सिङ्गापुरको शयर
केही दशकअघि नेपालमा जस्तै भ्रष्टाचार, बेरोजगारी, बेथितिले गाँजेको सिङ्गापुरले यसरी फड्को मारेको छ की अहिले सिङ्गापुरलाई चिन्न ‘जमीनबाट हैन, आकाशबाट हेर्नुपर्छ’ भन्ने भनाइ प्रचलित छ।
विनय शेखर
सिङ्गापुरको चाङ्गी विमानस्थलबाट बाहिर निस्कँदा झमक्क साँझ परिसकेको थियो। नेपालमा भने झमक्स साँझ पर्दा बजार व्यवसाय बन्द हुन थाल्छन्। सार्वजनिक यातायात पातलिँदै जान्छ। मानिस घर पुग्न हतारिन्छन्।
हवाई यात्रामार्फत तीन हजार ६६३ किलोमिटर पार गरेर जेठ १३ गते साँझ पूर्वको सिङ्गापुरमा ओर्लिदा चहलपहल बाक्लिै थियो। विमानस्थल, सपिङ मल, रेस्टुरेन्ट, पार्क तथा सार्वजनिक स्थानमा मानिस खचाखच देखिन्थे। सडकमा गाडीको लर्को थियो। पहिलोपटक सिङ्गापुर पुग्नेहरू चिल्ला सडक, गगनचुम्बी भवन, विशाल सपिङ मल र सडकको दुवैतर्फ देखिने हरियालीले मन्त्रमुग्ध जस्ता देखिन्थे।
कोभिड-१९ को महामारीपछि सिङ्गापुरमा चहलपहल बढेको छ। १ मे यता विमान, विमानस्थल, होटलका रिसेप्सन, सार्वजनिक यातायात र सपिङ मलमा बाहेक सिङ्गापुरमा मास्कको प्रयोग खुकुलो गरिएको छ। कोभिड आतंक नबिर्सन र कोभिडसँग नतर्सिन अनि फेरी कोभिडको नयाँ लहर नफैलियोस् भनेर मास्क लाउन प्रेरित गरिए पनि संक्रमणबाट जोगिने सावधानीका अन्य उपाय अपनाएको छ÷छैन भन्ने कुरा स्थानीय प्रशासनले सम्बन्धित व्यक्तिको तजबीजीमा छोडेको पाइयो।
किनभने ‘लिभिङ विद पेन्डामिक’का लागि सिङ्गापुर पूर्ण रुपमा तयार छ भन्ने सन्देश दिन चाहान्छ। विदेशी पर्यटक तान्न र आफ्ना नागरिकलाई घर बाहिर निकाली व्यापार व्यवसाय उकास्न सिङ्गापुर दिनदिनै खुकुलो पार्दै गएको छ।
मध्यरातसम्मै मेट्रो स्टेशनको भीड, मोनोरेल पर्खिबसेको लामो लाइन, दुई तले बसमा खचाखच यात्रुले शहरी दैनिकी पूरानै लयमा फर्किन लागेको बुझ्न सकिन्थ्यो। गार्डेन वाइ द वे, सुपरट्रीज ग्रोभ, मेरिना वे, सेन्टोसा, सि एक्वाइरियम, युनिभर्सल स्टुडियो वरपरका भीड र सिसिलो बिचमा पहिले नै बुक गरिएका, भरिएका, वालुवामा पाहा पसारिएझै सनडेट गरिरहेका पर्यटक देख्दा लाग्थ्यो सिङ्गापुरबाट कोभिड महामरी भागि सकेको छ।
तस्वीरहरू: विनय शेखर
जम्माजम्मी ७२८.६ बर्गकिलोमिटर क्षेत्रफलको सिङ्गापुरको अर्थतन्त्र एशियामा जापान पछिको बलियो अर्थतन्त्रमा गनिन्छ। सानो भए पनि यो देशको जीवनयापन महंगो छ। यो देशको क्षेत्रफल बढ्नुको पछाडि पूराना घर तथा अन्य भौतिक संरचना भत्काउँदा निस्किएको अवशेस आफ्नो क्षेत्रफलभित्रको समुद्रमा थन्क्याइ बनेका नयाँ टापु पनि हुन्।
सिमित जमीन भएको सिङ्गापुर चिन्नलाई जमीनबाट हैन, आकाशबाट हेर्नुपर्छ भन्ने भनाई यहाँ यस कारण लोकप्रीय छ की ६० लाख जनसंख्या पुर्याउँदा उनीहरूको बसोबासको लागि नयाँ जग्गामा आवास बनाउनुको साटो अग्लाअग्ला सयौं तलालका अपार्टमेन्टहरु बन्छन्। ताकी कोही पनि घरबारबिहीन नहोस्। गरिब र निमुखाका लागि सरकारले नै सहुलियत दरमा आवासको व्यवस्था गरेको छ।
