सडकमा जाँच गर्दा कुखुरा, अण्डा बुझाउनुपर्छ: गजेन्द्र महत
कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्ला जाँदा सडकमा जाँच गर्ने सुरक्षाकर्मीलाई कुखुरा, अण्डा बुझाउनुपर्ने बाध्यता रहेको सांसद गजेन्द्रबहादुर महतले बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले सुर्खेतदेखि जुम्ला पुग्दा १५ ठाउँमा सुरक्षाकर्मीले जाँच गरेको बताए। “अस्ति काठमाडौंमा सुर्खेत पुग्दासम्म कहीँ कतै जाँच भएन, तर सुर्खेतबाट जुम्ला पुग्दासम्म १५ ठाउँमा सुरक्षाकर्मीले जाँच गरेँ,” सांसद महतले भने।
जनतालाई दुःख दिन अहिले पनि कर्णाली प्रदेशका ठाउँ-ठाउँमा चेकपोस्ट राखिएको उनको भनाइ छ। “यस्तो गर्मी छ, गाडी रोकेर किन त्यसरी ठाउँ-ठाउँमा जाँच गर्नुपर्यो? गणतन्त्र ल्याएको यसैका लागि हो?” उनले प्रश्न गरे।
सडकमा रहेका सुरक्षाकर्मीका चेकपोस्टले कमिसन लिने गरेको उनको आरोप थियो। “तरकारीवालाले तकारी बुझाउनुपर्छ, कुखुरावालाले कुखुरा बुझाउनुपर्छ, फलफूलवालाले फलफूल बुझाउनुपर्छ, गाडीवालाले पैसा बुझाउनुपर्छ,” सांसद महतले भने, “तरकारी, अण्डा, कुखुरा बुझाउनलाई चेकपोस्ट राखेको हो? कमिसन माग्ने हो भने सिधै भन्नु प¥यो, बुझाउँला।”
शान्ति सुरक्षाका नाममा जनतालाई दुःख दिने काम रोक्न सांसद महतले सरकारलाई आग्रह गरे।