शिल्पी थिएटरमा किंग्स् कलेजका विद्यार्थीको ‘त्रयम्’
काठमाडौंको किंग्स् कलेजका विद्यार्थी अभिनीत नाटक ‘त्रयम्’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ।
जेठ २० गतेदेखि प्रदर्शन भइरहेको नाटकमा महिलाले आफूमाथि भएको थिचोमिचो र हिंसा विरुद्ध गरेको विद्रोहलाई देखाइएको छ। महिलाहरू परिवारका सदस्य तथा छिमेकका पुरुषबाट नै हिंसामा पर्ने गरेको घटनालाई नाटकमा उजागर गरिएको छ।
दिलीप रानाभाटले निर्देशन गरेका नाटकमा कलेजका बीबीए इन अप्लाइड आर्टस् एण्ड डिजाइनमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका छन्। कलेजका प्रधानाध्यापक नरोत्तम अर्याल विद्यार्थीमा कलाप्रति अभिरुचि जगाउने प्रयासस्वरूप नाटक मञ्चन गरिएको बताउँछन्। शोखका रूपमा लिइँदै आइएको कला क्षेत्रलाई व्यावसायिक दिशा दिन पनि कलेजले नाटक तयार पारेको उनको भनाइ छ। नाटक आजसम्म मात्र देखाइनेछ।