हवाई मार्गबाट सिङ्गापुर जान नेपालीका लागि महंगो छ। महंगो भाडा तिर्न सक्नेका लागि समेत सिङ्गापुर एअरलाइन्सको टिकट पाउन मुस्किल रहेछ। अस्ट्रेलिया र जापान जाने नेपाली तथा विदेशी सिङ्गापुर भएर जान सजिलो मान्छन्। अनि फाट्टफुट्ट दक्षिणपूर्वी एशियाका विभिन्न देशमा पर्यटन तथा व्यवसायिक कामले जानेहरूले पनि सिङ्गापुरलाई पारवहन (ट्रान्जिट) बनाउन सहज ठान्दा रहेछन्। सिङ्गापुरको चुस्त र सजिलो भिसा नीति र हवाई यातायातको सहज पहुँचले विदेशीलाई निम्त्याइरहन्छ।

चाङ्गी विमानस्थललाई ट्रान्जिट पारेर अन्य मुलुक जान सजिलो हुने भएकाले सिङ्गापुरले विदेशी पर्यटक तान्न आफ्नो नीतिलाई १ मेबाठ पूर्णरुपमा सजिलो र खुकुलो पारेर हो। सिङ्गापुर प्रवेश गर्न कोभिडको पूर्ण खोप प्रमाणपत्र र पासपोर्ट भए पुग्छ। पूर्ण खोप कार्ड नि अनलाइनबाटै बुझाउँदा हुन्छ। अध्यागमनमा पासपोर्ट देखाउने र अधिकारीहरुले भने अनुसार फोटो खिचाउने बाहेक अरु झन्झट व्यहोर्नु पर्दैन।
अध्यागमनमा खटिने अधिकारी खोजीनीतिको साटो सहयोगी भएर प्रस्तुत हुन्छन्। अध्यागम कट्न नपाउँदै इमेलमा (भिजिटपास) प्रवेशाज्ञा आइसक्छ। छोटो अवधिका लागि ३० दिन वा विद्युतीय प्रवेशाज्ञामा खुलाएको अवधिभरी सिङ्गापुर घुम्न र व्यवसायिक काम गर्न पाइन्छ।
सिङ्गापुरका बासिन्दा र त्यहाँ बस्ने नेपालीका अनुसार कोभिड-१९ महामारीले सिङ्गापुरको अर्थतन्त्र धर्मराएको थियो। विदेशी प्रवेशलाई सहज बनाएर पर्यटकीय गतिबिधि उकास्न र कोभिड महामारीको क्षति शोधभर्ना गर्न सिङ्गापुर आक्रामक रुपमा अघि बढेको छ। फलस्वरुप लिटिल इन्डिया क्षेत्रमा दक्षिण भारतीय पर्यटक र सेन्टोसा, मरिना वे तथा अन्य क्षेत्रमा घुम्न पुगेका खचाखच विदेशी र स्थानीयको भीड बढ्न थालेको छ।

ठूल्ठूला व्यापारिक मल र फुड रिपब्लिकमा खचाखच हुने मानिस मास्कलाई बोझ मान्न थालेका छन्। मास्क नलाउनेलाई सुरक्षाकर्मीले पनि नदेखेजस्तो गर्दिन्छन् ताकी जनजीवन सहज होस् र सिङ्गापुर कोभिडभन्दा पहिलेको जस्तै लयमा फर्कियोस्।
सिङ्गापुरमा अहिले लि सिएन लुङ प्रधानमन्त्री छन्। उनी आधुनिक सिङ्गापुरका जन्मदाता लि कुआन युका जेठा छोरा हुन्। लि कुआन यु सिङ्गापुरका प्रथम प्रधानमन्त्री थिए। ३५ वर्षमा प्रधानमन्त्री भएका लीले ३१ वर्ष शासन चलाए।
ली सन् १९५९ मा सिङ्गापुरको प्रधानमन्त्री भएका थिए। त्यसको ६ वर्षपछि अर्थात सन् १९६५ मा मात्र सिङ्गापुर स्वतन्त्र देश भएको हो।
