द्वन्द्वले विस्थापित शिक्षकको ७० लाखको अल्लो उद्योग
सुरक्षाकर्मी र माओवादीको केरकार खप्न नसक्दा शिक्षण पेशा छोडेर हातमुख जोड्न प्रेमकुमारी पुनले शुरू गरेको अल्लोका सरसामान उत्पादन गर्ने उद्योगको लगानी ७० लाख पुगेको छ।
प्रेमकुमारी पुन कक्षा कोठामा प्रवेश गर्दा रोल्पाको लामिडाँडास्थित भानुभक्त प्राविका विद्यार्थी रमाउँथे। मन लगाएर पढ्थे। उनी पनि निकै मेहेनत गरेर पढाउँथिन।
तर, एकाएक उनले शिक्षण पेशा नै छोड्नुपर्ने भयो। अझ गाउँ नै छोड्नु पर्यो। त्यसको कारण थियो, माओवादी सशस्त्र द्वन्द्व।
“सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको वेला थियो, त्याे। कहिले माओवादी आउँथे त कहिले सुरक्षाकर्मी,” प्रेमकुमारी सम्झिन्छन्, “जताततै बम, बारूद र गोली त चल्थ्यो नै सेना र माओवादीले केरकार र निगरानी गर्थे।”
त्यसपछि उनी स्कूलसँगै रोल्पाको परिवर्तन गाउँपालिका-५, राङकोट गाउँ छोडेर दाङको घोराही झरिन्।
आफूलाई मन परेकाे शिक्षण चटट्कै छोडेर घोराही झरेपछि उनकाे ज्यान त सुरक्षित भयो, तर पेट पाल्न मुस्किल भयो। परिवारका सबैकाे बिहान-बेलुको जोहो गर्नुपर्थ्यो। “सिलाइ कटाइ तालिम लिएर जीविकोपार्जन गर्ने निधो गरेँ,” उनी भन्छिन्।
त्यसपछि उनी सिलाइ कटाइ केन्द्र पुगिन्। तर, सञ्चालक उनलाई तालिमका लागि भर्ना गर्न हिच्किचाए। शिक्षकको जागिर छोडेर आएकी उनले सिलाइ कटाइको काम गर्न सक्दिन भनेर भर्ना लिन मानेनन्। त्यसपछि प्रेमकुमारीले भनेकी थिइन्, “सकूँला वा नसकूँला, त्यो मेरो कुरा हो। म सित्तैमा त सिक्दैन, पैसा तिर्छु। त्यो पनि मेरो खर्च हुन्छ, तपाईंको त हुँदैन नि!”
त्यसपछि उनलाई भर्ना गरियो। उनले सिलाइ कटाइ तालिममा पनि उस्तै गरी ध्यान दिइन्, जसरी विद्यार्थी पढाउन कक्षाकोठामा ध्यान दिन्थिन्। “मैले सबैभन्दा उत्कृष्ट प्रशिक्षार्थी भएर तालिम पूरा गरें,” प्रेमकुमारी भन्छिन्।
तालिममा उत्कृष्ट भए पनि त्यसैलाई रोजगारीको माध्यम बनाउन उनको मनले मानेन। अरुको पसलमा काम गर्नुभन्दा आफैं उद्यम गर्ने योजना बनाइन्। “सानो छँदा आमासँग अल्लोको लुगा बुन्ने सीप सिकेकी थिएँ। त्यसैलाई निरन्तरता दिने योजना बनाएँ,” उनी भन्छिन्।
त्यसपछि चिनारी महिला साझेदारी समूह उद्योगको नाममा दाङको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराइन्। अनि अल्लो संकलनमा जुटिन्। गृहजिल्ला रोल्पासँगै रुकुम, डोटी, अछामबाट अल्लो मगाउन थालिन्। त्यही अल्लोबाट इस्ट-कोट, टोपी, क्याप, झोला, जुत्ता उत्पादन हुन थाले।
