फेरि ओरालो लाग्यो नेप्से
एक दिन सुधार भएको नेप्से फेरि ओरालो लागेको छ। बुधबार उच्च अंकले उकालो लागेको नेप्से बिहीबार दोहोरो अंकले ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ्कले ओरालो लागेर दुई हजार ६२.८० मा ओर्लेको छ। त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०१ अङ्कले घटेर ३९६.३६ मा ओर्लेको छ।
कूल २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ मूल्यमा खरीद बिक्री भए। बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ३८ अर्ब ४४ करोड ७८ लाख ७० हजार बराबर भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने बाँकी रहेको १२ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। व्यापार २.०६ अङ्कले उकालो लाग्दा ब्यांकिङ ५.७३, होटल तथा पर्यटन ३९.७१, विकास ब्यांक ७३.५४, जलविद्युत् ४०.५४, वित्त ३५.९८, निर्जीवन बीमा ६८.२, उत्पादन ४२.६१, अन्य २४.६४, जीवन बीमा २१.३, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५ अङ्कले ओरालो लाग्यो।
नेप्सेका अनुसार कारोबारका आधारमा आज कुमारी ब्यांक शीर्ष स्थानमा छ। कुमारी ब्यांकको ६ करोड ७४ लाख ६९ हजार ३०१ बराबरको कारोबार भयो।
हिमालयन डिस्टिलरी चार करोड ३२ लाख २२ हजार, अरुण काबेली पावर कम्पनी तीन करोड ९८ लाख ९२ हजार ११०, एशियन लाइफ इन्स्योरेन्स तीन करोड ९८ लाख ८० हजार ८९३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ९५ लाख ७२ हजार ९६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
नेप्सेका अनुसार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। त्यस्तै, एनएमबी ५० को ५.२९, मिथिला लघुवित्त ३.९५ र आरबीबी म्युचुअल फन्ड एकका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन्।