मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णयले गठबन्धनमा हलचल
मन्त्री हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णयले सत्ता साझेदार अन्य दलमा पनि हलचल ल्याएको छ।
एकाएक जेठ २२ गते एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गर्यो। समय तोकेरै पठाएकाले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको एकीकृत समाजवादीका नेताहरूको तर्क थियो। तर, आफूलाई नसोधेको भन्दै चारै मन्त्रीले पार्टी निर्णयप्रति असहमति जनाए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले असन्तुष्टि मात्र जनाएनन्, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई समेत गुहारे।
उनीहरूको असहमतिसँगै जेठ २३ गते बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीको निर्णयका विषयमा छलफल मात्रै भएन, नयाँ मन्त्रीको नियुक्ति समेत रोकियो। बजेटमाथिको छलफललाई देखाएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन हालका लागि स्थगित गरे।
संसद्मा मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ दिनुपर्ने लगायत कारण तत्काल मन्त्री परिवर्तन गर्न नहुने देउवाको तर्क थियो। तर, यसले अन्य पार्टीमा पनि हलचल ल्याएको छ।
‘हाम्रो निर्णयले अन्त पहिरो गयो’
एकीकृत समाजवादीका नेताहरूले आफ्ना पार्टीको निर्णयमा अरू दलले चासो दिन नहुने भन्दै मन्त्री परिवर्तन हुने दाबी गर्दै आएका छन्। बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्रीलाई ६ महीनाको समय दिइएको प्रतिक्रिया दिएका छन्।
अनेरास्ववियु विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीका मन्त्रीले आठ महीनासम्म बसेर काम गरिसकेको बताए। “हामीले मन्त्री फेरेका छौं। असोजमा नियुक्त भएकालाई ६ महीनाको अवधि दिइएको थियो। सहमतिमै ६ महीनाका लागि पठाएका हौं,” उनले भने, “हाम्रो पार्टीबाट मन्त्री भएर राम्रो काम गरेकोमा धन्यवाद भनेका छौं। उनीहरूले पनि पार्टीको निर्णयभन्दा दायाँ–बायाँ गर्दैनौं भनेका छन्। कुर्सीमा टाँसिएर बस्दिनँ भनेका छन्।”
उनले सबै मन्त्री पार्टीको आदेश अनुसार चल्ने बताए। तर, आफ्नो पार्टीको निर्णयले अन्य दलमा पनि पहिरो गएको उनको भनाइ थियो। “पार्टीले निर्णय गर्यो, किन निर्णय लागू भएन होला भन्ने भयो। तर, कुरो के भयो भने हाम्रो निर्णयले अरू पार्टीमा पनि भूकम्प गयो,” नेपालले भने, “हाम्रो निर्णयपछि अरू दलमा पनि भूकम्प गएछ। अनि उनीहरूले हामीलाई पनि समय दिनुस् भनेका होलान्। त्यही भएर मन्त्रीको शपथ नभएको हो। हाम्रो निर्णय भइसकेकाले लागू हुन्छ।”
एकीकृत समाजवादीको निर्णयले नेपाल कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मा पनि मन्त्री फेर्ने दबाब परेको नेपालको सङ्केत थियो। अन्य तीन दलमा पनि मन्त्री फेर्नुपर्ने दबाब परेको छ।
कांग्रेस सांसद तथा नेताहरू पनि मन्त्री फेरबदल गर्नुपर्ने आवाज उठाउन थालेका छन्। कतिपय नेताले पार्टीभित्रै त कतिपयले सार्वजनिक कार्यक्रममै यसबारे बोलेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीभित्र पनि सांसदहरूले दबाब दिइरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीसँग महामन्त्री थापाले भने, “हाम्रो साथीहरूले पनि इच्छा देखाउनुभएको छ। नयाँ साथीहरूलाई पनि जानुपर्छ।”
त्यस्तै, सत्तारूढ दलका माओवादी पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको छ। पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने माओवादी सांसदको तर्क छ।
माओवादी नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन्। “समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ,” नेता पुनले भने, “यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ, थाहा छैन। हाम्रो अझै छलफल शुरू भएको छैन। अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाजहरू उठिरहेका छन्।”
यस्तै आवाज जसपाभित्र पनि उठेको छ। जसपा सांसदहरूले पनि ६ महीनाका लागि मात्रै मन्त्री पठाएको बताएका छन्।
जसपा केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले एकीकृत समाजवादीसँगै आफ्नो पार्टीका मन्त्री पनि फेरबदल हुनुपर्ने बताए। अध्यक्ष उपेन्द्र यादवकै प्रस्तावमा ६ महीनाका लागि मात्रै मन्त्रीहरू पठाएको उनको भनाइ छ।
“माननीय उपेन्द्र यादवजीकै प्रस्तावमा ६ महीनामा नयाँ मन्त्री पठाउने भन्ने संसदीय दल र कार्यकारिणी समितिमा सहमति भएको हो,” यादवले भने, “त्यस कारण जसपाबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर नयाँ टीम पठाउनुपर्दछ।”
एकीकृत समाजवादीले जेठ २२ गते चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिश गरेको थियो। एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको निर्णय प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन्।