वसन्तले ल्याए नयाँ पुस्तक ‘बुद्ध विमर्श’
बुद्ध र बौद्ध धर्म-दर्शन सम्बन्धी अध्ययन, अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनको नयाँ पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।
पुस्तकमा बुद्ध भनेका गौतम बुद्ध एक जना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका बुद्ध पनि रहेकोे र ती बुद्धको पनि बौद्ध समाजमा आदरसत्कार हुने लगायतका विषय समेटिएको छ। यो उनको एघरौं पुस्तक हो।
त्यस्तै, पुस्तकमा बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गरिएको छ। जसमा पञ्चबुद्ध मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको पनि पुस्तकमा उल्लेख छ।
यससँगै गौतम बुद्धको दैनिक जीवन चर्या लगायत विविध विषय पनि पुस्तकमा वर्णन गरिएको छ। गौतम बुद्धको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीका विषयमा पनि पुस्तकमा उल्लेख गरिएको छ।
बुद्ध, शिक्षा र गलत बुुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्री बुद्ध र बौद्ध धर्म–दर्शन बुुझ्नका लागि आधारभूत ज्ञानका रुपमा रहेको लेखक महर्जनले बताए।
यो पुस्तक इन्साइट पब्लिकेशन प्रालिले प्रकाशन गरेको हो।