शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पूर्व शिक्षा मन्त्रीको माग
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले भने, “त्यो प्रतिवेदन संघ, प्रदेश र स्थानीय सरकारलाई काम लाग्छ, नेपालका दिग्गज शिक्षाशास्त्री लगायत सरोकारवाला मिलेर तयार पारेको प्रतिवेदनलाई सार्वजनिक अध्ययनको विषय बनाईदिऔं।”
नेकपा (माओवादी केन्द्र) का नेता पोखरेलले आफू मन्त्री रहेका वेला आफूले विरोध गर्दागर्दै पनि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक नगर्ने निर्णय गरेको बताए। बैठकमा उनले भने, “त्यतिवेला मेरो सहमति विपरीत प्रतिवेदन सार्वजनिक र कार्यान्वनय नगर्ने निर्णय गर्यो, त्यसमा मेरो असहमति थियो।”
आयोगका केही सदस्यहरूले भने २०७७ मंसीरमा प्रतिवेदन सार्वजनिक गरिसकेका छन्।