पूँजी बजार अध्ययनका लागि समिति गठन
अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारको वर्तमान अवस्थाबारे अध्ययन गर्न समिति गठन गरिएको बताएका छन्।
धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएका विविध समस्यालाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका अध्ययन समिति बनाएको बताए। “अर्थ मन्त्रालय, राष्ट्र ब्यांकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्ष लगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौं,” शर्माले भने।
बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोबोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र ब्यांक एक–एक प्रतिनिधि तथा धितोपत्र बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो। अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुर्याउने अर्थमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुदृढ बनाउन आगामी वर्षको बजेट मार्फत धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न कानूनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सोभन्दा बढीको पूँजी वा पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्ने गरी सूचीकृत हुन लगाउने लगायतको व्यवस्था गरिएको बताए।
उनले पूँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री शर्माले पूँजी बजारबारे नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायलाई निर्देशन पनि दिए।
पूँजी बजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गरी शेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्ने लगायत विषयमा उनले जोड दिए।