यस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।
बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र राप्तीलाई प्रदेश पहिचान झल्किने गरी सरकारको गौरवको आयोजनाका रूपमा विकास गरिने बताए।
प्रदेश सरकारले देशकै नमूनाको रूपमा लुम्बिनी प्रदेशलाई विकास गर्न प्रदेशको छुट्टै पहिचान झल्किने गरी गुरुयोजना निर्माण गरिने जनाएको छ। यसको पूर्वाधार निर्माण र जग्गा व्यवस्थापनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी अस्थायी मुकाम बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रूपमा विकास गरिने भएको छ।
त्यस्तै, क्यान्सर तथा मुटुरोगीलाई जनही दुई लाख दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। स्थायी राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार, ओपीडी र जनरल बेड निःशुल्क गरिने भएको छ। ५६ पृष्ठको नीति तथा कार्यक्रममा शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने उल्लेख छ।