लोसपालाई स्वागत गर्न तयार छौं: उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आह्वान गरेका छन्।
स्थानीय निर्वाचनमा पार्टी विभाजनको असर देखिएको भन्दै उनले महन्थ ठाकुर नेतृत्वको लोसपालाई एकीकरणका लागि आह्वान गरेका हुन्। जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, “जुटेर अगाडि बढ्न लोसपाका साथीहरू तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं।”
आगामी निर्वाचनमा पुनः एक भएर जानुपर्नेमा यादवले जोड दिए। यस्तै‚ यादवले पाँच दलीय गठबन्धनमा लोसपालाई ल्याउँदा आफूलाई कुनै पनि आपत्ति नरहेको पनि बताए।
स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन बनाउँदा जसपालाई घाटा भएको यादवको भनाइ छ। जनगणनाको पछिल्लो रिपोर्ट अनुसार‚ तराई मधेशको जनसङ्ख्या ५३ प्रतिशत रहे पनि प्रतिनिधि सभामा ४६ प्रतिशत क्षेत्रमा रहेको भन्दै उनले निर्वाचन क्षेत्र पुनरावलोकन गर्न माग गरे।
उनले भने, “अब ५३ प्रतिशत प्रतिनिधित्वका लागि त्यस अनुसारको निर्वाचन क्षेत्र हुनुपर्यो। निर्वाचन क्षेत्रलाई पुनः रिभ्यु गर्नुपर्दछ।” अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटिपूर्ण रहेको बताए।