अन्तिम खेल जिते पनि नेपाल यू-१९ विश्वकपमा छनोट हुन सकेन
आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। तर, अंक तालिकमा तेस्रो स्थानमा रहेको नेपाल विश्वकपमा भने छनोट हुन सकेन।
आज बिहान मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएको हो। नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले चार विकेटको क्षतिमा ६१ रन मात्रै बनायो।
नेपालका लागि कृतिका मरासनीले दुई र मनिषा उपाध्यायले एक विकेट लिइन्। मलेसियाका लागि इल्सा हन्टरले २८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंंक पनि जोड्न सकेनन्।
यसअघि नेपालले सात विकेटको क्षतिमा ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले ३३ र आष्मा पुलामी मगरले २८ रन बनाइन्।
अन्तिम खेलमा जित हासिल गरेसँगै नेपालको ६ अंक भएको छ। नेपालले पाँच खेलमा तीन जित हासिल गर्यो भने दुई खेलमा हार ब्यहोर्यो।
त्यस्तै, मलेसिया पनि आजको हारसँगै पाँच खेलमा चार अंक जोडेर चौथो स्थानमा रह्यो। अंक तालिकमा यूएई र थाइल्यान्ड आठ-आठ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। आज हुने थाइल्यान्ड र यूएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण हुनेछ।
प्रतियोगितामा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतारले प्रतिस्पर्धा गरेका थिए। शीर्ष टोली आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्न पाउनेछ।