नसीरुद्दीन शाह भन्छन्- अहिले शान्ति र एकताको कुरा गर्दा पनि जेल जानुपर्छ
पैगम्बर मोहम्मदमाथि भाजपाका दुई पदाधिकारीको टिप्पणीले देशभर प्रदर्शन भइरहँदा अभिनेता नसीरुद्दीन शाहले एक दिन मानिसले सत्य बुझ्ने र मुसलमान विरुद्धको ‘घृणाको श्रृङ्ंखला’ समाप्त हुने आशा व्यक्त गरेका छन्।
अभिनेता शाहले बलिउडका तीन खान- सलमान, शाहरुख र आमिर खानलाई विशेषा जोड दिँदै पैगम्बर मोहम्मदबारे भाजपा प्रवक्ता नुपूर शर्माको हालैको टिप्पणीमाथि फिल्म उद्योगले साँधेको मौनतालाई उजागर गरेका छन्।
एनडीटीभीको एक साक्षात्कार कार्यक्रममा बोल्दै शाहले देशका सबभन्दा ठूला कलाकारले यदि कुनै विषयमा वक्तव्य दिएमा धेरै कुरा गुमाउनुपर्ने अनुमान गरे। उनले ‘छद्म देशभक्ति’ माथि बनेको सिनेमाका रुपमा वर्णित ‘द कश्मीर फाइल्स’ माथि पनि टिप्पणी गरेका छन्।
कयौं राष्ट्रिय फिल्म पुरस्कार जितिसकेका शाहले समाचार च्यानलमा दिएको साक्षात्कारमा प्रधानमन्त्री मोदीलाई यस विषयमा हस्तक्षेप गर्न तथा ‘विषयलाई अनावश्यक रुपमा फैलनबाट रोक्न’ आग्रह गरेका छन्।
स्मरण रहोस्, पैगम्बर मोहम्मदमाथि गरिएको टिप्पणीका लागि भाजपाले गत जुन ५ तारिखमा आफ्नो राष्ट्रिय प्रवक्ता नुपूर शर्मालाई निलम्बित गरेका छ। त्यस्तै, भाजपाले दिल्ली एकाइका प्रवक्ता नवीन जिन्दललाई पनि निष्कासन गरेको छ।
पैगम्बर मोहम्मदका विरुद्ध दिइएको उनीहरूका अभिव्यक्तिको धेरै देशले विरोध गरेका छन्। भारतका विभिन्न राज्यमा पनि प्रदर्शन चलिरहेको छ।
अभिनेता शाहले भने, “भारत सरकारले जुन कारबाही गर्यो त्यो साह्रै कम थियो र साह्रै ढिलो गरी आयो।”
पैगम्बर महोम्मदमाथि आस्था राख्ने लाखौं व्यक्तिले भोगेको पीडामाथि कसैले ध्यान नदिएको उनको भनाइ छ। “पाकिस्तान, बाङ्लादेश वा अफगानिस्तान जसलाई हामी कुनै दिन अखण्ड भारतमा समावेश गर्ने इच्छा राखिरहेका छौं, ती देशमा यस्तो अभिव्यक्तिको अर्थ मृत्युदण्ड हुन्छ। किनभने त्यस्ता अभिव्यक्तिलाई भगवानमाथिको निन्दाको रुपमा लिइन्छ,” शाहले भनेका छन्, “भारतमा शीर्षस्थानमा बस्नेहरू केही बोलेनन् र आस्था राख्ने लाखौं व्यक्तिले भोगेको पीडामाथि कसैले ध्यान पुगेको छैन।”
सत्तारुढ दलले निलम्बित गरिएपछि शर्माले ‘बिना शर्त’ माफी मागेको विषयलाई शाहले पाखण्ड भनेका छन्। “आहत भावनालाई शान्त गर्नु शायदै त्यसको उद्देश्य थियो। यदि घृणा फैलाउने यस्तो कुरा फेरि गरियो भने पनि मलाई कुनै आश्चर्य लाग्दैन। विडम्बनाको कुरा के हो भने यहाँ शान्ति र एकताको कुरा गर्दा वर्ष दिनभित्रै जेल जानुपर्छ। नरसंहारको कुरा गर्दा सामान्य कारबाही हुनेछ,” कलाकार शाहले भने, “यहाँ दोहोरो मापदण्ड अपनाउने गरिएको छ। यो जर्ज अर्वेलको उपन्यास ‘सन् १९८४’ को दृश्य जस्तै हो।”
जर्ज अर्वेलले आफ्नो उपन्यास ‘सन् १९८४’ मा दोहोरो सोचको ‘एक दिमागमा दुई परस्पर विरोधाभासी विचारलाई एकैपटक विश्वास गर्ने’ दृश्य चित्रित गरेका छन्।
