अनाथालयकी बालिका बलात्कारको आरोपमा अध्यक्ष र सचिव पक्राउ
बालिका बलात्कारको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले बताए। कवीन्द्र नेपाल विद्युत् प्राधिकरण कार्यालय, इलाममा कार्यरत रहेको जनाइएको छ।
त्यस्तै, अनाथालयका अध्यक्ष राजेन्द्र चौहान पनि पक्राउ परेको श्रेष्ठले बताए। उनीमाथि समेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कवीन्द्रलाई बिहीबार नै पक्राउ गरिएको थियो। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताए।
राजेन्द्रका विषयमा भने प्रहरीले केही खुलाएको छैन। अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)