काममा ढिलाइ गर्ने ठेकेदारबाट तीन करोड मोबिलाइजेशन पेश्की फिर्ता
खानेपानी निर्माणको काममा ढिलाइ गर्ने दुई वटा निर्माण कम्पनीबाट मोबिलाइजेशन पेश्की फिर्ता लिइएको छ।
खोटाङमा पम्पिङ आयोजनाको काममा ढिलासुस्ती गर्ने दुई निर्माण कम्पनीबाट खानेपानी ढल व्यवस्थापन आयोजनाले तीन करोड एक लाख ३३ हजार ९६८ रुपैयाँ फिर्ता लिएको हो। हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा ढिलाइ गरेपछि रमन सगरमाथा-सगरमाथा घिमिरे जेभीबाट दुई करोड र लामा कन्ट्रक्सनबाट एक करोड एक लाख ३३ हजार ९६८ रुपैयाँ फिर्ता लिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकामा दुधकोशीको पानी गाउँमा पुर्याउनका लागि २०७४ सालदेखि हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम अघि बढाइएको हो। नदीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्काको काम दिवा-महादेव खिम्तीले गरिरहेको छ।
यस्तै काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरणको काम रमन सगरमाथा-सगरमाथा घिमिरे जेभीले गरिरहेको छ। भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको छ। तर, २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा हुन सकेको छैन।
रमन सगरमाथा-सगरमाथा घिमिरे जेभीबाट मोबिलाईजेसन पेश्की तान्नका लागि संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयले २२ चैत २०७८ मा कृषि विकास ब्यांकको शाखा कार्यालय, रत्नपार्कलाई पत्राचार गरेको थियो। रमन सगरमाथा-सगरमाथा घिमिरे जेभीको मोबिलाईजेसन पेश्की बिहीबार संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयको खातामा जम्मा भएको छ।
यस्तै, लामा कन्ट्रक्सनबाट मोबिलाईजेशन पेश्की फिर्ताका लागि कार्यालयले १९ चैत २०७८ मा लक्ष्मी ब्यांक लिमिटेडलाई पत्राचार गरेको थियो। लामा कन्ट्रक्सनको मोबिलाईजेशन पेश्कीको चेक ३ जेठमा बनेको थियो। यसअघि दिवा-महादेव खिम्तीबाट पनि करीब पाँच करोड मोबिलाईजेशन पेश्की फिर्ता लिइसकिएको कार्यालयले जनाएको छ।
हालसम्म दिवा-महादेव खिम्तीको ठेक्कामा रहेको मेनलाइनको ८५ प्रतिशत, लामा कन्ट्रक्सनको वितरण लाइनको ७५ प्रतिशत र रमन सगरमाथा-सगरमाथा घिमिरेको काम ६५ प्रतिशत मात्र सकिएको प्रमुख महर्जनले बताए।