प्रधानमन्त्री हुँदा लीका अगाडि चुनौतीको पहाड थियो। अहिले नेपालमा जस्तै भ्रष्टाचार, बेरोजगारी, बेथिति, व्यवसाय तथा आयमुलक क्षेत्रमा न्युन लगानी, शिक्षा, स्वास्थ्य, संघसंस्था तथा समाजमा व्याप्त विकृति र विसंगतिबीच नागरिकका अपेक्षा असिमित थिए। तिनै चुनौतीलाई अवसरको रुपमा उपयोग गर्दै लीले आफ्नो शासनकालमा सिङ्गापुरलाई उन्नत मुलुक बनाएरै छोडे। अहिले सिङ्गापुरको आर्थिक वृद्धिदर झन्डै ६ प्रतिशत छ।

सन् २००१ मा २१ हजार डलर बराबरको प्रतिव्यक्ति आय बढेर अहिले ५९ हजार पाँच सय डलर पुगेको छ। लीले शासनसत्ता सम्हाल्दा प्रतिव्यक्ति आय ४४३ डलर थियो। अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर रहेको छ।
मुलुकको निरन्तर प्रगति हुनुमा उनै लीले बसालेका जगहरूले काम गरेका छन्। सक्षम, लगनशील र इमान्दार व्यक्तिहरू सरकारमा छन्। जसले लीले कोरेर छोडेको गोरेटोलाई राजमार्गको रुपमा बिस्तार गरिरहेका छन्।
लीले मुलुकको हैसियत बढाउन विदेशी लगानीलाई सजिलो पार्ने कर प्रणाली शुरू गरे। जसले मुलुकलाई औद्योगिकरणको युगमा प्रवेश गर्न सजिलो भयो। रोजगारी सिर्जना भयो। भूमि, श्रम र पुँजीगत स्रोतहरूमा राज्यले अनुशासित ढंगले लगाम कस्यो। न्यूनतम आवास कार्यक्रम मार्फत सार्वजनिक बसोबासलाई आकर्षक बनाए।

ली प्रधानमन्त्री हुँदा सिङ्गापुर भ्रष्टाचारले थला परेको थियो । तर, सत्ता सम्हालेको २१ वर्षमै अर्थात सन् १९८० सम्म आइपुग्दा लीको सरकारले भ्रष्टाचार गायब जस्तै पार्यो।
देशबाट भ्रष्टाचार गायव हुनुमा अपनाइएका धेरै उपायमध्ये एउटा उपाय रोचक थियो। आफ्ना मन्त्रीहरूको तलब देशमा सबभन्दा धेरै तलब खाने ब्यांक वा अन्य क्षेत्रका अधिकारीको भन्दा एक डलर भए पनि बढी हुनुपर्छ भन्ने लीको नीति थियो। लीबारे जानकारहरू भन्छन्- मन्त्रीहरूले नै भ्रष्टाचार नगरेपछि अरुले त्यसो गर्ने हिम्मत गरेनन् र यस्तो नीति अनुकूल ठहरियो।
पर्यटनलाई मुलुकको अर्थतन्त्रको प्रमुख आधार बनाइयो। लीले जल, स्थल र हवाइ मार्गबाट सिङ्गापुर प्रवेशलाई सजिलो बनाए। सञ्चारको विकास गरे। स्थानीय बासिन्दा भन्छन्- उनी कतिसम्म सुक्ष्म ढंगले सोच्ने र काम गर्ने गर्थे भने पर्यटन व्यवसायमा राम्रो गर्ने हो भने सार्वजनिक यातायात खासगरी ट्याक्सी सेवालाई बढी चुस्त र जिम्मेवार बनाउनुपर्छ। यसलाई नीजि क्षेत्रको एकलौटी माध्यम बनाइनु हुदैन। सरकार नियन्त्रित हुनुपर्छ। चालक भद्र र लगनशील हुनुपर्छ।

लीको यस्तै अवधारणाका कारण सिङ्गापुरमा ट्याक्सी चालक हुनलाई सिङ्गापुरकै नागरिक हुनुपर्छ। ३२ वर्ष नपुगी सवारी साधन चालक अनुमति पत्र पाइँदैन। युवा जनशक्ती अन्य श्रमक्षेत्रमा काम गर्न सक्छन्, तर ३२ वर्ष नपुगी ट्याक्सी चालक बन्न भने पाउँदैनन्।