“पहिले त यस्तो खस्रो-खस्रो के बनाएको हो, यस्तो पनि कसले लगाउछ भन्थे,” उनी शुरुआती दिन सम्झिँदै भन्छिन्, “एक पटक लगाएर हेर्नुहोस्, त्यसपछि के हुन्छ अनि भन्नुहोला भन्ने जवाफ दिन्थेँ।”
उनले अल्लोबाट बनाएको एउटा इस्ट-कोट र टोपी जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका अधिकृतलाई दिइन्। शुरुआतमा त उनले लगाउन मानेनन्, तर प्रेमकुमारीले जिद्दी गरेपछि लिए। “केही दिनपछि त पसलमा आएर अर्को जोर पनि किनेर लगे,” उनी भन्छिन्, “गर्मीको समयमा निकै शितलता दिने, टाउको दुख्नेलाई पनि कम गर्यो भन्दै उहाँले अरुभन्दा यो लगाउँदा फरकपन पाएको अनुभूति सुनाउनुभयो।”
त्यसपछि त विस्तारै अल्लोको बजार बढ्दै गयो। जिल्ला हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको उनी सुनाउँछिन्। “अल्लोबाट उत्पादन भएका कपडा गर्मी र जाडो दुवै मौसमका लागि अति उपयुक्त भएकाले पनि यसको माग एकाएक बढ्यो,” प्रेमकुमारी भन्छिन्, “नेपालमा मात्र नभई जापान, बेलायत, अमेरिकाबाट पनि माग आउने गरेको छ।”
उनको उद्योगमा अहिले ७० लाखको लगानी छ। दैनिक पाँच हजारदेखि २० हजारसम्म ब्यापार हुने गरेको प्रेमकुमारी बताउँछिन्। “कोरोना आउनुअघि त अझ राम्रो थियो, २५० जनालाई रोजगारी दिएकी थिएँ,” उनी भन्छिन्।
कोभिड-१९ महामारीले उनको व्यवसाय पनि प्रभावित भयो। विशेष गरेर पर्यटकले अल्लोका कपडा किन्ने गर्थे। तर, कोरोनाका कारण गरिएको बन्दाबन्दीले आन्तरिक तथा वाह्य पर्यटकको आगमन ठप्प भयो। जसले गर्दा व्यापार हुन नसकेको उनी सुनाउँछिन्।
कोरोना संक्रमण कम भएसँगै फेरि लयमा फर्किन थालेको उनले सुनाइन्। पहिले जस्तै नभए पनि अहिले १२ जनाले काम गरिरहेका छन्। विस्तारै बढ्दै जाने उनको विश्वास छ।
अल्लोको उद्योगबाट आर्थिक उपार्जन त गरेकी छन् नै सम्मान, पुरस्कार पनि पाएकी छन्। जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार र सम्मान पाएकी छन्।
अल्लोकै कारण प्रेमकुमारी देशको उत्कृष्ट उद्यमी भएकी छन्। सयौंको संख्यामा उनले सम्मानपत्र पाएकी छन्। चार वर्षअघि घरेलु तथा साना उद्योग विकास समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि पदर्शनीमा सर्वोत्कृष्ट उद्यमीको पुरस्कार पाएकी थिइन्।
पुरस्कार, सम्मानसँगै अहिलेसम्म हासिल गरेको उपलब्धिबाट खुशी त छन् नै राज्यले पनि उद्यम प्रवर्द्धनमा सघाउनुपर्ने उनी बताउँछिन्। “उद्यम गर्ने योजना त छ हुन्छ, तर सबैसँग पुँजी हुँदैन‚” प्रेमकुमारीले भनिन्‚ “त्यस्तैले राज्यले उद्यम गर्ने महिलालाई धितोविना सस्तो ब्याजमा ऋण दिने व्यवस्था गर्नुपर्छ।” यसले एकातिर महिला आत्मनिर्भर बन्नेछन् भने अर्कातिर गाउँघरमै रोजगारी सिर्जना हुनेछ।