७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गरौं: योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले अब राज्यका निकायमा उमेरको हद तोक्नुपर्ने बताए। “हामीले ५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएका छौं,” भट्टराईले भने, “७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था किन नगर्ने?”
उनले काम गर्ने मान्छे मात्रै राज्यको निकायमा आउनुपर्ने बताए। “हामीलाई र्याल, सिंगान काढ्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो,” भट्टराईले भने।
उनले तत्काल मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। रोपाइँ गर्ने वेला भइसके पनि मलको अभाव हुँदा किसान मर्कामा परेको उनको भनाइ थियो।