आज लिग-२ मा अमेरिकासँग भिड्दै नेपाल
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ।
अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र अमेरिकाबीचको खेला आज राति ९:१५ बजे हुनेछ।
दुई देशबीच लिग-२ मा भएका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। अहिलेसम्म अमेरिकासँग भएका चार खेलमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।
सन् २०२० फेब्रुअरीमा भएका दुई खेल नेपालले जितेको थियो। पहिलो खेल ३५ रनले र दोस्रो खेल आठ विकेटले जितेको थियो।
त्यस्तै, सन् २०२१ सेप्टेम्बरमा भएको पहिलो खेल नेपालले पाँच विकेटले जितेको थियो। दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।
पछिल्लो पाँच वटा एकदिवसीय खेलमा भने अमेरिकाको स्थिति मजदुत देखिएको छ। अमेरिकाले खेलको पछिल्ला पाँच वटा अन्तर्राष्ट्रिय खेलमा तीन खेल जितेको छ भने दुई खेलमा हार ब्यहोरेको छ।
त्यस्तै, नेपालले भने पाँचमध्ये एक खेल जितेको छ भने चार खेल हारेको छ। अझ पछिल्लो तीन खेलमा त लगातार हार ब्यहोरेको छ।
अमेरिका भ्रमणका क्रममा नेपालले लिग-२ का चार खेलमध्ये ओमनसँगको पहिलो खेल हारेको छ। आज दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै भने तेस्रो खेलमा मंगलबार ओमनसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, चौथो खेल फेरि बुधबार अमेरिकासँग खेल्नेछ।
लिग-२ का १३ खेलमा नेपालले ६ खेलमा मात्रै जितेको छ। जसमा १२ अंक बटुलेर अंक तालिकाको छैटौं स्थानमा छ। अमेरिका भने २२ खेलमध्ये १२ खेल जितेर २६ अंकसहित तेस्रो स्थानमा छ।
शीर्षस्थानमा रहेको ओमनले ४४ मध्ये २२ खेल जितेर ४२ अंक जोडेको छ। त्यस्तै, स्कटल्यान्ड २० मध्ये १३ खेल जितेर २८ अंकसहित दोस्रो स्थानमा छ। नेपालभन्दा पछाडि अर्थात पुछारमा रहेको पपुवा न्युगिनीको २० मध्ये एक खेल मात्रै जितेर दुई अंक छ।