३३ अर्बको बजेट ल्याउने मधेश सरकारको तयारी
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। त्यसअघि छलफलका लागि बुधबार प्रदेश सभामा विनियोजन विधेयक पेश गरिएको छ।
बुधबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले बजेट पूर्व छलफलका लागि विनियोजन विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन्। विधेयकमा सामाजिक, आर्थिक र पर्यावरणीय विकासलाई सन्तुलन हुने गरी नेपाल सरकारले पञ्चवर्षीय योजना मार्फत निर्दिष्ट गरिएको दिगो विकासका लक्ष्य प्राप्तिका लागि गरिने कार्यक्रममा बजेट विनियोजन गरिने उद्देश्य राखिएको छ।
मधेश प्रदेशको समष्टिगत विकासका लागि ग्रामीण विकास अपरिहार्य भएकाले कृषि, स्वास्थ्य र शिक्षा, घरेलु तथा साना उद्योग, भौतिक पूर्वाधार निर्माण र सामुदायिक पर्यटन प्रवर्द्धन गर्नमा जोड दिइनेछ।
सरकारले आउने बजेटको उद्देश्यमा मानवीय क्षमता विकास, लगानी प्रवर्द्धन मार्फत उद्यमशीलता र रोजगारीको अभिवृद्धि गरी गरीबी न्यूनीकरण गर्ने, कृषिजन्य पैदावारको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी कृषिमा आत्मनिर्भर हुने, भौतिक पूर्वाधार निर्माण गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने रहेका छन्।
पर्यावरणको संरक्षण र संवर्द्धन गर्ने, समसामयिक कानूनमा परिमार्जन, प्रविधिको प्रयोग र संस्थागत सृदृढीकरणद्वारा सेवा प्रवाह प्रणालीलाई प्रभावकारी तथा जनमुखी बनाउने रहेको छ।
विधेयकमा सरकारले सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई कटौती गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरिने नीति लिइएको छ। कानूनमा समसामयिक परिमार्जन गरी सार्वजनिक खर्च प्रणालीलाई थप पारदर्शी र जवाफदेही बनाई वित्तीय अनुशासन कायम गर्नमा केन्द्रित गर्ने जनाएको छ। प्रदेश सरकारले आउँदो असार १ गते बजेट ल्याउनेछ।
चालू आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा ३३ देखि ३७ अर्बको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ।
त्यसै गरी प्रदेश सभाबाट मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बुधबार बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतले आर्थिक वर्ष २०७९/८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
सभामुख सरोजकुमार यादवले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कसैले पनि आवाज उठाएन।