योजना आयोग त कमिसन माग्ने मात्रै भयो: सांसद महत
गाउँमा योजना पार्नका लागि राष्ट्रिय योजना आयोगले कमिसन माग्ने गरेको सांसद गजेन्द्र महतले आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले योजना आयोगलाई सुधार्न जरुरी रहेको बताए। यसअघि कर्णालीमा योजना माग गर्नका लागि जाँदा आयोगले कमिसन मागेको उनले बताए।
“योजना आयोग त कमिसन माग्ने मात्रै भयो,” सांसद महतले भने, “पाँच लाख दियो भने पाँच करोड पठाउने, एक लाख दियो भने एक करोडको योजना पठाउने गरेको छ।”
अहिले बजेटमा पनि मन्त्रीहरूका क्षेत्रमा मात्रै बजेट गएको उनले गुनासो गरे। कर्णाली लगायतका अन्य दुर्गम क्षेत्रमा विकास निर्माणका योजनामा प्रयाप्त बजेट नछुट्याइएको उनले बताए।
त्यस्तै, सांसद महतले बिरामीको उपचारका लागि सहयोग गुर्नपर्ने बताए। “कर्मचारीको तलबभत्ता साउन १ गतेबाटै वृद्धि हुन्छ, बिरामीले पनि साउन १ गतेबाटै उपचार खर्च पाउने व्यवस्था गर्नुपर्छ,” उनले भने। सरकारले दीर्घरोग लागेका बिरामीले उपचार सहयोग गर्दै आएको छ।
सांसद महतले बिरामीलाई आउनेजाने खर्चको पनि व्यवस्था गर्न माग गरे। दुर्गम क्षेत्रबाट उपचार गर्न काठमाडौं आउँदा थुप्रो खर्च हुने गरेको बाटो खर्च दिनुपर्ने उनको भनाइ थियो।