भाजपाले नुपूर शर्मालाई ‘गलत तत्व’ बताउँदै उनको टिप्पणीबाट आफूलाई अलग राख्दै उनको विचारले पार्टीको प्रतिनिधित्व नगर्ने बताएको थियो। शाहको मान्यता के छ भने भाजपाले दाबी गरेजस्तो शर्माको अभिव्यक्ति सीमान्त होइन।
समझदार हिन्दू मुस्लिम समुदायविरुद्ध भएका घृणाका विरुद्ध बोल्ने समय आएको उनको बुझाइ छ। ‘घृणा फैलाउने’ काममा टिभी च्यानल तथा सामाजिक सञ्जाल ‘जिम्मेवार’ भएको उनको आरोप छ।
शाहले वाराणसीको ज्ञानवापी मस्जिद परिसर घटनाको उल्लेख गर्दै भनेका छन्, “यो सिर्जित घृणा हो। यो एक हिसाबले विष सरह हो। यो तब ओकलिन्छ जब तपाईंको सामना कुनै विपरीत सोच भएको व्यक्तिसँग हुन्छ। मलाई लाग्छ त्यो समय धेरै टाढा छैन, जब हर गिर्जाघरको मुनी शिवलिंग खोज्न शुरू गरिनेछ।”
यद्यपि अभिनेता शाहले नुपूर शर्मा र उनको परिवारलाई ज्यान मार्ने धम्की आएकोमा निन्दा गरेका छन्। “यो गलत बाटो हो। त्यसैले त अफगानिस्तान र पाकिस्तानमा अजारजकता छ। हामीले ती देशको अनुकरण गर्नु जरुरी छैन, तर के हामी जानेर नजानेर यसो गर्र्दैछौं कि? केबल गोबधमा मात्र होइन, गोबधको सन्देहमा नै मानिसलाई पिटीपिटी मारिएको छ,” उनले भनेका छन्, “मृत गाईको छाला झिक्ने समुदाय जसलाई अछुत भनिने गरिन्छ, तिनलाई सार्वजनिक स्थलमा कोर्रा लगाइन्छ। भारतमा यस्तो हुँदैनथ्यो, बरु बर्बर इस्लामिक देशमा त्यस्तो हुन्थ्यो।”
के आज सलमान, शाहरुख र आमिर खानले आफ्नो विचार राख्न सक्छन् भन्ने प्रश्नमा अभिनेता शाहले आफूले तीनको बारेमा भन्न नसक्ने बताए। शाहले भने, “म उनीहरूको तर्फबाट बोल्न सक्दिनँ। उनीहरु जुन स्थितिमा छन्, म त्यो स्थितिमा छैन। मलाई लाग्छ उनीहरूलाई बोल्दा ठूलो जोखिम होला भन्ने डर हुन्छ। किनभने उनीहरूले धेरै गुमाउनु पर्ने हुनसक्छ।”
उनले शाहरुख खानको प्रशंसा गर्दै छोरो आर्यन खान लागू पदार्थको घटनामा फसेका वेला मिडियालाई सालिनतासँग सम्हालेको बताए। उनले बन्दाबन्दीको वेला अभिनेता सोनु शूदले मानिस लाई निकै सहयोग गरेकोमा उनको सराहना गर्नुको सट्टा उनको घरमा छापा मारिनु दुःखद भएको बताए।
अभिनेता शाहले के पनि भनेका छन्, “जो कोहीले पनि जब केही वक्तव्य दिन्छन् तब केही न केही प्रतिक्रिया आउँछ नै। शायद म चाहिँ अलि फरक छु।”
अभिनेता शाहले ती अभिनेता तथा फिल्म निर्माताको बारेमा पनि कुरा गरे जसले राष्ट्रवादी भनिएका फिल्ममा संलग्न थिए। अक्षय कुमारको ‘राष्ट्रवादी’ भनिएको फिल्म ‘सम्राट पृथ्वीराज’ तथा विवेक अग्निहोत्रीको ब्लकबस्टर फिल्म ‘द कश्मीर फाइल्स’ को बारेमा सोध्दा उनले भने, “उनीहरू जित्नेको पक्षमा रहन चाहन्छन्।”
अभिनेता शाहले ‘द कश्मीर फाइल्स’ लाई ‘कश्मीरी हिन्दूको पीडाको लगभग काल्पनिक संस्करण’ भनेका छन्। अभिनेता शाहले सरकार ती समुदायको सुरक्षा र पुनर्वासको सुनिश्चित गर्नु भन्दा यस समस्यालाई बढाउने काम गरिरहेको गुनासो गरेका छन्।
उनले भने, “म चाहन्छु मानिस ले सही कुरा बुझून्, तर दुःखको कुरा के छ भने त्यो निकट भविष्यमै होला जस्तो लाग्दैन। घृणाको यो लहर एक न एक दिन समाप्त हुन्छ नै। हुन सक्छ यो मेरो जीवनकालमा नहोला, तर पनि यो लहर एक दिन नास हुनेछ।”