आयल निगमलाई १० महीनामा ४७ अर्ब घाटा, असारसम्म ६० अर्ब पुग्ने
भारतबाट पेट्रोलियम पदार्थ खरीद गरेर नेपालमा बिक्री गर्दै आएको नेपाल आयल निगमलाई पछिल्लो १० महीनामा ४७ अर्ब घाटा लागेको छ।
आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलिमय पदार्थ खरीद गर्दै आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारअनुसार, नयाँ मूल्य सूची पठाउने गरेको छ। त्यसअनुसार, नेपालमा मूल्य समायोजन गर्न नसक्दा घाटा लागेको निगमले जनाएको छ।
आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार पछिल्लो १५ दिनमा मात्रै तीन अर्ब ८९ करोड घाटा लागेको छ। त्यस्तै, पछिल्लो १० महीनामा ४७ अर्ब घाटा लागेको निगमले जनाएको छ। निगमले भनेको छ, “यो आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई करीब रु.४७ अर्ब नोक्सानी भइसकेको र असार मसान्तसम्म झण्डै रु. ६० अर्ब नोक्सानी हुने स्थिति देखिएको छ।”
यससँगै आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई २६ अर्ब तिर्न बाँकी रहेको छ। सहप्रवक्ता कार्कीका अनुसार असार ९ गतेसम्म बक्यौता रहेको ३८ अर्बमध्ये १२ अर्ब भुक्तानी गरिएको र अब २६ अर्ब तिर्न बाँकी रहेको छ।
आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिमय पदार्थको मूल्य बढाएको छ। अहिले पेट्रोल प्रतिलिटर १७८, डिजल र मट्टितेल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ।
यति गर्दा पनि घाटा रहेको आयल निगमले जनाएको छ। पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७० पैसा, डिजलमा १८ रुपैयाँ र एलपी ग्यासमा ७५१ रुपैयाा १४ पैसा घाटा रहेको आयल निगमले जनाएको छ।
मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा हुँदै आएको छ। निगमले मट्टितेलमा प्रतिलिटर १७ रुपैयाँ, हवाई इन्धनमा आन्तरिक तर्फ १७ रुपैयाँ ३४ पैसा र वाह्यतर्फ ६४ रुपैयाँ ५५ पैसा नाफा कमाउदै आएको छ।