शीर्षस्थानको ओमनसँग भिड्दै नेपाल
आईसीसी पुरुष विश्वकप लिग-२ मा आज नेपाल शीर्षस्थानको ओमनसँग प्रतिस्पर्धा गर्न लागेको छ।
अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। नेपाल र ओमनबीचको खेल आज राति ९ः१५ बजे अमेरिकाको पिअरल्यान्डमा हुनेछ।
सात टोली सहभागी लिग-२ मा नेपाल १२ खेलमा ६ जित र ६ हार ब्यहोर्दै १२ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ। ओमन भने ३३ खेलमा १९ जित र १२ हार ब्यहोर्दै ४० अंक सहित शीर्षस्थानमा छ।
लिग-२ मा नेपाल र ओमनले अहिलेसम्म चार खेलमा प्रतिस्पर्धा गरेका छन्। नेपाल एक खेल र ओमनले तीन खेल जितेको छ।
सन् २०२० को फेब्रुअरीमा भएका दुवै खेल ओमनले जितेको थियो। त्यस्तै, सन् २०२१ को सेप्टेम्बरमा भएका दुई खेलमध्ये नेपालले एक र ओमनले एक खेल जितेको थियो।
त्यस्तै, पछिल्लो पाँच वटा एकदिवसीय खेलमा नेपाल र ओमनको अवस्था अलिकति मात्रै फरक छ। नेपालले पाँच खेलमा एउटा मात्रै जितेको छ भने ओमनले दुई खेल जितेको छ।
अमेरिका यात्रामा नेपालले चार खेल खेल्नेछ। आज पहिलो खेल ओमनसँग छ भने दोस्रो खेलमा जेठ २८ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, तेस्रो खेलमा जेठ ३१ गते ओमनसँग र चौथो खेलमा असार १ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।