सिङ्गापुरे मेहनती छन्। समय पालनमा पक्का छन्। युवा जनशक्ति मात्र हैन, ज्येष्ठ नागरिक समेत रोजगारमुलक व्यवसायमा काम गरिरहेका भेटिन्छन्। जसले ज्येष्ठ नागरिकलाई रोजगार दिन्छ, उसले व्यवसायमा कर छुट वा प्रोत्साहन भत्ता पाउँछ। ज्येष्ठ नागरिक काममा व्यस्त रहँदा उनीहरू छिट्टै रोगी पनि नहुने र स्वास्थ्य उपचार खर्च पनि जोगिने भएकाले उनीहरूको रोजगारीलाई सरकारले नै प्रोत्साहन र उत्प्रेरणा दिने गरेको छ।
सिङ्गापुरले भावी प्रधानमन्त्री पनि लगभग तय गरिसकेको छ। कुनै भवितब्य परेन भने ४९ वर्षीय लरेन्स वोङ्ग सिङ्गापुरका अबका प्रधानमन्त्री हुनेछन्। उनी अहिलेको सरकारमा अर्थमन्त्री छन्। उनी सन् २०२५ मा वा त्यसअघि नै प्रधानमन्त्री बन्न सक्छन्। ली पछिका उनी चौथो प्रधानमन्त्री हुनेछन्।
सिङ्गापुरमा हचुवाको भरमा सरकार प्रमुख चुनिन्न। आवधिक चुनावले नयाँ प्रधानमन्त्री छान्दैन। यस्तो प्रावधान पनि ली कुआन युले नै शुरू गरेका हुन्। भावी नेता तयार पार्नका लागि त्यहाँको सरकारले विद्यालय तहदेखि नै मेधावी विद्यार्थीमाथि निगरानी र लगानी दुवै गरिराखेको हुन्छ।
लि कुआन यु।
क्षमतावान विद्यार्थीलाई बिदेशका गतिला विश्वविद्यालयमा पढ्न प्रोत्साहन मात्र गर्दैन, सहयोग समेत गर्छ। पढाइ पूरा गरेपछि देश फर्कने र सरकारलाई सहयोग पुग्ने ठाउँमा काम दिन्छ। पछि तिनैमध्येबाट सरकार प्रमुख र मन्त्रीहरू चुनिन्छन्।
लरेन्स सिङ्गापुरको चौथो प्रधानमन्त्री हुनेछन्, जसले हावर्डबाट उच्च शिक्षा हासिल गरेका छन्। पहिलेका तीन जना जस्तै वोङ्ग पनि चिनियाँ मुलका नागरिक हुन्। चिनियाँ मुलका नागरिक यहाँ तामिल र मलेभन्दा बहुसंख्यामा छन्।
सरकार र नागरिक दुवै खानपान र स्वास्थ्यप्रति अन्यन्त सचेत छन्। मास ट्रान्स्पोर्टेशनका लागि मेट्रो र बसले बिहान ५ देखि मध्यरातसम्म सेवा दिन्छन्। नीजि गाडी नहुँदा पनि नागरिकको दैनिकी सहज छ। शहरमा हरियाली छ। काट्नु पर्ने रुख वा विरुवाबारे संसदुमा बहस हुन्छ।
नेपालमा जस्तो बालबालिकाले काँध र ढाड कुप्रिने झोला बोकेर स्कुल जानु पर्दैन। चाहिने पुस्तक घर ल्याउने र नचाहिने स्कुलमै राख्ने सुविधा विद्यार्थीलाई दिइएको छ। पढाइमा मेधावी, मध्यम र कमजोरलाई ध्यान दिएर सबैको छुट्टाछुट्टै आवश्यकता अनुसार पढाइ हुन्छ।
सिङ्गापुर एकै दिनमा बनेको हैन। १४४ वर्ष अर्थात सन् १९६३ सम्म सिङ्गापुर बेलायती उपनिवेश थियो। त्यसपछि सिङ्गापुर मलेशियाको एउटा प्रदेशको रुपमा रह्यो। यो देश सन् १९६५ मात्र स्वतन्त्र सार्वभौम राष्ट्र बनेको हो।
बेलायती उपनिवेश रहँदैदेखि सिङ्गापुरको प्रधानमन्त्री बनेका लीले कोरेको बाटोलाई अझ परिस्कृत र फराकिलो बनाउँदै सिङ्गापुर निरन्तर दौडिरहेको छ। कोभिड महामारीले दौडमा लगाम लाग्यो। तर, अब त्यो लगामबाट फुत्केर उही रफ्तार समात्न सिङ्गापुर आतुर छ। त्यसैले सिङ्गापुर बाँकी विश्वका लागि खुल्ला हुदै छ।