विद्युतीय धराप विस्फोटमा खुट्टा गुमाएकी शान्ता, जसलाई सरकारले द्वन्द्वपीडित मान्दैन
माओवादी द्वन्द्वकालमा बिछ्याएको विद्युतीय धराप (ल्यान्ड माइन) विस्फोट हुँदा देब्रे खुट्टा गुमाएकी शान्तादेवी बञ्जरा द्वन्द्वपीडितमा सूचीकरण हुन सकेकी छैनन्। सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिले तोकेको मापदण्डमा नपर्दा उनी सूचीकरणबाट वञ्चित भएकी हुन्।
खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तलेकी ५१ वर्षीया शान्तादेवी बञ्जरा २०६४ चैत १० मा घाँस काट्न घरभन्दा माथि रहेको सुनापाताल जङ्गलमा गइन्। बराहपोखरी-२ को सुन्तले र बराहपोखरी-४ को फाक्टाङको बीचमा पर्ने सुनापाताल जङ्गलमा घाँस काट्ने क्रममा टेकिएको बम विस्फोट हुँदा उनको देब्रे खुट्टा चुँडियो।
सशस्त्र द्वन्द्वकालमा सुनापातालको अग्लो डाँडोमा रहेको नेपाल टेलिकमको रिपिटर टावरको सुरक्षार्थ नेपाली सेना खटिएको थियो। सेनाले रिपिटर टावरको वरपर विद्युतीय धराप बिछ्याएको थियो। द्वन्द्व थप चर्किंदै गएपछि सेनाले बम निष्क्रिय नगरी सुनापाताल छाड्यो। तिनै बमको शिकार शान्तादेवी भइन्।
शान्तादेवीको देब्रे खुट्टाको घुँडामुनिको भाग चुँडिएको छ। उनी घुँडामुनि जोडिएको नक्कली खुट्टा र बैसाखीको भरमा हिंडडुल गर्छिन्। शान्तादेवीले राहतका लागि २०६५ सालमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म नपाएको उनका श्रीमान् तारानाथ बञ्जरा बताउँछन्। राहतका लागि तत्कालीन स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयमा पटक पटक धाएको उनको भनाइ छ।
गृह मन्त्रालयले वेला वेला सशस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन गर्नेबारे सूचना जारी गर्छ। त्यही सूचनाको आधारमा शान्तादेवी आफैं वा परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय पुगेर निवेदन दिंदै आएका छन्।
गृह मन्त्रालयले गत पुस २१ मा सूचना निकालेकाले गत चैतमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको शान्तादेवीकी छोरी विनीताले जानकारी दिइन्। यस्तै‚ २०७७ पुस १ मा पनि निवेदन दिएकी थिइन्। तर‚ द्वन्द्वपीडितको कार्यविधिभित्र नपरेको भन्दै उनी अहिलेसम्म द्वन्द्वपीडितका रूपमा दर्ज भएकी छैनन्।
सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिमा २०५२ फागुन १ देखि शान्ति सम्झौता भएको २०६३ मंसीर ५ सम्मका घाइतेको मात्र अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिश गर्ने व्यवस्था गरेकाले शान्तादेवी सिफारिश हुन नसकेको खोटाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फणीन्द्र दाहाल बताउँछन्।
“जनयुद्ध २०५२ सालदेखि शुरु भयो, २०६३ सालमा शान्ति सम्झौता भएपछि टुङ्गियो। त्योभन्दा पछिका घटनालाई कार्यविधिले सिफारिश गर्न दिंदैन,” प्रजिअ दाहालले प्रष्टीकरण दिंदै भने, “सशस्त्र द्वन्द्व शुरू भएदेखि शान्ति सम्झौता भएको दिनसम्मको मात्र सिफारिश गर्ने भन्ने छ। कार्यविधि अनुसार गर्नुपर्यो।”
शान्तादेवीलाई वर्तमान कार्यविधि मार्फत अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन गर्ने अवस्था नभएपछि नीतिगत रूपमा सिफारिशका लागि गत साउन १५ मा राष्ट्रिय मानव अधिकार आयोगमा सिफारिश गरिएको छ। द्वन्द्वकालमा राखिएको बमले क्षति भएकाले यसलाई नीतिगत रूपमा सिफारिश गर्न केन्द्रीय कार्यालयमा सिफारिश गरिएको आयोगको प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्ले बताउँछन्।
“द्वन्द्वकै कारण राखिएको बमका कारण शान्तादेवीले खुट्टा गुमाउनुभएको हो, तर उहाँलाई द्वन्द्वपीडित सम्बन्धी कार्यविधिले समेट्दैन। यो टेक्निकल प्रोब्लम हो,” काफ्ले भन्छन्, “यस्ता केस अरू पनि हुन सक्छन्, द्वन्द्वकै कारण छोडिएका विस्फोटक पदार्थबाट भएका घाइतेहरूलाई पनि त्यसमा समेट्न नीतिगत रूपमा केन्द्रमा सिफारिश गरेका छौं। उहाँका बच्चाले पाउने छात्रवृत्ति पनि दुई-तीन वर्षदेखि रोकिएको रहेछ। हामीले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेपछि कन्टिन्यू भएको छ।”
२०६८ साउन ४ मा तत्कालीन प्रजिअ शिवराम गेलाल, प्रहरी नायब उपरीक्षक वसन्त थापा, जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्त लगायतले शान्तादेवीलाई राहतका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिश गरेका थिए। उक्त सिफारिश कार्यान्वयन नभएपछि तत्कालीन स्थानीय शान्ति समितिले २०७१ फागुन १८ मा मन्त्रालयमा दोस्रो पटक सिफारिश गरेको थियो। तर‚ अहिलेसम्म पनि उनले राहत पाएकी छैनन्।
बञ्जरा दम्पतीका नौ छोरी र एक छोरा छन्। त्यसमध्ये पाँच छोरीको विवाह भइसकेको छ। बाँकी छोराछोरी पढ्दै छन्। सरकारले १८ वर्षभन्दा कम उमेरकालाई छात्रवृत्ति उपलब्ध गराएको छ। तर‚ आर्थिक अवस्था कमजोर रहेकाले त्योभन्दा बढी उमेरका छोराछोरीको लालनपालन र शिक्षादीक्षामा समस्या भएको तारानाथ बताउँछन्।
शान्तादेवीको नक्कली खुट्टा करीब तीन-तीन वर्षको फरकमा फेर्नका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ। त्यो खर्च आफैंले बेहोर्नुपर्ने तारानाथले जानकारी दिए। एउटा खुट्टा गुमाएकी शान्तादेवीलाई शुरूमा ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको थियो। गुनासो गरेपछि ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको छ।
सुनापाताल छाडिएको बम कारण फाक्टाङका कृष्णबहादुर राई र सुन्तलेकी विक थरकी एक महिला पनि घाइते भएका छन्। घाँस काट्न जाँदा बम विस्फोटमा परी कृष्णले देब्रे खुट्टा र विकले हातको औंला गुमाएका छन्। शान्तादेवीसँगै राहतका लागि सिफारिश गरिएका कृष्णबहादुरले भने सरकारबाट राहत पाइसकेका छन्। कृष्ण २०६२ माघ ७ मा विस्फोटमा परेका थिए।