रधानले बालसाहित्यको इतिहास केलाए। उनले १९९५ सालअघि नेपालमा खासै बालसाहित्यका पुस्तक प्रकाशन नभएको बताए। पछि महाकवि लक्ष्मीप्रसाद देवकोटाले बालसाहित्य पुस्तक भनेर राजकुमार प्रभाकर ल्याएका थिए।
त्यसको भाषा बालबालिकाले बुझ्नै नसक्ने भएपछि महाकवि देवकोटाले भाषा र सन्दर्भमा सुधार गर्दै पुतली जस्ता सरस बालसाहित्यका पुस्तक लेखेको प्रधानले बताए। “२०२० र २०३० सालसम्म लोककथा नै बालकथाको दर्शन बन्यो,” प्रधानले भने, “२०४० को दशकमा आइपुग्दा सामाजिक अवस्था बदलिएपछि एकैनासका कथा र ठाडो नैतिक शिक्षा बालसाहित्यमा देखियो।”
यस्ता समस्याबाट नेपाली भाषाको बालसाहित्य गुज्रिरहेको वेला लेखक एवं पत्रकार कनकमणि दीक्षितको धुमधामको घुमघाम आएको लेखक प्रधानले उल्लेख गरे। २०५० को दशकमा दीक्षितले लेखेको धुमधामको घुमघामले बालसाहित्यमा नयाँ क्षितिज देखाएको प्रधानको भनाइ छ। “यसले इतिहास, भूगोल र संस्कृतिको रसपान गरायो,” उनले भने।
कार्यक्रममा बोल्दै प्रकाशक रातो बंगला किताबकी सह-संस्थापक मिलन दीक्षितले यो पुस्तक संसारभर रुचाइनुमा बालसाहित्यमा तथ्य मिसाउन सक्नु भएको बताइन्। “कौतूहलयुक्त पात्र भत्तबहादुर भ्यागुतो, सत्यतथ्य, संरचनात्मक प्लट र उत्कृष्ट अन्त्यले बालबालिकाको मन खिचेको छ,” दीक्षितको भनाइ थियो।
त्यस्तै, कलाकार एवं लेखक मदनकृष्ण श्रेष्ठले पहिलो पटक यो पुस्तक पढ्दा अचम्म लागेको बताए। प्रमुख पात्र मानिस नभएर जीव भएको पहिलो पुस्तक पढ्दा रमाइलो लागेको उनले सुनाए।
यो पुस्तक पढ्दै जाँदा भक्तप्रसाद भ्यागुतो लेखक दीक्षित जस्तै लागेको बताउँदै श्रेष्ठले भने, “वास्तवमा पर्यटक भ्यागुतो नेपाल घुमेको हो। यसले नेपालको विभिन्न स्थानबारे रोचक शैलीमा परिचय दिएको छ।”
संस्कृतज्ञ तथा कलैतिहासिक गौतमवज्र वज्राचार्यले यस पुस्तकले बालबालिकालाई नेपालको भूगोलबारे पर्याप्त जानकारी दिने बताए। अमेरिकामा रहेका उनले भिडिओ सम्बोधन मार्फत भने, “सबैभन्दा बढी बालबालिकालाई भूगोल, मौसम र संस्कृति सिकाउने भक्तप्रसाद पात्र सहफ छनोट हो।”
लेखक दीक्षितले पुस्तकको रचनागर्भ खाेतल्दै बालबालिकालाई नेपाल बुझाउने पर्याप्त पुस्तक नभएकाले धुमधामको घुमघाम जन्मिएको बताए।
शिक्षक कल्पना पराजुलीसँगको संवादमा लेखक दीक्षितले भने, “बालबालिकाका लागि किताब अझै आउनुपर्छ। काठमाडौं विशेष मात्र नभएर कैलाली, ओलाङचुङगोला लगायत आफ्नै विविधता र शैली भन्ने साहित्य आउनुपर्छ। जसले बालबालिकालाई आफ्नो भूगोलबारे बताउन सकोस्।”
नेपाल भौगोलिक रूपमा विविधतायुक्त भएकाले बालबालिकालाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो। आफू १६ वर्षको उमेरदेखि नै ट्रेकिङमा निस्किँदा बटुलेको अनुभव उपयोगी भएको सुनाउँदै लेखक दीक्षितले भने, “आज पनि भक्तप्रसाद भ्यागुतो पात्र ट्रेकिङमा निस्कँदा धेरै परिवर्तन त नदेख्ला, तर उसले उफ्रेका बाटाहरू मोटर बाटो भएको पाउन सक्छ।”